• होमपेज
  • शिक्षा
  • शिक्षकहरु सहभागी नहुने भएपछि खप्तड छेडेदहमा ग्रेडवृद्धि परीक्षा स्थगित

शिक्षकहरु सहभागी नहुने भएपछि खप्तड छेडेदहमा ग्रेडवृद्धि परीक्षा स्थगित

  • बिहिबार, बैशाख ४, २०८२
शिक्षकहरु सहभागी नहुने भएपछि खप्तड छेडेदहमा ग्रेडवृद्धि परीक्षा स्थगित

बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकाले आधाभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित गरेको छ । ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भन्ने पालिकाको निर्णय पछि शिक्षक कर्मचारीहरुले सहभागी नहुने बताएपछि परीक्षा स्थगित गरिएको हो ।

पालिकामा बुधवार बसेको बैठकले यहीँ बैशाख ५ गतेदेखि तोकिएको ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
बुधवार खप्तड छेडेदह गाउँपालिका अन्तर्गत नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल विद्यालय कर्मचारी परिषद्ले संयुक्त विज्ञप्ति जारी गर्दै परीक्षा लगायतका कुनै पनि शैक्षिक गतिविधिमा संलग्न हुने बताएका छन् । त्यस्तै विज्ञप्ति मार्फत शिक्षा क्षेत्र सम्बन्धित कसैले पनि सो कार्यमा संलग्न नहुन र शिक्षकहरुको ऐतिहासिक आन्दोलनमा समर्थन गर्न आग्रह गरेको छ ।

खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले कतिपय विद्यार्थीहरु परीक्षाका लागि पालिका पुगिसकेका भन्दै ग्रेडवृद्धि परीक्षा गर्ने निर्णय भएको बताए । उनले शिक्षकहरु सामेल नहुने भने पछि परीक्षा स्थगित गरिएको जानकारी दिए ।

शिक्षक तथा कर्मचारीहरुले विद्यालय शिक्षा ऐन जारीको माग गर्दै लगातारको आन्दोलनको प्रभाव विद्यार्थी भर्ना अभियानसँगै परीक्षामा पनि परेको छ । यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरुको आन्दोलनले बाजुरा जिल्लाका प्रायः सबै पालिकाहरुमा ग्रेडवृद्धि परीक्षा प्रभावित भएका छन् ।

चैत्र महिनाको मध्यपछि आधारभूत तह कक्षा ५ र ८ को बार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेर यहीँ बैशाख पहिलो सातामा ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने सबै पालिकाहरुको कार्यक्रम छ । तर शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेर काठमाडौं केन्द्रीत सडक आन्दोलनका कारण स्थानीय तहहरुले सो परीक्षा सञ्चालन गर्न नसकिने जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार