• होमपेज
  • समाज
  • सुदूरपश्चिममा पुस १५ को रौनक

सुदूरपश्चिममा पुस १५ को रौनक

  • शुक्रबार, पुस १५, २०७९
सुदूरपश्चिममा पुस १५ को रौनक

आज पुस महिनाको १५ गते। सुदूरपश्चिमका जिल्लामा आजको दिनलाई धुमधामका साथ मनाउने गरिन्छ। एकापसमा जम्मा भएर कथा, गाउँखाने कथा सुन्ने सुनाउने पर्वका रूपमा लिने गरिन्छ। यहाँको स्थानीय भाषामा पुस १५ लाई ‘पदुरो’ भन्ने गरिन्छ। अन्य पर्व जस्तै पुस १५ लाई पनि निकै महत्वमा साथ मनाउने गरिन्छ।

यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ। टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला विशेष गरी चामलको पिठोबाट बनेको ढुकढुके भुच्चाने रोटी, मास र चामल एउटै ठाउँका पिसेर बनाएको मासचाङ्गगले रोटी, तरुल, पिँडालु, सखरखण्डलगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने चलन छ।

अन्य चाडपर्वजस्तै पुस १५ लाई पनि विशेष रुपमा मनाउँदै आएको, साँफेबगर नगरपालिका–४ का कालुसिंह कुँवरले बताए। उनले भने, ‘१५ गतेको बेलुकी प्रत्येकको घरघरमा चामलको पिठोको ढुकढुके रोटी पाक्छ। कसैले त्यसलाई ढुकढुके रोटी त कसैले भुच्चाने रोटी भन्छन्। ढुकढुके वा भुच्चाने परिकार चामलको पिठोमा घिउ लगाएर आगोको ठूलो भट्टीमा पकाउने गरिन्छ।’

मास र चामल एउटैमा पिसेको रोटी पनि हुन्छ । नुन खुर्सानीसहित मसला पनि हालेर पकाउने गरिन्छ भने ढुकढुके रोटीमा घिउ मात्र मिसाइन्छ। टोल टोलमा सामूहिक रूपमा पनि पकाउने गरिन्छ। रातभर त्यहि रोटी खाएर वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्यकथा, गाउँखाने कथा सुन्ने सुनाउने गरिन्छ।

आफुहरूको पालामा साँच्चै रातभर जाग्राम बस्ने, कथा सुन्ने प्रचलन रहे पनि अहिले भने त्यो हराउदै गएको कुवरले सुनाए। पुस १५ गतेको रात, वर्ष भरिकै सबैभन्दा लामो रात भएको विश्वासमा मनाउने गरिएको कुवँरले बताए। विशेष गरी किशोरीहरू मिलेर एउटै ठाउँमा जम्मा भइ रोटी पकाउने र इष्टमित्रको केटाहरू वा भिनाजुलाई निमन्त्रणा दिएर उनीहरूसँगै रोटी खाँदै न्याउले खेलेर, गीतकथा सुन्ने सुनाउने गरिन्छ। अछामको चौरपाटी गाउँपालिकाका छत्र खड्काले पुसको चिसो रातमा आफन्तहरूसँग मुढा बालेर (आगो बालेर) रमाइलो गरिने बताए।

उनले भने, ‘आजको राति केटीहरू एउटै ठाउँमा जम्मा भएर रोटी पकाउछन्, अनि भिनाजुलाई बोलाउछन् र रोटी भाँच्न लगाउँछन्। त्यसपछि सबै मिलेर रोटी खाँदै गाउँखाने कथा ,गीत गाउदै रमाइलो गर्छन्।’

पर्वको तयारी स्वरुप हरेक घरका गृहणीहरूले आ–आफ्नो घरमा खानाका मीठा परिकार पकाउने तयारीमा लाग्ने गर्छन्। पर्वमा विवाहित छोरी चेलीलाई घरमा आमन्त्रण गरी सत्कार गर्ने गरिन्छ। विशेषगरी रातभर नसुतेर यो पर्व मनाउने परम्परा रहेको भए पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको बुढापाकाहरू बताउँछन्।

रातभर नसुतेर यो पर्व मनाउने परम्परा रहेको भए पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको जानकारहरूको भनाइ छ।

पुसे १५ मनाउने प्रचलन सुदूरपश्चिम प्रदेशमा प्राचीनकालदेखि नै चल्दै आएको हो। हाल पुसे पन्ध्रको मौलिकता भने हराउँदै जान थालेको प्रगतिशील लेखक संघका अध्यक्ष साहित्यकार रमेश पन्त मीतबन्धुले बताए।
पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीर समेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको स्थानीय बताउँछन्। डिसेम्बर २२ तारिखलाई विश्वभरि नै सबैभन्दा छोटो दिन भनिए पनि नेपाली समाजमा पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ।

चर्चामा

सम्बन्धित समाचार