• होमपेज
  • कभर स्टोरी
  • पीरमा छन् पुरुष पनि

पीरमा छन् पुरुष पनि

  • शनिबार, साउन २१, २०७९
पीरमा छन् पुरुष पनि
सुमित्रा लुइटेल
  सुमित्रा लुइटेल

बुटवलका सुमन थापा (नाम परिवर्तन) श्रम भिसामा लामो समय कोरिया बसेर घर फर्किए, बाँकी जीवन परिवारका साथ बिताउने निधो गर्दै ।

तर स्थिति उनले सोचेजस्तो रहेन । घर फर्किएदेखि नै श्रीमती तर्किएर हिंड्न थालिन् । यसो भन्दै, ‘मलाई माता चढेको छ, देवता चढेको मान्छेसँग यौन सम्पर्क गर्नु हुँदैन ।’

यही निहुँमा उनीहरुबीच मनमुटाव हुन थाल्यो । दिनहुँजसो आमाबुवाको झगडाले सानी छोरीको बिजोग हुने नै भयो । अन्ततः थापाले निर्णय गरे, ‘यसरी कलहमै जीवन बिताउनुभन्दा सम्बन्ध विच्छेद गर्नु उत्तम हुन्छ ।’

उनले जिल्ला अदालतमा सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गरे । तर श्रीमतीलाई यो सर्त मञ्जुर भएन । उनले श्रीमानसँग निकट पनि हुन नचाहने र सम्बन्ध विच्छेद पनि गर्न नचाहने अडान लिइन् ।

आफन्त वा प्रियजनको मृत्युमा समेत पुरुषलाई रोएको सुहाउँदैन भन्ने गरिन्छ । त्यसैले पुरुषहरु आफ्नो आँसु लुकाउने प्रयत्न गर्छन्, खुलेर कुरा गर्दैनन् ।
श्रीमतीको व्यवहार अनौठो लागेपछि श्रीमानले उनीमाथि निगरानी राख्न थाले । आखिर श्रीमती होटलमा अर्कै पुरुषसँग बस्ने गरेको उनले मेसो पाए । ‘श्रीमती परपुरुषसँग बसेकी हुनाले छानबिन गरिपाऊँ’ भनी उनले प्रहरीमा उजुरी दिए । तर प्रहरीले उनको उजुरी दर्ता गरेन । प्रहरीले भन्यो, ‘बहुविवाहको जाहेरी लिएर महिला आएको भए जाहेरी लिन मिल्थ्यो पुरुषको हकमा लिन मिल्दैन ।’

०००

देवराज गुरुङ (नाम परिवर्तन) १७ वर्षको उमेरमा भारतीय सेनामा भर्ना भएका थिए । ३७ वर्षको उमेरमा उनले सेवाबाट अवकाश पाए । यतिबेलासम्म उनको घरजम भइसकेको थियो । उनी जवान नै थिए, त्यसैले रोजगारका लागि मकाउ गए । मकाउमा रहँदा उनी घर आउनेजाने गरिरहन्थे ।

लामो समय मकाउ बसेर उनी घर फर्किए । घर फर्किए लगत्तै श्रीमान र श्रीमतीबीच ठाकठुक पर्न थाल्यो । दुई हप्तापछि श्रीमतीले सम्बन्ध विच्छेदका लागि मुद्दा हालिन् ।

गुरुङले मिलापत्रका लागि अनेक प्रयत्न गरे । यद्यपि श्रीमती जसरी पनि सम्बन्ध विच्छेद गरेरै छाड्ने भइन् । त्यसका लागि उनले एक करोड ५० लाख रुपैयाँ नगद पाउनुपर्ने दाबी गरिन् । विदेशमा छँदा पनि गुरुङले श्रीमतीको नाममा पैसा पठाइरहन्थे । त्यसको कुनै हिसाब–किताब रहेन । आखिर परदेशमा दुःखजिलो गरेर कमाएको पैसा सम्बन्ध बनाउन होइन, तोड्नमा खर्च भयो ।

०००

घरव्यवहार मिलाउने, छोरीलाई राम्रो शिक्षादीक्षा दिने मनसायले काठमाडौंको अमृत लामा दुबई उडे । दुबई पुगेको ६ महिनासम्म पारिवारिक जीवन ठीकठाक थियो । उनले बेलामौकामा श्रीमतीलाई पैसा पठाउँथे । त्यही पैसाबाट श्रीमतीले कपडा पसल खोलिन् ।

कपडा पसल सुरु गरेपछि श्रीमती त्यतै व्यस्त भइन्, उनीहरुको फोन कुराकानी पातलिंदै गयो । आफू छोरीको पढाइका लागि विदेश आएको र श्रीमतीले पनि अन्यत्रभन्दा छोरीको ध्यान दिओस् भन्ने उनको अपेक्षा थियो । यही कुरामा उनीहरुबीच बेलाबेला फोनमै झगडा पथ्र्यो ।

आफूले श्रीमतीलाई सम्झाइबुझाइ गर्दा उनले ‘म तेरो छोरी हेरेर बस्न सक्दिनँ, आएर लैजा तेरो छोरी’ भन्ने गरेको लामा बताउँछन् ।

पाँच वर्षसम्म बस्ने मनस्थिति बनाएर दुबई पुगेका उनी एक वर्षपछि नै नेपाल फर्किए । तर घरमा आउँदा न श्रीमती थिइन्, न छोरी नै । श्रीमतीले छोरीलाई एक आफन्तकहाँ छाडेर गएछन् । ‘म आउनु अघिल्लो दिन नै उनी अर्कै केटासँग भागिसकेका रहेछन्,’ लामा सुनाउँछन्, ‘छोरीलाई त्यस्तो बेहाल बनाएको रहेछ । मलाई देख्नासाथ छोरी छातीमा टाँसिएर खुब रोई ।’

अक्सर पारिवारिक वा घरेलु हिंसामा महिला पीडित हुने गरेको घटना सतहमा आउँछन् । हरेक दिन जस्तो कुनै न कुनै घरेलु हिंसाबाट महिला प्रताडित हुने गरेका छन् । पितृसत्तात्मक समाजमा कति महिला हेपिएका छन्, कति महिला मारिएका छन् ।

तर यस्तो हिंसामा महिला मात्र पीडित छैनन्, कतिपय पुरुष यस्तै दुष्चक्रमा पेलिएका छन् । यद्यपि पीडा लुकाउने पुरुष–प्रवृत्तिका कारण थुप्रै घटना सतहमा आउँदैन ।

सबैजसो देशको कानुन ‘महिलामैत्री’ रहेको र त्यसै कानुनलाई गलत रुपमा प्रयोग गर्दै कति महिलाले पुरुषमाथि हिंसा गरिरहेको अधिवक्ता वेदबहादुर विष्ट बताउँछन् । ‘कानुनमा समस्या होइन,’ उनी भन्छन्, ‘तर धूर्त महिलाले यसैलाई हतियार बनाएर पुरुषमाथि हिंसा गरिरहेका छन् ।’

पछिल्लो समय वैदेशिक रोजगारीले यस्ता प्रवृत्तिलाई बढावा दिएको उनी बताउँछन् । धेरैजसो पुरुष वैदेशिक रोजगारीमा जाने र घरव्यवहारको जिम्मा महिलालाई सुम्पने गरेको पाइन्छ । पुख्र्यौली ऋण तिर्ने, आमाबुवाको उपचार गर्ने, घरव्यवहार मिलाउने, बालबच्चालाई राम्रो शिक्षादीक्षा दिने सपना बोकेर विदेशिएका युवाहरु घर फर्कंदा सबै भताभुंग भइसकेको हुन्छ ।

वैदेशिक रोजगारीमा गएका युवाहरुले श्रीमतीको नाममा पैसा पठाउने तर त्यसको सही सदुपयोग नहुँदा उनीहरुबीच मनमुटाव हुने गरेको छ ।

‘आफूले पठाएको पैसाले ऋण चुक्ता नगरेको, छोराछोरीको विद्यालय शुल्क नबुझाएको, बचत नगरेको पाइएपछि त्यसको हिसाबकिताब खोज्नु स्वभाविक हो,’ अधिवक्ता विष्ट भन्छन्, ‘यसरी हिसाब खोज्न थालेपछि श्रीमतीले सम्बन्ध विच्छेदको धम्की दिने वा अर्कैसँग भाग्ने प्रवृत्ति व्यापक छ ।’

सम्बन्ध विच्छेद गर्न चाहेमा पुरुषले आफ्नो सम्पत्तिको आधा हिस्सा गुमाउनुपर्ने व्यवस्था छ । त्यसैले सम्बन्ध विच्छेदका लागि पुरुषभन्दा महिला नै अग्रसर भएको देखिन्छ । सामाजिक मान्यता पनि के छ भने लोग्नेमान्छे भएर रुनु हुँदैन । पुरुष भनेको दह्रो मनको हुनुपर्छ भनिन्छ । त्यसैले कति पुरुषले आफ्नो पीडा लुकाएरै बस्ने गरेका पाइन्छन् ।

‘पुरुषले हिंसाको बारेमा खुलेर कुरा नै गर्दैनन्,’ मनोविद डा. नरेन्द्र सिंह ठगुन्ना भन्छन्, ‘सकेसम्म घरबार मिलाउने नै कोशिश गर्छन् । केही नलागेपछि मात्र आजित भएर उनीहरु आफ्नो दुःख सुनाउने गर्छन् ।’

मनोविद् ठगुन्नाका अनुसार हाम्रो जुन यो पितृसत्तात्मक सोच भएको समाज छ त्यो समाजले पुरुषको एउटा चित्र बनाइदिएको छ । ‘त्यो चित्र अनुसार पुरुष बहादुर हुन्छ, ऊ रुनु हुँदैन, कमजोर हुनु हुँदैन भन्ने अपेक्षा गर्छ,’ मनोविद् ठगुन्ना भन्छन्, ‘त्यो अपेक्षालाई मैले जसरी भए पनि कायम राख्नुपर्छ भन्ने मानसिक दबाब पुरुषलाई हुन्छ । त्यसैले गर्दा पनि पुरुषमाथि हुने हिंसा महिलाको तुलनामा कम बाहिर आउने गरेको छ ।’

आफन्त वा प्रियजनको मृत्युमा समेत पुरुषलाई रोएको सुहाउँदैन भन्ने गरिन्छ । त्यसैले पुरुषहरु आफ्नो आँसु लुकाउने प्रयत्न गर्छन्, खुलेर कुरा गर्दैनन् । आफ्नो दुःख पोख्नुलाई कायरतासँग जोडिने भएकाले पनि पुरुष हिंसाको घटना सतहमा नआउने उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार