• होमपेज
  • देश
  • इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा

इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा

  • सोमवार, अशोज २२, २०८०
इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा

काठमाडौं —इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनु भएकाका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।’

उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशिघ्र ल्याउने तयारी छ ।

मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । यो रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराउनेछ ।

इजरायलस्थित नेपाली दूताबासले इजरायल सरकारसँग समन्वय र सहयोगमा वेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइनमाध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ । यसरी नेपाल फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशिघ्र नेपाल ल्याउने निर्णय पनि भएको सञ्चारमन्त्री शर्माले जानकारी दिएकी छन् ।

*यसअघि मन्त्रीले दिएको सूचनाका आधारमा शोक विदा भनिएपनि सञ्चारमन्त्रीले राष्ट्रिय शोक मात्र घोषणा गरेको जानकारी दिएकाले क्षमाप्रार्थीसहित सच्याएका छौं

चर्चामा

सम्बन्धित समाचार