बाजुरा– शिक्षक तथा कर्मचारीहरुले विद्यालय शिक्षा ऐन जारीको माग गर्दै लगातारको आन्दोलनको प्रभाव विद्यार्थी भर्ना अभियानसँगै ग्रेडवृद्धि परीक्षामा पनि परेको छ । यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरुको आन्दोलनले बाजुरा जिल्लाका प्रायः सबै पालिकाहरुमा ग्रेडवृद्धि परीक्षा प्रभावित भएका हुन् ।
चैत्र महिनाको मध्यपछि आधारभूत तह कक्षा ५ र ८ को बार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेर यहीँ बैशाख पहिलो सातामा ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने सबै पालिकाहरुको कार्यक्रम छ । तर शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेर काठमाडौं केन्द्रीत सडक आन्दोलनका कारण स्थानीय तहहरुले सो परीक्षा सञ्चालन गर्न नसकिने जनाएका छन् ।
मंगलबारदेखि जिल्लाका सामुदायिक विद्यालयहरु धमाधम भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित गरी रहेका छन् भने आजबाट पालिकाहरु ग्रेडवृद्धि परीक्षा स्थगित गर्न थालेका छन् । जिल्लाका संस्थागत विद्यालयहरुले धमाधम भर्ना लिई रहेपनि सामुदायिक विद्यालयहरुले भने शिक्षक आन्दोलनका कारण अर्को सूचना जारी नहुँदासम्म सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित गरेका छन् ।
यसैविच बुढीगंगा नगरपालिकाले यहीँ बैशाख ४ र ५ गतेका लागि तोकेको आधारभूत तह कक्षा ५ र ८ को ग्रेडवृद्धि परीक्षा स्थगित गरेको जनाएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख जयराज न्यौपानेले शिक्षक कर्मचारीहरुको आन्दोलनका कारण अर्को सूचना जारी नहुँदासम्म परीक्षा स्थगित गरेको बताएका छन् ।