• होमपेज
  • फिचर
  • संस्मरण “सपना र संघर्षका बिच”

संस्मरण “सपना र संघर्षका बिच”

  • शनिबार, पुस २०, २०८१
संस्मरण “सपना र संघर्षका बिच”

यतिखेर समयको घडिमा रातको ९ बजिरहेको छ र मेरो अनुहारमा १२ बजिरहेको छ। पर चोकतिर कुकुर भुकिरहेको छ। वातावरण सुनसान छ। निन्द्रा अझै लागेको छैन। अंग्रेजी विषयको “A Devoted Son” पाठ पढेर सकिएपछि मलाई २ वर्ष अघिको सम्झनामा फर्किन मन लाग्यो। राजधानीका कोठा भाडामा बसेर घरको याद अनि बाआमाको याद कति आउँछ, त्यो भोग्नु भएको छ भने तपाईलाई नै थाहा छ। भर्खरै ब्याएकी गाईलाई आफ्नो बाच्छी भेट्न हतार भएजस्तै मलाई पनि मेरो घर सुदुरपश्चिमको कुना काप्चामा लुकेको बाजुराको याद आयो। अब के गर्नु, नुनको साटो चुक खाएर चित्त बुझाइयो। गाउँ, बा, आमा र परिवार सबैलाई सम्झेर सुख-दुःखका पलहरू केलाउँदै गर्दा एउटा नमिठो पलको याद आयो। त्यो बेला मेरा आँखाहरू आँशुले टम्म थिए, वा भनौं, पीडालुको पातमा भएको पानी जस्तै, कतिखेर झर्ने टुंगो नभएको।

२०७८ असोज १० गते अरूका बुबा प्रदेशबाट धमाधम घर फर्किने क्रम जारी थियो तर मेरा बुबाले भारतको मुम्बई जाने निर्णय गर्नुभयो। नजाऊँ भने कसरि घरपरिवार पाल्नु थियो, हामिलाई पढाउनु थियो, पैसामा बिक्ने दुनियामा आफ्नातको माया कमाउनु थियो। आफ्ना त हैनन् तर परिवारका रहर पुरा गर्नुथियो। मेरा बुबा सामान्य मान्छे होइनन्। उहाँ गरिबीको बाढीले बगाउन नसकेको एउटा बलियो बाँधजस्तै हुनुहुन्छ। उहाँको संघर्ष देख्दा कहिलेकाहीं मेरो मनमा प्रश्न उठ्छ—यस्तो कठोर जीवनको सामना गर्न उहाँले कस्तो बल र हिम्मत जुटाउनु भएको होला।

बुबाको जीवनमा ठूलो संघर्ष त बाल्यकालबाटै सुरु भएको थियो। उहाँलाई पढ्ने धेरै इच्छा भए पनि परिस्थितिले थिचेर, १४ वर्षको उमेरमै भारत जान बाध्य हुनुभयो। त्यहाँ उहाँले कहिले सिमलाका स्याउ बोकेर, कहिले मुम्बईको गाडी धोएर, कहिले वाचम्यानको जागिर गर्दै परिवारको चुलो बलिरहनुभयो। अझ भनौं, हाम्रो हातमुख जोर्न अभावसँग कहिल्यै नथाकि युद्ध गरिरहनु भयो। सायद थाकेको दिन हाम्रो मुख बन्द हुन्थो, तर बा कहिल्यै थाकेनन्।

गरिबिको महामारीबाट हामी र हाम्रो समाज कोहिपनि अछुत त छैनन् तर अलि बढि भएपछि बाले पल्लो गाउँको एकजनासँग गाडी भाडा ऋण लिनुभयो र च्यातिएको फाटो झोला काँधमा भिरेर विदाईका हात हल्लाएर पर्देश जानुभयो। चाडपर्वको मुखैमा आफ्ना मुटुका टुक्राहरू, श्रीमती र छोराछोरी अनि जन्मघर छाडेर प्रदेश जानुको पीडा कति भयो होला, म कल्पना समेत गर्न सक्दिनँ। सालिक जसरी चुपचाप हेरेर बसेँ म। दशैंको मात्रै ९ दिनअगाडि बा प्रदेश लानुभयो। त्यो मेरो जीवनको एउटा नमिठो पल थियो।

