बाजुरा—विद्यालय शिक्षा ऐन जारीको माग गर्दै आन्दोलनरत शिक्षक कर्मचारीहरुको कारण बाजुरा पनि आजबाट सुरु भएको भर्ना अभियान प्रभावित भएको छ । आफूहरूसँग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग सहितको आन्दोलनले जिल्लाका प्रायः सबै सामुदायिक विद्यालयमा भर्ना अभियान प्रभावित बनेको हो ।
जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ५ स्थित भनोदय माध्यमिक विद्यालयले आज एक सूचना जारी गर्दैै भर्ना अभियान लगायतका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ । शिक्षक कर्मचारी आन्दोलनले सिर्जना गरेको शैक्षिक हड्तालको विषम परिस्थितीका कारण अर्को सूचना जारी नभएसम्म सबै कार्यक्रम स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।
यस विषयमा बुढीगंगा नगरपालिका शिक्षा शाखा प्रमुख जयराज न्यौपानेले भानोदय मावि झै पालिकाका सबै विद्यालयहरुमा आन्तरिक कामकाज बाहेक सम्पूर्ण कार्यक्रम रोकिएको बताएका छन् । उनले यहीँ बैशाख ४ र ५ गतेका लागि तोकिएको आधारभूत तह कक्षा ५ र ८ को ग्रेडवृद्धि परीक्षा समेत आन्दोलनले प्रभावित भएको बताए ।
त्यसैगरी हिमाली गाउँपालिकाको भवानी माध्यमिक विद्यालयले पनि सूचना जारी गर्दै भर्ना अभियान लगायतका कार्यक्रम स्थगित गरिएको जनाएकाे छ ।
त्यस्तै जिल्लाका अन्य पालिकाहरुले भने भर्ना अभियान स्थगितको बिषयमा अहिलेसम्म विद्यालयबाट कुनै पनि जानकारी नआएको बताएका छन् ।
विगतका वर्षहरूमा तीनै तहका सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएकोमा तर यो पटक भने भर्ना अभियान अन्योल बन्ने भएको छ । किनकि प्रमुख अभियानकर्ता शिक्षक तथा विद्यालय कर्मचारीहरू १४ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत छन् ।
त्यस्तै नेपाल शिक्षक महासंघले विद्यार्थी भर्ना अभियानमा सहभागी नहुने, कक्षा १२ को परीक्षा कार्यक्रममा सहभागी नहुने, एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय समेत गरेको छ ।