काठमाडौं — नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ ग्रहण गरेका हुन् ।
उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिएका छन् ।
१५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए ।
अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई हराउँदै सुहाङ विजयी भएका थिए ।