शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • समाज
  • बाँधु गाउँको कुलो सुगेराँईं मेला र जादु पाध्या

बाँधु गाउँको कुलो सुगेराँईं मेला र जादु पाध्या

  • आइतवार, असार ८, २०८२
बाँधु गाउँको कुलो सुगेराँईं मेला र जादु पाध्या

बा’ को अर्थ बाहुन र ‘धु’ को अर्थ ‘धुनी’ अर्थात् बाहुनले धुनी जगाएको ठाउँको नाम हो बाजुरा कुण्डा क्षेत्रको ‘बाँधु’ गाउँ ! पण्डितको शास्त्रास्त्रको परीक्षा लिन देउताले चोखो, शुद्ध आगोबाट मात्र होम हुनुपर्छ भन्ने कुरा गर्दा शुद्ध आगो कतैबाट नपाइएपछि तिमिल्सिना हुमारा पण्डितले आँखाबाट’ आगोको ज्वाला’ निकालेर होम गरेको किंवदन्ती छ ।
हिमाली जिल्ला उच्च पहाडी भेगमा समथल भूमि कमै मात्रै भेटिन्छन्, त्यस्तै मध्यको एक गाउँ हो बाँधु ! गाउँभन्दा झण्डै तीनसय मिटर मात्र तल कर्णाली नदि बग्दछ भने दक्षिण उत्तरबाट चुलिगाड खोला बग्दछ । पूर्वबाट स्वामीकार्तिक, शिम्भुनाथको दृष्टि, पश्चिम उत्तरबाट बुढिनन्दा माईको दृष्टि, दक्षिणबाट बडिमालिका र उत्तरपूर्वबाट छायाँनाथको दृष्टि परेको छ ।
बाँधु गाउँलाई अहिले पनि ‘काशीको कुनु’ भन्ने प्रचलन यथावत नै रहेको छ । किनभने सनातन संस्कारमा गरिने हरेक कर्मका मन्त्र पण्डित जादु पाध्याले आफ्नै ध्यान, ज्ञान र तपोबलले रचना/ सिर्जना गर्नु भएको थियो, हस्तलिखित पाण्डुलिपि अझैँपनि सुरक्षीत भेटिन्छन् । पछिल्लो समय वारायणासीका छापाबाट प्रकाशित पुस्तकहरूको बिगबिगी भए तापनि विशेष गरि कुण्डा क्षेत्र र कुण्डासँग नजिकका कालिकोट, मुगु, हुम्ला, जुम्ला क्षेत्रतिर जादु पाध्याबाट सिर्जित ऋचालाई नै प्रधानता दिइदै आइएको पाइन्छ ।
कुन समय देखि आबादी भएको हो ठ्याक्कै थाहा नभए पनि परापूर्वकालदेखि नै बसोबास हुँदै आएको बाँधु गाउँमा खानेपानीको अभावको थियो । टाढा भएपनि कर्णाली नदी र चुलिगाण खोलाले खानेपानीको परिपूर्ति गरिदिएका थिए । खाद्यान्नको लागि चारसय बिगाहा भन्दा बढी जग्गाबाट आपूर्ति भइरहेको थियो । तत्कालीन अवस्थामा एकपटक खडेरी परेछ जग्गा जमिन बाँझो रह्यो खेतीपाति केही पनि नभएपछि हाहाकार मच्चियो । खेतमा उब्जनी नै नहुने भएपछि गाउँलेले अन्तै बसाइँसराइ सरेर जानेसम्मको निधो गर्न पुगे । गाउँ छोडेर नै जानुपर्ने अवस्था भएपछि देवि देउता हेराउँने चलन अझैं जिवित छ भने उतिबेला नहुँने कुरै भएन । देउता हेराउँने क्रममा कैलाश देउता प्रकट भएछन् ; “यो गाउँ छोडेर अन्त जाने विचार नगर, गाउँमै बस, जेजस्तो भयो दु:ख भयो, केही समय धैर्य गर, म केही न केही बाटो दिउँला, सुझाउँला, सुन फेरि पनि भनेँ ‘अबको एक बर्ष भित्रमा मकर लग्न र मकर राशी शुक्रबारको दिनमा एउटा बालकको जन्म हुनेछ, त्यही बालकले गाउँलेहरूको भलाई गर्नेछ ! गाउँको खानेपानी र सिँचाइको समस्या त्यसै बालकबाट समाधान हुँनेछ ।” कैलाश देउताले यत्ति भनेपछि गाउँलेलाई विश्वास भएछ । अन्त बसाइँसराइ गर्ने योजना रद्द गरेछन् । बालक कसको घरमा कसको कोखबाट जन्मने हो भन्ने गाउँलेले प्रतीक्षा गरिरहे । एक वर्षपछि गाउँमा देउताले भनेजस्तै समय र प्रहरमा पण्डित दासु उपाध्यायकि जहानबाट बालकको जन्म भयो । ज्योतिष बोलाई विधि विधानले न्वारान कर्म गराइ लग्न अनुसार बालकको नाम ‘जादु उपाध्याय’ रहन गएछ । बालक जादु जति हुर्कदै बढ्दै गए गाउँलेमा पनि उत्तिकै खुशी बढ्दै गइरहेको थियो ।
