बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाचार
  • पाँच महिनादेखि तलब कुर्दै बझाङ जयपृथ्वी नगरपालिकाका कर्मचारी

पाँच महिनादेखि तलब कुर्दै बझाङ जयपृथ्वी नगरपालिकाका कर्मचारी

  • शुक्रबार, जेष्ठ २६, २०८०
पाँच महिनादेखि तलब कुर्दै बझाङ जयपृथ्वी नगरपालिकाका कर्मचारी

अर्थ जङ्ग शाही/बझाङ– बझाङको जयपृथ्वी नगरपालिका भित्रका स्वास्थ्यकर्मीले विगत पाँच महिनादेखि तलव पाएका छैनन् । नगरपालिका भित्र सञ्चालित स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले पाँच महिनादेखि तलब नपाएका हुन् । स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, र सहरी स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन् । सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका संयोजक नयन बहादुर सिंहले बताए ।

स्वास्थ्यकर्मीले गत माघ महिनादेखि नेपाल सरकारका करिब ४० जना कर्मचारी एवं स्वास्थ्यकर्मीले तलब नपाउँदा पनि स्वास्थ्य सेवामा कुनै गुनासो आउन नदिने गरी काम गरिरहेको उनले बताए । नगरपालिकाले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीले भने नियमित तलब पाइरहेका छन् । सिंहले भन्नुभयो, ‘एउटै कार्यालयमा नगरपालिकाले करारमा नियुक्त गरेका कर्मचारी एवं स्वास्थ्यकर्मीले नियमित तलब पाइरहने तर नेपाल सरकारको तर्फबाट तलब खाने स्वास्थ्यकर्मी भने पाँच महिनादेखि तलब नपाउँदा कर्मचारीको घर व्यवहार चलाउन समस्या परेको छ । हामीले मन्त्रालयमा परिपत्र गरेका छौ । असारमा बजेट आउने कुरा त भएको छ ।’

जयपृथ्वी नगरपालिका—१ कैलासमा रहेको कैलास स्वास्थ्यचौकीमा कार्यरत अहेव धिरेन्द्र बहादुर खड्काले माघ महिनादेखि तलब नपाएको गुनासो गरेका छन । भोको पेट काम गर्न नसकिने भन्दै उहाँले सरकारले स्वास्थ्यकर्मीलाई बेवास्ता गरेको आरोप लगाए ।  ‘सरकारले पैसा नपठाउँदा बिनापारिश्रमिक काम गर्न परिरहेको उनले बताए । धेरै पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान भएन ।’ आफूहरूको समस्यामा नगरपालिका समेत बेखबर बनेको उनको भनाइ छ ।

नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष दिनेश धामीले नेपाल सरकारले ५ महिनासम्म तलब नदिएर स्वास्थ्यकर्मीमाथि अन्याय गरेको बताए । पटक–पटक सम्बन्धित निकायमा जानकारी गराउँदासमेत समस्याको सुनुवाइ नभएको उनकाे भनाइ रहेकाे छ । उनले भने, ‘नगरपालिकाका करारका कर्मचारीले तलब खाने नेपाल सरकारका कर्मचारीले तलब खान नपाउने यो कस्तो खालको नियम हो । कर्मचारीले भोको पेट कहिलेसम्म काम गर्ने ? सरकारले हामीहरूलाई अन्याय गरेको छ ।’

नगरपालिकाको लेखा शाखाले भने बजेट सकियो भनेर सरकारले थप रकम नपठाएका कारण तलब खुवाउन नसकेको जानकारी दिएको छ । नगरपालिका लेखापाल कुम्भबहादुर खातीले सरकारबाट रकम नआएका कारण तलब खुवाउन नसकेकोबताए । तलब खुवाउनु बाँकी रकमको माग गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिरहेको जानकारी दिँदै उहाँले तलबका लागि रकम निकासा भएर नआउँदा तलब खुवाउन नसकेको बताए । उनले भने,‘स्वास्थ्यकर्मीले मात्रै होइन हामी निजामती सेवा तर्फकाले पनि तलव पाएका छैनौ । करार कर्मचारीले पाएका छन् । हामीले पाएका छैनौ ।’

चर्चामा

सम्बन्धित समाचार