शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • ‘बाख्राको दूध खुवाएर ४ सन्तान हुर्काएँ, ४ बचाउन सकिनँ’

‘बाख्राको दूध खुवाएर ४ सन्तान हुर्काएँ, ४ बचाउन सकिनँ’

  • शुक्रबार, फाल्गुन १२, २०७९
‘बाख्राको दूध खुवाएर ४ सन्तान हुर्काएँ, ४ बचाउन सकिनँ’

मेरो नाम रेली बिक हो, उमेर ४२ वर्ष भयो । मेरो घर बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुुक्तिकोटमा पर्छ । अहिले मसँग डेढ वर्षको छोरासहित ३ बच्चा छन् ।

मेरो १४ वर्षको उमेरमा विवाह भएको थियो । अहिलेसम्म १० पटक गर्भवती भएँ । दुई वटा गर्भ तुहियो । ४ वटा बच्चा जन्मेको केही समयमा बिते । चार वटा बच्चा जीवित छन् । तीन छोरी र एक छोरा बितेका हुन् । छोरो त डेढ वर्षको भएर गयो ।

छोरो बितेकोमा सारै पीडा छ मलाई । छोरो नहुँदा सबैले अपुतो भनेर हेला गर्छन् । आफ्नो दूध आउँदैनथ्यो, बाख्राको दूध खुवाएर हुर्काएकी थिएँ । डेढ वर्षको हुँदा त्यो पनि बित्यो, तीन छोरी १ वर्षको नहुँदै गए । अरू ४ जना बाँचेका छन् ।

अहिले मसँग भएको डेढ वर्षको छोरो पनि कुपोषणबाट ग्रसित छ । जन्मेको तीन महिनासम्म बाख्राको दूध खुवाएर जेनतेन बचाएँ । तीन महिनापछि कडा कुपोषण भएर मर्ने–बाँच्ने टुङ्गो नभएपछि गाउँपालिकाले पैसा दिएर कोल्टी अस्पतालमा लग्यौं । त्यहाँ कुपोषणले ग्रसित भएको भन्दै नेपालगञ्ज लैजान भने । नेपालगञ्ज लैजान पैसा थिएन, त्यसैले घर फिर्ता ल्यायौं ।

केही समयपछि गाउँमा पत्रकारहरू आए । मेरा बच्चाको फोटो र भिडियो खिचेर लगे । पछि हामीलाई काठमाडौं बोलाए । त्यहाँ छोरा र मेरो कुपोषणको उपचार भयो । अरूको सहयोगले काठमाडौं पु¥याएर छोराको कुपोषणको उपचार गरेर घर आयांै ।

अहिले पनि बच्चालाई पूरै राम्रो त भएको छैन । कालबाट छोरो त बच्यो, तर गाउँमा फिर्ता हुँदा राम्रो खान नपाएपछि बच्चाको अवस्था अहिले उस्तै हुन थालेको छ । अहिले पनि स्वास्थ्यकर्मी जाँच गर्न आउँदा कडा कुपोषण रहेको भनेर मार्तडी अस्पतालमा लैजान भनेका छन् । तर, पैसा नहुँदा लैजान सकेका छैनौं ।

खान–लाउन राम्रोसँग पाउँदैनौं, गाई–भैंसी किन्न पैसा छैन । हामीले धेरैजसो नुनको धुलोसँग भात खानुपर्छ । बच्चालाई पनि त्यही खुवाउने हो, आफू पनि त्यही खाने हो ।

गाउँमा सक्नेले आफ्ना बच्चाका लागि पाउडर दूध ल्याएर खुवाउँछन् । अहिले बाँचेकी छोरी कौसी १३ वर्षकी भई । ऊ तीन महिनाकी थिई, एउटा बाख्रो किनेका थियांै, बाख्राको दूध खुवाइरहेकी थिएँ । तर, बाख्रो मरेपछि हामीसँग न पैसा थियो, न दूध ।

पल्लो घर जेठानीका छोराका लागि दिल्लीबाट ७ महिनासम्म पुग्ने पाउडर दूध ल्याएका थिए । जेठानीको छोरा बित्यो । त्यसपछि उनीहरूकोमा काम गरिदिने शर्तमा त्यही पाउडर दूध माग्यौ । त्यही दूध खुवाएर बाँचेकी छोरी अहिले कक्षा ३ मा पढ्छे । जेठानीको छोरा बाँचेको भए मेरी छोरीले दूध पाउने थिइनँ । त्यसपछि छोरी बाँँच्ने थिई कि थिइनँ भन्न सक्दिनँ । कहिलेकाहीं लाग्छ जेठानीको छोरा मर्दा पो मेरो छोरी बाँचेकी हो कि ?