हुनत, बा प्रेशिनु नयाँ र अनौठो कुरा पक्कै होइन किनकि मेरा बा जिम्मेवारीको भार बोकेर १४ बर्षको उमेर देखिनै भारतका कुना-कुनामा मजदुरी गरेर आफ्नो परिवार पाल्नुहुन्छ। योभन्दा अगाडि दुई-चार महिना भारतमा पैसा कमाउने र चाडपर्वमा घर फर्किने गर्नुहुन्थ्यो। भारत जानुलाई हाम्रो गाउँमा नैताल जानु भन्छन्। बा नैतालबाट आउँदा एक्लै आउनुहुन्न, हाम्रो खुशी, रहर अनि उमङ्ग लिएर आउनुहुन्छ। मनभित्र दुःखका पहाड राखेर अनुहारमा खुशीको मैदान देखाउने मेरा बाको महानता वर्णन गर्न जरूरी नै छैन, किनकि त्यो आफैमा एक महान कर्म हो।

मेरा हजुरबा उहिले गाउँ विकास समितिका अध्यक्ष हुन् रे, त्यस कारण बाले पनि १२ बर्षसम्मको बाल्यकाल सुखद बिताउनु भयो रे। त्यसपछि हजुरबाको शारीरिक अवस्था कमजोर हुँदै गएपछि घरको जिम्मेवारी १३/१४ बर्षमै बाको थाप्लामाथि आयो। बा घरका जेठा सन्तान भएर पनि थप संघर्ष र दुखका दिनहरू सुरू भए। यसै बीचमा बाले बिहे गर्नुभएछ र बिहे गरेको छोटो समयमै हामी जन्मेका रहेछौं। हामी एकपछि अर्को तीन छोराछोरी जन्मिएपछि बालाई थप जिम्मेवार बनायो नै, उहाँ त्यसपछि आफु मात्र रहनु भएन, हाम्रो बा हुनुभयो आमाको श्रीमान्, भाइको साहारा हुनुभयो, यसरी सबै परिवारको दुख बिसाउने चौतारी बनिदिनु भयो।

घरमा कुनै आम्दानिको स्रोत नभएपछि प्रत्येक वर्ष भारतको बाटो नाप्न शुरू गर्नुभयो। बाले जेनतेन घर व्यवहार चलाउन शुरू गरेका मात्रै थिए रे कि हजुरआमाको मृत्यु भयो अनि उहाँलाई थप पीडा, अभाव र दुख पर्यो। भाइ सानो, बहिनीले बिहे गरेर आफ्नै घरमा, आफ्नो उमेर अपरिपक्व तर जिम्मेवारी परिपक्व भएपछि, फेरि यसै बीचमा हजुरबाको स्वास्थ्य निकै खराब भयो। हजुरबा बिरामी पर्नुभयो, उ बेला उपचारको कुरा त परै जाओस्, पेटभरिने खाना पाउन समेत निकै मुस्किल पर्थो रे। आफ्ना बाको उपचार गर्ने कि छोराछोरीलाई पेटभरि खाना ल्याइदिने भन्ने समस्या झेल्नुभयो। हजुरबालाइ प्यारालाइसिस नामक रोग लाग्यो रे अनि हाम्रो घरको आर्थिक अवस्थाले उपचार गर्न नसकिएपछि भगवान्को नियतिको अगाडि गरिबिले घुँडा टेकेरै छाड्यो। अन्ततः हजुरबाको मृत्यु भयो। आमा गुमाएको दुई वर्षमै आफू पन्छी हुँदा पखेटा बनिदिने, पानी पर्दा छाता बनिदिने, गर्मी हुँदा सितल छाँयरी बनिदिने र जाडो हुँदा लुगा बनिदिने बा गुमाउँदा कति पीडित हुन्छ होला, कति मन रून्छ होला सम्झिदै शरीरमा काँडा फुलेर आउँछ।

