बाजुरा– घरेलू तथा लैङ्गिक हिंसाबाट पीडित महिलाहरूको लागि स्थापित ‘एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)’ले प्रभावकारी सेवा दिइरहेको छ । पछिल्लो समय यो केन्द्र पीडितहरूको उपचार, कानुनी सहायता र सुरक्षाका सवालमा उल्लेखनीय काम गर्दै आएको छ । जिल्ला अस्पताल बाजुरामा सञ्चालनमा रहेको ओसिएमसीले विशेष गरी हिसांमा परेका महिलाहरूलाई लक्षित गरेर सहज सेवा प्रवाह गर्दै आएको छ ।
अस्पतालमा आएका हिंसा पीडित महिलालाई उपचारको साथै मनोसामाजिक परामर्श दिने, सम्बन्धित अस्पतालमा उपचार सम्भव नभए अन्य अस्पतालमा पठाउने तथा कानुनी उपचारमै जानुपर्ने घटना रहेछ भने प्रहरी प्रशासनसँग परामर्श गर्नेसम्मको सेवा ओसीएमसीले दिइरहेको छ ।
सेवा लिन आउने पीडितहरूको संख्यामा क्रमशः वृद्धि भइरहेको छ । ओसिएमसीका फोकल पर्सन तथा सहजकर्ता नर्सिङ्ग नीरक्षक निशा रोकायाका अनुसार बाजुराका ९ वटै पालिकाबाट सेवा लिन आउनेहरूको संख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको छ । उनले भनिन्, ‘यो सकारात्मक संकेत हो कि अब हिंसा सहेर बस्नुको सट्टा आवाज उठाउने र सहयोग लिने प्रवृत्ति बढ्दै गएको छ।’ स्थानीय तहबाट समेत पीडित महिलाहरूको उपचार, पुनर्स्थापना तथा मनोपरामर्शमा सहयोग मिलिरहेको बताइएको छ ।
लैङ्गिक हिंसाका घाईते पीडितहरुलाई आकस्मिक विभागमा पुर्याइने गरेको र त्यहीबाट एकद्वार संकट व्यवस्थापन केन्द्रमा रेफर गर्ने गरिएको छ । केहीलाई चाहिं प्रहरी वा सामाजिक संस्था र गैरसरकारी संस्थाबाट एकद्वार संकट व्यवस्थापन केन्द्रमा पठाउने गरेको पाइएको छ । अधिकांश महिला, बालिका तथा किशोरीहरुले एकद्वार संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य उपचार सेवा पाएका छन् । विशेषगरी महिलाहरु घरेलू तथा सामाजिक हिंसाबाट प्रभावितहरुको सहज उपचार लगायत कानुन तथा सुरक्षा प्रत्याभूति दिलाउन जिल्ला अस्पता बाजुरामा सञ्चालित ओसिएमसी सेवा पछिल्लो समयमा प्रभावकारी बन्दै गएको स्थानियहरुको भनाई रहेको छ ।
ओसिएमसी केन्द्रमा पुगेपछि हिंसामा परेका महिलाहरुको सुरक्षा सहित उपचार समेत निःशुल्क हुने गरेको ओसिएमसीका फोकल पर्सन तथा सहजकर्ता नर्सिङ्ग नीरक्षिक निशा रोकायाले बताएकी छन् । ओसीएमसीको सहयोगमा महेन्द्रनगर स्थित साथी संस्थाले ६ महिना सम्म निःशुल्क सिलाइकटाई तालिम समेत दिने गरेको छ । तालिम पश्चात् सिलाइकटाई मेसिन पनि दिएर आत्मनिर्भर बनाउने समेत काम ओसीएमसीले गर्दै आएको छ ।
पछिल्लो समयमा बाजुराका घरेलू तथा सामाजिक हिंसामा परेका महिलाहरुका लागि एकद्धार संकट व्यवस्थापन केन्द्र ओ.सी.एम.सीबाट ५ सय बढिलाई सेवा दिएको तथ्याकंमा उल्लेख गरिएको छ । जसमा आर्थिक बर्ष २०७८/०७९ मा १ सय ९ जनाले सेवा लिएका छन । सेवा लिनेमा बडिमालिका नगरपालिकाका ४५ जना बुढिगंगा नगरपालिकाका १५ जना, बुढिनन्दा नगरपालिका १३ जना, खप्तड छेडेदह गाउँपालिकाका ७ जना हिमाली गाउँपालिकाका ८ जना, त्रिबेणी नगरपालिकाका ५ जना, गौमुल गाउँपालिकाका ७ जना, स्वामिकार्तिक खापर गाउँपालिकाका ३, जगन्नाथ गाउँपालिकाका ३ जना र अन्य जिल्लाका ७ जना गरि १ सय ९ जनालाई सेवा दिएको ओसिएमसीका फोकल पर्सन तथा सहजकर्ता नर्सिङ्ग नीरक्षिक रोकायाले बताइन् । जसमा बहुबिबाह १ जना, यौनजन्य र्दुव्यवहारबाट ८ जना जबरजस्ती करणी १६ जना, शाररिक र्दुव्यवहार २६ जना र मानसिक र्दुव्यवहार ३२ जनाले सेवा पाएका छन भने ४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको तथ्याकंमा उल्लेख गरिएको छ ।
त्यसै गरि २०७९/०८० मा एक सय पाँच महिला र एक पुरुष गरि १ सय ६ जनालाई सेवा दिएको छ । २०८०/०८१ मा १ सय ९३ जना र २०८१/८२ को फागुन मसान्तसम्म ९५ जनालाई सेवा दिएको ओसिएमसीका फोकल पर्सन तथा सहजकर्ता नर्सिङ्ग नीरक्षिक रोकायाले बताएकी छन् ।
नर्सिङ निरिक्षक रोकायाका अनुसार यस आर्थिक वर्ष २०८१⁄०८२को साउन देखि फागुन मसान्तसम्म विभिन्न खालका हिंसाबाट बाजुरामा ९७ महिला हिंसा प्रभावित भएका छन् । सबैभन्दा बढी बुढिगंगा नगरपालिकामा ४३, जिल्लाको सदरमुकाम रहेको बडिमालिका नगरपालिकामा ३०, बुढिनन्दा नगरपालिकामा ७ र त्रिबेणी नगरपालिकामा २ प्रभावित छन् । त्यसैगरी खप्तड छेडेदह गाउँपालिकामा ५, हिमाली गाउँपालिकामा दुई, जगन्नाथ, स्वामिकार्तिक र गौमुल गाउँपालिकामा एक–एक जना हिंसा प्रभावितलाई सेवा दिएको तथ्याकंमा उल्लेख गरिएको छ ।
त्यसैगरी छिमेकी जिल्ला मुगु ,अछाम र डोटी जिल्ला घरभएका ४ जना महिला हिंसा प्रभावितलाई निःशुल्क उपचार गराइएको ओसिएमसी सेवा तथ्यांक विवरणमा उल्लेख छ । गत आर्थिक वर्ष ०८०/०८१ मा पनि बडिमालिका नगरपालिकाका ४५ महिला लगायत १०९ जना हिंसा प्रभावित भएका थिए ।
जिल्ला अस्पतालमा विभिन्न खालका हिंसा प्रभावित व्यक्तिहरु आईरहेका छन् । जसमा शारीरिक कुटपिट २९ जना मानसिक अशक्त २४, स्रोत साधनबाट वञ्चित २३ , जवरजस्ती करणीका १० ,बहुविवाहका ८ र यौनजन्य दुर्व्यवहार दुई जनाको जिल्ला अस्पताल बाजुराले उपचार गरी विभिन्न संघसंस्थाको सहयोगमा तालिम तथा आवस्यक सिप सिकाएर स्वरोजगार बनाएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताए ।
विशेषगरी जिल्लाका प्राय महिलाहरु कुनै न कुनै रुपमा घरेलु तथा सामाजिक हिंशाबाट प्रभावित छन् । उनीहरुको सहज उपचार लगायत कानुनी तथा सुरक्षा प्रत्याभूती दिलाउन जिल्ला अस्पताल बाजुरामा सञ्चालित ओसि एम सी सेवा पछिल्लो समयमा प्रभावकारी बन्दै गएको हो । २०७३ साल देखि स्थापना भएको उक्त केन्द्रमा जिल्लाका नौं वटै पालिकाका हिंसा पीडित महिलाहरु आउने गरेका छन् ।
उनीहरुको गाँस,बाँस, कपास र सुरक्षा सहित निःशुल्क स्वास्थ्य उपचार र सीपमूलक तालिम दिलाएर कतिपयको पुनर्मिलन भएको छ भने कतिपय महिला स्वरोजगार भएर आत्मनिर्भर बनेका छन् । ओसीएमसिले आवश्यक सुरक्षा सहित निःशुल्क स्वास्थ्य उपचार, मनोसामाजिक विमर्श कानुनी सल्लाह तथा सिपमूलक निःशुल्क तालिम सहितको व्यवस्था गर्दै आएको जनाएको छ ।
अहिले बाजुराका ९ वटै पालिका लगायत छिमेकी जिल्लाका हिंसा प्रभावित महिला जिल्ला अस्पताल ओसीएमसी कक्षमा सेवा लिन आउँछन् । हिंसा पीडित महिलाहरुलाई निःशुल्क उपचार तथा स्वरोजगारमूलक तालिम दिएर आत्मनिर्भर बन्दै गएका छन् सहजकर्ता रोकायाले बताइन् । सेवा प्रबाह प्रभाकारी भएसंगै उपचार गराउन आउनेको संख्या पनि उल्लेखनीय रुपमा वृद्धि भएकोे छ उनले भनिन् ।
हिंसाका विभिन्न प्रकार हुन्छन् अस्पतालको रेकर्डमा शाररिक दुर्व्यवहार, जवरजस्ती करणी, स्रोत साधनबाट बञ्चित, मानसिक दुर्व्यवहार लगायतका हिंसाजन्य घटानाबाट बढि प्रभावित भएको देखिन्छ, जिल्ला अस्पताल प्रमुख डाक्टर यादवको भनाई छ । यस्ता घटना न्युनिकरण गर्न सर्बप्रथम बाल तथा अनमेल विवाह रोक्नु आवस्यक छ । पढ्ने लेख्ने उमेरमा अथार्त १२–१५ वर्षको कलिलो उमेरमा विवाह गर्छन । अनमेल तथा बहुविवाह र जातीय विभेदका घटना पनि देखिन्छन् ।
लहलहैमा लागेर कलिलो उमेर बिबाह गर्ने पछि पछुताउनु पर्ने हुन्छ हिंसाको जरो उखेल्नुपर्ने देखीएको उनको भनाई रहेको छ । जिल्ला अस्पताल ओसीएमसी कक्षमा सुरक्षा, मनोपरामर्श सेवा देखि उचित पालपोषण सहित सिपमुलक तालिम दिईने हुंदा महिला आत्मनिर्भर पनि बन्दै गएपछि सेवा प्रभावकारी भएको डाकटर यादवले बताए । घरेलु हिंसा न्युनिकरण गर्न जनचेतामुलक कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्ने र दोषीको वचावट हैन, कानुनी कारवाही गर्नुपर्छ अनिमात्र घरेलु हिंसाजन्य अपराध न्यून हुन्छन् डाक्टर यादवको सुझाव छ ।
के हो ओसीएमसी कार्यक्रम ?
लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले लागू गरेको कार्यक्रम हो अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कार्यक्रम । लैङ्गिक हिंसा पीडित वा प्रभावितहरूलाई आवश्यक सबै सेवा जतिसक्दो चाँडो एकद्वार प्रणालीबाट उपलब्ध गराउने यो कार्यक्रमको मुख्य उद्देश्य हो ।
ओसीएमसी कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९ र अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना सञ्चालन निर्देशिका २०७७ जारीसमेत गरिसकेको छ ।
समस्या र चुनौति :
ओसिएमसी कार्यक्रमलाई विस्तार गर्दै लैजानुका साथै सुदृढीकरण गर्दै लैजान आवश्यक छ । यो कार्यक्रममा काम गर्न चाहने धेरै गैरसरकारी संस्थाहरु पनि धेरै हुनुहुन्छ । र, गैससहरुले सहयोग पनि गरिरहेका छन । सरकारको आफ्नै पुर्नस्थापना केन्द्र नभएका कारण अल्पकालीन, दीर्घकालीन पुर्नस्थापना केन्द्रमा राख्नुपर्दा कति अप्ठ्यारो भइरहेको छ ।
यो कार्यक्रमलाई न्यायले, सुरक्षा निकायले, गैर सरकारी संस्थाले उत्तिकै महत्वपूर्ण रुपमा हेर्नुपर्ने देखीएको छ । एकीकृत सेवा दिने कुरा नै सबैभन्दा ठूलो चुनौती रुपमा छ । एकीकृत सेवाका लागि आवश्यक पर्ने जनशक्ति, बजेटले समस्या रहेको पाइएको छ ।
समुदायमा एकद्वार संकट ब्यवस्थापन केन्द्रका बारेमा कम मात्र जानकारी छ । पीडितहरु एकदम कम संख्यामा मात्र सिधै एकद्वार संकट ब्यवस्थापन केन्द्रमा आवस्यक सेवाका लागि आइपुग्छन् र केन्द्रका कर्मचारीहरु अस्पतालमा नै सीमित छन् । केन्द्रका कर्मचारीहरुको योगदानले लैङ्गिक हिंसाबाट पीडितहरुको जीवनमा ल्याएका सकारात्मक परिवर्तनको पहिचान गर्दै यस अध्ययनले उजागर गरेका घटनाहरुको ब्यापकता र चुनौतीलाई यो अध्ययनले प्रतिबिम्बित गरेको छ । लैङ्गिक हिंसाको समाधान गर्न हरेक तहमा सरकारको दिगो प्रतिबद्धताको साथै बहुपक्षीय प्रयासको आवश्यकता छ ।
लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना, २०१० तथा लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९ को मर्म अनुसार ओसीएमसी स्थापना गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मुख्य कार्यान्वयन निकायको रूपमा रहने गरी केन्द्रीय तथा जिल्ला अस्पतालहरुले यस्ता सेवा दिइरहेका छन् । ओसीएमसीले हिंसाबाट प्रभावितलाई उपचार, मनोपरामर्श सेवा उपलब्ध गराउनुको साथै आवश्यक कानुनी परामर्श, सुरक्षा तथा आवास सेवाका लागि सहजीकरण गर्छ । राज्यले प्रदान गरेका अन्य सेवामा प्रभावितको पहुँच पुर्याउन पनि सहयोग गरिरहेको छ । कतिपय जिल्लामा स्वास्थ्य मन्त्रालय अर्न्तगत जिल्ला स्थित अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरेर हिंसा प्रभावित, बालिका, किशोरी तथा महिलाहरुलाई सेवा दिँदै आएको छ ।