एकदिनको कुरा हो आमा बालक जादुलाई डोकोमा सुताएर खेतमा काम गरिरहेकि थिइन्, अचानक चील आएर डोको सहित बालकलाई उचालेर लगेछ, बालक रोएको आवाज सुनेपछि फर्केर हेर्दा डोको सहित छोरा लगेको देखेपछि आमा मुर्छित भइन्, डोको लिएर उडेको चील अन्य गाउँलेहरूले पनि देखे, हेर्दाहेर्दै चीलले डाँडा कटाएपछि गाउँलेको आशा भरोसामाथी तुसारापात भयो । गाउँभरी रुवाबासी चल्यो । भोग प्यास सबै मेटियो । गाउँलेको घरमा आगो पनि बलेन, गाउँलेले अनिद्रै रातदिन बिताए । कहाँ जाने के गर्ने सोच्न समेत सक्ने स्थितिमा रहेनन् ।
बालकलाई चीलले गाउँको ‘लेक’ मोटाकाँध नजिकै घना जङ्गल बिचको गिरि चौरमा लगेर छोडेको रहेछ । धिम गाउँका मल्ल ठकुरी (नाम भुलें क्षमा चाहान्छु) भेडालाई चराउँन जाँदा बालक रोएको आवाज सुनेछन् । जङ्गलमा बच्चा रोएको सुनेपछि आवाज पहिल्याउँदै गएछन् त डोकोमा बालक खेल्दै गरेको भेटिएछ । अचम्म मान्दै बालकलाई भेडी खर्कमा ल्याएछन् । बालकलाई समात्ने बित्तिकै भोकाएको हुँनाले बालक औंला चुस्न थालेछ । नाबालकलाई खर्कमा राखेर हुँदैन भन्ने लागेर उतिबेला नै धिम गाउँको घरमा ल्याएछन् । संयोग मान्नुपर्छ त्यही दिन घरमा जहानलाई पनि व्यथा लागेको रहेछ । जादुलाई घरमा ल्याएकै दिनमा घरमापनि छोरा नै जन्मिएछ । जादुलाई पनि तिनै नवजात शिशुको आमाको दूध पिलाएर पालनपोषण गरेर राखेछन् । धिम गाउँमा पनि सल्लाह गरेछन् । कस्तो अचम्म भयो ? कसको बच्चा हो ? कसरी जङ्गलमा फेला पर्‍यो ? यावत् कुराहरू भएछन् अब हामीले पनि यस बालकको बारेमा अन्य गाउँतिर खबर गर्नुपर्छ/ बुझ्नुपर्छ भनेर गाउँगाउँ कुरा बुझ्नलाई मानिस खटिएछन् ।
यो खबर बाँधु गाउँमा पनि थाहा भयो । त्यसपछि बालक भेटियो भनेर गाउँवासीमा खुशी छायो । बाजागाजा हर्ष बढाइँ गरेर घर भित्र्याए । ( मल्ल ठकुरीले जादुलाई भेटाएर मातापितालाई बुझाएका कारण आज पनि त्यो मल्ल परिवारलाई पंक्तिकारको परिवारले माइती मान्ने परम्परा कायम छ ) त्यसपछि बालक जादुको हेरचाह गर्न पुरै गाउँवासीको भरपुर साथ सहयोग रह्यो ।
जादु बढ्दै हुर्कदैं गए, ब्राह्मण कर्म अनुसार उचित लग्न हेरेर आठ वर्षमै जादुको चुँडाकर्म सम्पन्न भयो । ब्राह्मणको संस्कार अनुसार पिता दासु उपाध्यायले आफूमा भएको शास्त्रास्त्र लगायत अन्य ज्ञानगुनको पनि पठनपाठन गराए । जादु असाधारण प्रकृतिको ज्ञान भएका बालक थिए ।
भनिन्छ १२ वर्षको कलिलो उमेरमै जादुले गाउँको दु:ख देखेर गाउँबासीको पिर, मर्का ल्याएर नेपाल (काठमाण्डौं) को यात्रा गरे । त्यतिबेला पृथ्वीनारायण शाहका पुत्र प्रताप शाह राजा थिए । एक महिना दिनभन्दा बढी लामो यात्रा गरेर नेपाल आइपुगे । राजालाई भेट्न भनेर आएका बालक भेट गर्नु परकै कुरा रह्यो राजदरबारको दर्शन पाउँन समेत सकेनन् । दरबारका द्वारपालेले पाखुरा समातेर पर धकेलेछन् । कारण गाउँबाट आएको झुत्रो, मैलो लुगा लगाएका त्यसैमा केही कुरा गरिहाले पनि पत्याउन मुस्किल नाबालक ठिटो । तर हरेस नखाएर कत्ति पनि बिचलित नभई नम्र बोली,हँसिलो मुद्रामा आफ्नो कुरा सविस्तार बताएपछि द्वारपालेले पनि बालकको कुरा राजालाई सुनाएछन् । राजाबाट भेट गर्ने आज्ञा भएपछि भेट गर्न पाएछन् । यतिसानो बालक के भन्न आएको होला भन्ने राजालाई लागेर अचम्म मान्दै के कति कामले आयौ भन भनेपछि जादुले दुई हात जोरेर आफ्नो बिन्ती बिसाएछन् ;महाराज मलाई केही पनि दु:ख छैन, म खुशी नै छु तर मेरो गाउँबासीलाई ठूलो समस्या छ । मेरो घर बाजुरा कुण्डा क्षेत्रमा पर्ने बाँधु भन्ने गाउँ हो । त्यहाँ खानेपानी र सिँचाइको सुविधा नहुँदा गाउँका बासिन्दा चारसय भन्दा बढी बिगाहा जग्गा भएको गाउँठाउँलाई छोडेर जान बाध्य भएकाछन् । आजसम्म जसोतसो गुजारा गरेपनि अबको दिनमा बस्न नसकिने भएर अन्तै बस्न बाध्य हुनुपर्ने अवस्था छ, त्यसैको लागि बिन्ती बिसाउँन आएको हुँ निकास दिइबक्सियोस्, भनेर घुँडा कुना टेकी रोइ कराइ गरेको देखेपछि राजालाई पनि आश्चर्य लागेछ । यति सानो बालक, महिनौं दिन लाग्ने लामो बाटो, एक्लै यस्तो यात्रा गरेर दरबार आउँनु…… राजाले उतिखेरै मन्त्रीलाई बोलाएर लालमोहर जारी गरि, तमसुक लेख्न लगाई दायाँबायाँ किनारमा छाप लगाएर कागजातको व्यवस्था गरि खानेपानी र सिँचाइ गर्ने कुलोको प्रक्रिया पूरा गरिबक्सिएछ । त्यसपछि सो लालमोहर ल्याएर बाँधु गाउँको साविक कुलो काटिएको हो ।
जादु उपाध्यायको राजदरबारसँग जोडिएको अर्को प्रसङ्ग पनि छ । लालमोहर ल्याउँन आएकै बेला दरबारमा पूजाआजा हुने रहेछ । त्यसैले टाढाबाट फेला परेका ब्राह्मणका छोरालाई पनि पूजाआजामा सामेल गराउने विचार गरेर राजाले पूजापाठको लागि दरबारमै बसालेछन् । किनभने तत्कालीन बाइसे चौबीसे राज्यका ठूलाठूला ज्ञानी ब्राह्मणहरुलाई यज्ञमा उपस्थित हुन अनुरोध गरिएको रहेछ । जादु उपाध्यायको पनि सो यज्ञमा भहभागी हुने मौका मिल्यो । पूजापाठ सुरु भयो । सबै ब्राह्मण आआफ्नो ज्ञान अनुसारको पाठ गर्न लागेछन्, तर जादु टोलाएर बस्नुभएको रहेछ । राजाको नजर जादुतिर परेपछि सबै आआफ्नो कर्ममा छन् यी ब्राह्मण किन टोलाएर बसेको होलान् भनेर बुझ्दा जादुले भन्नुभएछ ; म यता बसेको पनि ५ महिना बढी हुँन लाग्यो, गाउँको कुनै खबर सुन्न पाएको छु न त खबर दिन पाएको छु, यतिका समयसम्म मेरा गाउँलेको अवस्था कस्तो होला, गाउँलेको घरमा चुलो बल्यो कि बलेन, सबैले खान पाए कि पाएनन् यहि चिन्ताले टोलाएको हुँ महाराज” भनेपछि राजाले चिन्ता नलेउ भनेर सम्झाइ बुझाइ गरि छिट्टै फर्किने कुरा बताएछन् ।
पूजापाठ धुमधामले भइरहेको थियो । ब्राह्मण अग्नि स्थापना गर्न यज्ञतिर लागे तर जति प्रयास गरे पनि अग्नि प्रकट नभएपछि पूजापाठमा उपस्थित भएका सबै चिन्तित हुन पुगे, के अनर्थ हुँन लाग्यो भन्ने भएछ । सबैका ओठ तालु सुकेछन्, राजाले के पो भन्ने हुन् भन्ने गुरु पुरोहितलाई लागेछ । त्यतिकै बेला जादुले आफ्नो तपबलले दुबै आँखाबाट अग्निका ज्वाला निकाली अग्निस्थापना गर्नुभएछ । यस्तो अद्भुत क्षमता देखेपछि राजा अचम्म र प्रसन्न भएछन् । यस्तो अचम्मको क्षमता देखेपछि राजाबाट राजदरबारमै पुरोहित भएर बस्ने आज्ञा भएछ तर जादुले मानेन छन ; जुन काम लिएर नेपाल आएको हुँ सो काम मेरो गाउँलेको लागी गर्नुछ त्यसैले आफ्नै गाउँमा फर्किन्छु बरू फेरि आउँला भनेर जवाफ दिएछन् । राजाले पनि जादुलाई रथयात्रा गरि उपत्यका परिक्रम गराइ प्रशस्तै इनाम दिई खानी पत्ता लगाउँने व्यक्ति समेत सँगै पठाएर बिदावारि गरेछन् ।
यति समयसम्म हराएको बालक घर पुगेपछि सारा गाउँ खुशी भयो । अझ सविस्तार नेपालको कुरा सुनाउँदा गाउँमा झन् खुशीयाली छायो हर्ष बढाइँ भयो सबै प्रसन्न भए । तत्कालीन अवस्थामा बाजुरा जुम्ला राज्यभित्र पर्ने भएकोले कानूनी र प्रशासनिक प्रक्रिया पूरा गर्न सिंञ्जा जानुपर्थ्यो । जादु सिंञ्जा गएर त्यहाँको सरकारसँग कुरा गरि ठूलो सुरक्षा फौजका साथ कुण्डा क्षेत्रका सारा जनताको सहयोगमा खानीको अन्वेषण गरि खानेपानीको स्रोत समेत पत्ता लगाई राजाले दिई बक्सेको लालमोहर र तमसुकको विधि विधानमा रहि चार दिनपछि बाह्रै महिना पानी बग्ने कोठे कुलो तयार गर्न सफल भए । हरेक खेतमा पानी पुग्यो, सिँचाइ हुनेभयो । गाउँलेहरुले खानेपानी पनि पाए । फापर, कपास र जनालो लगाउने ठाउँमा धान र गहुँ खेती हुँन थाल्यो । कुलोबाट पानी ल्याइ पुर्‍याएको सम्झनामा असार पहिलो साताका दिनलाई उत्तम साइत हेरेर तीन दिन सम्म ‘कुलो सुगेराँईं’ (कुलो सफाइ) नामक मेला मनाउँने प्रचलन रहँदै आएको छ । कुलो सुगेराँईं मेला विशेष गरि असारको रोपाइँलाई लक्षित गरि कुलो सफाइ गरेर मनोरञ्जन गर्नु हो । के कसो गरि मनाउँने प्रचलन छ त्यो अर्को आलेखमा उल्लेख गर्नेछु ।
कुनै बेला ‘क्या खाँदो मुख विचार गर् जिब्रा’ भन्ने उखान थियो रे बाँधु गाउँको लागि किनभने त्यतिबेला आजको जस्तो बजारिया खाद्यान्नको बिगबिगी थिएन । उच्च पहाडी क्षेत्रको भेग भए पनि धान गहुँ फल्ने सिँचाइ हुने प्रशस्त खेतीयोग्य जमिन, त्यसै गरि कपास खेती पनि प्रशस्तै हुँने हुँदा वस्तु विनिमयमा रूपमा अन्यत्र गाउँ ठाउँबाट खाद्यान्न,फलफूल र मासु लगायत कुरा गाउँमै आइपुग्थ्यो । अन्यत्र गाउँठाउँका लागि पनि ऋण सापट गर्न सहज गाउँका रूपमा लिइन्थ्यो रे ! भोगमरी हुँदा होस् या अनिकाल पर्दा अथवा खेतमा बेर्ना छर्नुपर्ने बेला होस् बाँधु गाउँलाई नै सम्म्झिने गर्दथे रे ।

चर्चामा

सम्बन्धित समाचार