यसरी ठुला ठुला दुखका पहाड फुटाएर आफ्नो हड्डी प्रदेशमा खियाएर परिवार र छोराछोरी भन्दै जीवनको आधा पुरा उमेर काट्नु भयो। मेरा बा एक सामान्य मान्छे रहेनन्, काँडाहरूका बीचमा फुलेको फूल बन्नुभयो। यसरी बाले कूल २७/२८ वर्ष प्रदेश अर्थात् नैतालमा काट्नु भयो। ठाउ कक्षा पास गरेका मेरा बालाई शिक्षाको महत्त्व राम्रोसँग थाहा छ। उहाँले जीवनमा पढेर भन्दा गरेर अनुभवहरूमा पीएचडी पास गरिसक्नुभयो। आफुले पढ्ने चाहना बोकेका बाले पढ्न नपाएपछि छोराछोरीलाई पढाउनुपर्छ भन्ने मानसिकता बोकी माध्यमिक शिक्षा पढ्न मलाई राजधानी पठाउनु भयो। अनुभव र सुख-दुःख गर्नुपर्छ, त्यसकारण नयाँ अनुभव मात्रै बटुल्न, छोरालाई राजधानी (काठमाडौं) पठाएर, आफू मुम्बईमा गाडी धोएर, वाचमेनको नोकरी गरेर, सिमलाका स्याउ बोकेर र मनभरी दुख पिर, काँधमा जिम्मेवारी र ओठमा झुटो मुस्कान लिएर छोरा पढाउने चाहना राख्नु सामान्य कुरा त हुँदै हैन।

मेरो बाको दुख र मेहनतका, अर्थात् हामी सबैका बाको मेहनतका अगाडि, सायद एक नजरले हेर्नेले भने भगवानले पनि घुँडा टेक्नु पर्ला। मेरो सम्झना यताकै पहिलोपटक, मेरा बाले परिवारको खुशीका लागि आँसु झारेको देखेर मेरो मन खुब रोयो। मैले पनि तेहि दिनदेखि एउटा संकल्प लिएको छु, बाका आँखाका आँसु पुछिदिने।

केहि समय अघि विजय बरालको “पूर्णबहादुरको सारङ्गी” नामक चलचित्रमा पूर्णबहादुर भन्दा कम छैन मेरा बाको संघर्ष र मेहनत पनि। मलाई खुब गर्व लाग्छ मेरा बा देखि। उहाँ भोकै भएर हामिलाई खुवाउनुहुन्छ, आफु नांगै बसेर हामिलाई लुगा दिनुहुन्छ। उहाँले आफ्नो जीवनकालमा भोगेका समस्या सन्तानले भोग्न नपरोस् भन्ने हुटहुटी लिएर हाल भारतमा संघर्ष गर्दै हुनुहुन्छ। अब मैले पनि आकाश छुने, धर्ती चिर्ने, त्यो ठूलो सपना त देखेको छैन, तर बाआमाको कठोर संघर्षमा पानी पर्ने र मुहारमा चमक ल्याउने उद्देश्य छ। अरूका छोरा जस्तो होइन, म मेरा बाउको छोरा जस्तो भएर बाँच्न सकुँ। म म दियो हुँदा तेलको भूमिका निर्वाह गर्ने, म गाडी हुँदा पेट्रोलको भूमिका गर्ने, म हिड्दा बाटो बनिदिने,भोक लाग्दा खाना बनिदिने अर्थात् भनै मेरो खुसिमा सामेल हुने बा प्रति नमन र अथाहा प्रेम छ ।

चर्चामा

सम्बन्धित समाचार