सुदूरपश्चिमको सांस्कृतिक पहिचान बोकेको देउडा खेल (नाच) पातलिँदै गएको छ । गाउँघरमा महिला पुरुष, केटाकेटीबीच खेलिने देउडा खेल लोप हुँदै गएको हो । सुदूरपश्चिम क्षेत्रको पहिचानका रूपमा रहेको देउडा गीत हराउदै जानु संस्कृती हुराउनु जस्तै भएकाे बुढापाकाहरू बताउछन । बुढापाकाहरू थलिए संगै पुराना संस्कृती रितिरिवाजहरू पनी मासीदै गएका छन ।
पुरुष समूहसँग मायाप्रीति दुःखसुखका गीत गाएर देउडा खेल्ने महिला समूह हराउँदै गएका छन् । अहिले कुनै कुनै महिलाले टाढाटाढाबाट आएर पनि स्थानीय चाडपर्वमा देउडा गीत पुरुषसँग गाउने गरेका छन् ।
‘बाजे बज्यैको पालामा गाइने झोडा, मागल, धारु, रत्याउली, छैटी, बालो, लगायत गीत लोप अहिले सुनिन छाडेका छन् । यो राम्रो पक्ष हुदै होइन् । विगतमा वनपाखामा गुन्जिने देउडा गीत, ठाडी भाका, सवाल जवाफमा गाइने होस् या लय मिलाएर गाइने भाका अहिले ग्रामीण क्षेत्रमा समेत सुन्न छाडिएका छन् ।’
विवाह, व्रतबन्ध, उत्सव, देवीदेवताको पूजा लगायतमा गाइने गीत लोप हुँदैछन् । दुई समूहमा भेला भएर महिलाद्वारा गाइने झोडा गीत अहिले बिरलै सुन्न पाइन्छ ।
दुई दशक अघि सम्म १५ / २० जना महिला आपसमा सवाल जवाफ गर्दै देउडा गीतमा रमाउने गर्थे । बाजुराका गाउँ बस्तीमा महिलाले लगाउने गुन्युँचोली र पुरुषले लगाउने दौरासुरुवाल पनि हराउँदै गएको छ । घरमै उत्पादित ठेटुवाबाट बनेका दौरा सुरुवाल पुरुष लगाउँथे । महिलाले धोती चोलो समेत ठेटुवाकै हुन्थ्यो । त्यो कपडा चिसो र तातो मौसम दुवैमा अनुकुलता थियो । बजारमा विदेशमा उत्पादित कपडाको आयात बढ्न थालेपछि परम्परागत पोसाक समेत हराउन थालेको छ । पुर्खाहरुले लगाउने पहिरनको कुनै अवशेष नै छैन् । पछिल्लो समय पञ्चेबाजा पनि लोप हुने अवस्थामा पुगेका छन । बढ्दो आधुनिकीकरण र संरक्षण अभावमा पन्चेबाजा संकटमा परेको गाउँका धामीहरुले बताउँछन् ।
विवाह, व्रतबन्ध, देवताको पूजापाठ र अन्य उत्सवमा बजाइने लोकप्रिय बाजा सुनिन छाडेको छ । विवाह, व्रतबन्ध, मेला र अन्य पर्वमा आधुनिक बाजा बज्न थालेका छन । अहिले सुन र चाँदीका विभिन्न गहना समेत गाउँघरमा देखिन छाडेका छन । गाउँबस्तीमा ६० कटेका वृद्धाले समेत विरलै परम्परागत गहनाको प्रयोग गर्ने गरेका छन ।
खुट्टामा लगाइने कल्ली र पैरा, हातमा लगाउने बाला, घाँटीमा लगाइने सानीमाला, ठूलीमाला, साङ्ला, मुगामाला, डोरी,, ढुंग्री, कालो, पहेंलो, सेतो पोते, कपुर्ने माला लगायत पुराना गहना गाउँमा लगाउन छाडेको बुढापाकाहरूले बताउने गरेका छन । संस्कृति सँग सम्बन्धित परम्परागत भुवा, दशै, अनन्ते, बिशु मेला , मागी विवाहमा नाचिने हुड्के नाच लोप हुने अवस्थामा छ । मागी विवाहको चलन हटेसँगै यो नाच पनि लोप भएको स्थानीय बताउँछन् ।
सुदूरपश्चिमका चाडपर्वमा महिला पुरुषको देउडा खेल आकर्षक मानिन्छ । यसवर्ष सदरमुकाम मार्तडीमा खेलिने भुवा पर्वमा पनि त्यस्ताे देखीएकाे छ । नेपाली पाेशाक हातम ढाल र तरवार समाएर बाजाका साथ खेलीने चाली नाच लाेप हुदै गएकाेमा स्थानीय चिन्तीमा रहेकाे बडिमालिका नगरपालिका वडा न ९ का अंगे रावलकाे भनाइ रहेकाे छ । बलबहादुर रोकाले सुदूरपश्चिमको देउडा संकृति लोप हुँदै गएकाले यसको संरक्षणमा सरोकारवाला लाग्नुपर्ने बताएका छन ।
क्या राम्रा केलीका पात तर पानी तर
जीन्दगी दुइ दिने मात्रे कै को मानु भर ।।
हिमाल हिउपडि गयो माल बाइजा काग
भावीका भाग हाल्न्या वेला क्या पडि होइ भाग ।।
कै वैरीले काटी लैगो खोलकिो गाया झाल
पानी तिर्खा मरिजान्छ मर्दैन माया जाल ।।
उहिले जंगलमा जानै हुन्थेन, गयो कि महिलाहरु सुमधुर स्वरमा ठाडी भाका गुनगुनाएको सुनिन्थ्यो, त्यसैमा कोइलीको कुहु कुहु आवाजले बाटो हिडने बटुवाहरुलाई मन्त्र मुग्ध पार्दथ्यो । बटुवाहरु उकालो हिडेको बेला ती सुमधुर देउडा भाकाको आनन्द लिदै रुखको छहारीमा अडेस लागेर बस्थे । उनीहरुको थकाई त्यहि सकिएर जान्थ्यो । नयाँ जोश र उमंग अनि छुट्टै फुर्तिका साथ गन्तव्यमा लाग्थे ।
गाँउमा कसैको विहेबारी हुनै पर्थेन देउडा खेल्न सुरू भइहाल्थ्याे। हरेक समयमा अवसर पारेर रात्री मेलाहरु लाग्थे । ती मेलामा युवा युवतिहरुका ठुल ठुला देउडा खेलहरु लाग्ने गर्थे । केटा र केटि बीच समसामयिक राजनीतिक अवस्था देखि लिएर माया प्रेम सम्मका, विहे देखि लिएर मृत्यु सम्मका कहानीहरु प्रतिस्पर्धी तवरमा देउडा गीतहरु मार्फत प्रस्तुत गरिन्थे । अहिले बाजुराकाे सदरमुकाममै लाग्ने मेला अनन्ते पर्बमा राज्यकाे ठाडाे निर्देशनमा राेक लगाइन्छ ।
अनन्ते, दशै र भुवाका बेला तीनै देउडामय रातले फेरि विहान भएको समेत ख्याल हुन दिदैनथ्यो । बुढा पाका, बालबालिकाहरु देउडा खेलको भित्र बसेर आनन्द लिइरहेका हुन्थे भने तन्नेरीहरु खेलेर आनन्द लिइरहेका हुन्थे ।
तर आज परिस्थिति फेरिएको छ । समय वदलिएको छ । अनि सबैतिर सन्नाटा छाएको भान हुन्छ । आजकाल तपाई जंगलमा जानुहोस, मेलामा जानुहोस, विहेवारीमा जानुहोस कतै देउडा सुन्न मिल्दैन । बनमा कोइलीले कुहुकुहु गरेको पनि विरलै सुन्न पाइन्छ । हरेकले र्याप गीत अँगालेका छन् ।
हरेकले पश्चिमा साहित्यलाई बढावा दिइरहेका छन् । अझ भनौं पछिल्लो पुस्ताले त देउडा संस्कृतिलाई नै वितृष्णाको रुपमा लिदै आएको छ । यसलाई छाडापनका रुपमा अपहेलना गर्दै आएको छ । कसैले देउडा गाउने भन्यो भने नाक खुम्च्याउँदै उसलाई गिज्याउन अघि बढ्छ आजको पुस्ता…त्यति मात्रै कहाँ हो र परिचय दिदा म देउडा भूमिको भन्न समेत हिच्किचाउँछ । आखिर यस्तो किन ?
यसो हुनुमा प्रमूख कारक तत्वका रुपमा आधुनिक प्रविधि नै अग्र भागमा देखिन्छ । देउडा संस्कारलाई देउडा गीतहरुलाई, देउडा प्रचलनलाई कम गराउन आधुनिक प्रविधिले निकै भूमिका खेलेको छ । हिजो खाली समयमा देउडा गीतहरु गुन्गुनाउनेहरु मोबाइलमा रेडियो सुनेर, गीतहरु सुनेर आनन्द लिनैमा अभ्यस्त देखिन्छन् ।
त्यति मात्रै होइन उनीहरु सामाजीक सञ्जालको समेत बढ्दो मात्रामा प्रयोग गर्ने गर्छन । जसले गर्दा देउडा संस्कृतिलाई लोपोन्मूख अवस्थामा पु¥याउन सघाउ पुगेको छ । युवाहरु वैदेशिक रोजगारीमा जाने र त्यहाँको संस्कृतिमा रम्न थालेकाले पनि देउडा संस्कृति लोप हुन थालेको छ । युवाहरु देउडा लाई मन नपराउने अवस्थामा पुगेपछि बृद्व अवस्थामा रहेका बुबा आमाहरुले मात्रै यसको संरक्षण कसरी गर्न सक्लान र ?
युवाहरु वैदेशिक अझ भनौं पश्चिमा संस्कृति, पश्चिमा साहित्यमा झुकाव राख्न अग्रसर हुनु, आफ्नो कला र संस्कृतिलाई जोगाउन र यसको महत्ववारे आगामी पुस्तालाई बताउन असक्षम हुनु जस्ता थुप्रै कारणले यो देउडा संस्कृति लोपोन्मूख अवस्थामा पुग्न थालेको भनेर भन्दा हुन्छ ।