म आफू पनि कुुपोषित छु, हामी राम्रोसँग खान पाउँदैनौं । लगाएको अन्नबालीले महिना दिन मात्रै खान पुग्ने भएकाले बजारको चामलको भरमा हुन्छांै । कुनै दिन खाना पुग्दैन, कहिलेकाहीं त एक छाक मात्रै खाएर दिन कटाउनुपर्छ । छोराछोरीको मुखमा चारो हाल्न धौ–धौ हुन्छ आफूले कहाँ राम्रो खान पाउनु । पहिलो बच्चा जन्मेको बेला त थोरै थोरै दूध आउँथ्यो । दोस्रो सन्तान जन्मेदेखि नै दूध आउँदैन, मैले त बाख्राकै दूधले चार सन्तान हुर्काएँ, चार सन्तान बिते ।

घरमा खान–लाउन दुःख छ । श्रीमान् बलबहादुर बिक राम्रोसँग आँखा देख्न सक्दैनन्, अरूको सहयोगले यो छोरा अहिलेसम्म बचाएकी छु । अझै पनि बाँच्ने हो या होइन मनमा चिन्ताले सताइरहन्छ ।

जेठो छोरो कति गर्दा पनि बचाउन सकिनँ । आफ्ना दूधले पुगेन भनेर एउटा भर्खर पाठो पाएको बाख्रो किनेर त्यसको दूध खुवाएँ । छोरालाई दूध खुवाउन पुगोस् भनेर पाठो बिक्री गरें । खै बाख्राको दूध र मेरो दूध नपचेर हो कि, तीन दिनसम्म झाडापखाला लागेर ऊ बित्यो । जडिबुटी त गरेको हो तर बचाउन सकिनँ । ऊ बाँचेको भए, अहिले त बुहारी ल्याउने थियो के गर्नु ?

कतै जागिर गर्नलाई श्रीमान् पढालेखा छैनन् । आँखा पनि राम्रोसँग देख्दैनन् । अझ हामी त दलित मान्छे, ऋण खोज्दा पनि कसैले विश्वास गर्दैन । अहिले पनि समस्या धेरै छन् । कमजोर भएर होला चक्कर आउँछ । पाठेघरमा पनि समस्या छ ।

बच्चा पाउन स्वास्थ्य चौकी जान पनि पाइनँ । स्वास्थ्य चौकी उहिले ४ घण्टा टाढा साप्पाटाको छुदरी गाउँमा थियो । स्वास्थ्य चौकी जान बाटो अप्ठ्यारो थियो । तीन वटा बच्चा घरमै पाएँ । बाँकी कोही जंगल जाँदा र कोही खेतबारीमा काम गर्न गएको बेला जन्माएँ ।

उहिलेदेखि परिवारमा समस्या भयो, खान–लाउन पाइएन । सिस्नु सइनु खायौ । धेरै दुःख पायौं । पेट दुख्यो, रगत बग्यो, चक्कर आयो । दुई तीन दिनकी सुत्केरी हुँदा पनि पेटभरी खान पाइएन । ३० दिनसम्म गोठमै बस्नुपर्ने चलन छ । सुत्केरी भएको बेला खाना पकाइदिने समेत कोही हुन्न, आफैं पकाएर खानुपर्छ ।

बच्चा पाउन दुःख भयो, पाइसकेपछि पाल्न पनि दुःख भयो । लगाउने कपडा हुन्न । खेतीपाती कम भयो खान–लाउन समस्या । हुने मान्छे पैसा खर्च गरेर राम्रा ठाउँमा उपचार गर्न जान्छन्, अस्पतालमा जान्छन् । हामी नहुने मान्छे कहाँ जानु ? यो उमेरसम्म पनि रोग पालिरहेकी छु ।

(बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका–१ की बिकसँग पत्रकार प्रकाश सिंहले गरेको कुराकानीमा आधारित ।)

चर्चामा

सम्बन्धित समाचार