• होमपेज
  • समाचार
  • कतै मेघगर्जनसहित वर्षा, कतै हावाहुरीको सम्भावना

कतै मेघगर्जनसहित वर्षा, कतै हावाहुरीको सम्भावना

  • मङ्लबार, चैत्र २७, २०८०
कतै मेघगर्जनसहित वर्षा, कतै हावाहुरीको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

आज राती भने पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ५ बजेर ४५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २६ मिनेटमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार