शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • अबको बाटो : गम्भीर होइन, विशेष फिल्म

अबको बाटो : गम्भीर होइन, विशेष फिल्म

  • मङ्लबार, असार १४, २०७९
अबको बाटो : गम्भीर होइन, विशेष फिल्म

काठमाडौं –‘कबड्डी ४’ले २८ दिनसम्म २२ करोड ४७ लाख रुपैयाँ ग्रस कमाउँदै सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान राख्यो । तर, यसको बक्सअफिस अंकगणित पछाडि लुकेको कारण र प्रभावलाई लिएर फिल्म पण्डितबीच डिस्कोर्स सुरु भएको छ ।

कतिपय विश्लेषक बक्सअफिस सफल हुँदैमा त्यसलाई विशेष फिल्म मान्न नसकिने तर्क गर्दैछन् । मानकबिनाको सफलता घरेलु फिल्मको भविष्यको लागि दुर्भाग्यपूर्ण हुने उनीहरुको जिकिर छ ।

सबै कीर्तिमान तोड्दै फिल्मले एकपछि अर्को रेकर्ड राखिरहँदा घरेलु फिल्मको भविष्य र सम्भावित ‘मास डिफाइन’लाई लिएर बहस सुरु हुँदैछ । बहसको एकातिर मेनस्टि्रम फिल्ममेकर छन् भने अर्कोतिर नयाँ कथ्य परम्परामा विश्वास राख्नेहरु ।

फिल्मको चौंथो सिरिजले जति पैसा कमायो, उति नै अर्को कोणबाट आलोचना पनि । यस्तोमा, ‘कबड्डी ४’ले निर्माण गरेको भाष्य के त ? व्यवसायिक सफलता वा कथ्यमा निर्माण गरेको कुनै सिनेम्याटिक मानक ? निर्विवाद के हो भने, दृश्यभाषाको सौन्दर्य शाष्त्रमा ‘कबड्डी ४’ले ‘मास डिफाइन’ फिल्म बन्ने अवसर गुमाएको छ । जुन अवसर दश वर्षअघि छक्कापञ्जाले निर्माण गरेको थियो ।

भन्नुको अर्थ जुन कथ्य विन्यास र संरचनाको ‘आर्क’ छक्कापञ्जाले स्थापना गरिदिएको थियो, सोही अनुसार नै पछिल्ला ब्लकबस्टर फिल्म निर्माण भैरहेका छन् । अहिले व्यवसायिक सफल भनिएका फिल्म संरचनाको त्यही ब्याकरणभित्र प्याकेज भएका नयाँ संस्करण मात्र हुन् ।

हिट हुन मानक जरुरी नभएकै हो ?

अबको एकमात्र बाटो भनेकै, मानक निर्माण हुने फिल्म नै हो । जस्तो बनाएपनि चल्छ भन्ने प्रवृत्तिले विशेष फिल्म निर्माण हुन सकिरहेको देखिँदैन
‘कबड्डी ४’ले पैसा कमाउनेबाहेक कुनै कोण -कथ्य, चरित्र, मनोविज्ञान, सन्देश)को पक्षमा न्यारेटिभ स्थापना गर्न सकेन । बरु, मानकबिनाका फिल्म पनि सफल हुनसक्छन् भन्ने सन्देश यसले दिएको छ । किनभने प्रत्येक सफलताले कुनै न कुनै पद्चाप छाडेकै हुन्छ । कबड्डी सफल त रह्यो तर विशेष हुनसकेन । नेपाली दृश्यभाषाको यो म्याराथनमा विशेष फिल्म उत्पादन हुनु दुर्लभ अवसर हो ।

अर्को कोणबाट, नेपाली फिल्मका दर्शकको सिनेम्याटि्रक लिटरेसी वृद्धि नभैसकेको बुझ्न सकिन्छ । छक्कापञ्जा निर्माणको दश वर्षमा पनि नेपाली फिल्मको बजार त्यही अस्पष्टता र त्यो संरचनाभन्दा माथि छैन भन्ने पुष्टि भएको छ । हामीले छक्कापञ्जा रिलिजको बेलामा जे प्रश्न गरेका थियौं, आज पनि त्यही नै छ । बरु, फिल्मको सफलतामा कुनै विशेष गुण नचाहिने देखियो । आर्थिक कोणबाट उद्योगलाई चलायमान बनाउन भूमिका त खेल्यो तर, फिल्मको आधारभूत सर्त कला नै हो ।

विदेशी बजारमा कुनैपनि फिल्म सफल हुनुपछाडि त्यसको मानक हुनुलाई ठानिन्छ । तर, नेपालमा ब्लकबस्टर फिल्ममा त्यो मानकको पूर्णतः अभाव देखिन्छ । के यसको अर्थ, नेपाली फिल्मलाई कुनै विशेष गुण नचाहिने हो ? के नेपाली फिल्मको सफलता बक्सअफिस गणित मात्र हो त ? के हामी छक्कापञ्जाभन्दा पनि कमजोर फिल्मको मानकविहीन सफलताको संघारमा प्रवेश गरेका हौं ? प्रश्न सुरु भएका छन् ।

साथै, नेपाली दर्शकले कुनै विशेष फिल्म खोजिरहेका छैनन् बरु उनीहरु ‘मेडिकोर’ मनोरञ्जनमै रमाइरहेका छन् । यो ट्रेन्ड अझ कैयन वर्ष निरन्तर हुने प्रक्षेपण गर्न सकिन्छ किनभने, छक्कापञ्जा शैली र संरचनालाई धक्का दिने गरी निकट भविष्यमा कुनै फिल्म निर्माणको तयारी भएको देखिँदैन ।

चिसो मान्छे, राधा, दोख, प्रकाशजस्ता फिल्मले आफूलाई विशेष फिल्मको रुपमा स्थापित गर्न प्रयत्न त गर्नेछन् तर, उनीहरु परीक्षामा पास भैसकेका छैनन् । पशुपतिप्रसाद र आमाजस्ता हिट फिल्म दिइसकेका दीपेन्द्र के खनालको चिसो मान्छेलाई बक्सअफिसमा लागेको अनपेक्षित धक्काको सन्देश निकै गम्भीर छ ।

ग्ल्यामरपछि अब यथार्थवाद बेच्ने होड

कोभिड महामारीपछि दर्शकको सिनेम्याटिक मुड बदलिएको छ र उनीहरु गम्भिरभन्दा इस्केप्टिक (पलायनवादी) फिल्मतर्फ आकषिर्त भएका छन् भन्ने सन्देश चिसो मान्छेलाई लागेको धक्काबाट अनुभूति गर्न सकिन्छ । जसरी, दोस्रो विश्वयुद्धपछि हलिउडले तत्कालीन समयको पीडाबाट भुलाउन दर्शकलाई इस्केप्टिक फिल्म पस्किएको थियो । हलिउडको त्यो न्यारेटिभ शैली अहिले पनि संसारभर सुपरहिरो फिल्मको रुपमा चर्चित छन् ।

यहाँनेर, जबर्जस्त प्रश्न उठ्छ : कतै यथार्थवादी फिल्म बनाउने चक्करमा कमजोर फिल्म त निर्माण भैरहेका छैनन् ? सिनेमा रियालिज्म भन्ने कुरालाई बेवास्ता गर्दै यथार्थवादी फिल्म बनाउने प्रयास भएका छन् र यस्ता फिल्म सिनेम्याटिक हुन चुकिरहेका छन् । कथा र यसको प्रस्तुतीकरणमा जुन किसिमको यथार्थवाद हुनुपर्छ भनेर नवीन सुब्बा, छिरिङरितार शेर्पा र मनोज पण्डितहरुले वकालत गरे, त्यसको एक दशक नबित्दै त्यो यथार्थपरक फिल्म निर्माणको अभियान संकटमा परेको देखिन्छ ।

एक वाक्यमा, अहिलेको प्रमुख विडम्वना ‘यथार्थवाद नै फिल्मको व्याकरण’ भैदिनु हो । जसले गर्दा पछिल्लो पटक निर्माण भएका यथार्थपरक भनिएका फिल्मले एकपछि अर्को गरी दर्शकलाई अवसाद तुल्याएका छन् । हिजो जसरी ग्ल्यामर बेच्न मेकरले आफूलाई अघि सारे, अहिले रियालिज्म बेच्ने होड सुरु भएको छ ।

यस्तो लाग्छ, रियालिज्मको ग्ल्यामर बेच्ने ट्रेन्ड त सुरु भएको छ तर, समयले कुन कुरालाई ग्ल्यामर मान्छ भन्ने सापेक्षता धेरै निर्देशकले नबुझेको देखिन्छ । हिजो जुन प्रेम, मेलोड्रामा र नाचगानलाई ग्ल्यामर मानिन्थ्यो, आज रियालिज्मलाई ग्ल्यामर मान्न थालिएको छ । अन्ततः यसले सिनेमा साहित्यलाई नै कमजोर तुल्याइरहेको छ । यति मात्र होइन, दृश्यभाषाप्रति इमान्दार हैन बरु बजारमा के बिक्री हुन्छ भन्ने कुराको पछाडि मेकर कुदेको देखिन्छ ।

गम्भीर होइन, विशेष फिल्मको आवश्यकता

पछिल्लो दशकमा नेपालमा दुईथरी फिल्म बनिरहेका छन् । एउटा व्यवसायिक सफल र अर्को यथार्थवाद पोतिएका । तर, कुनैपनि फिल्म विशेष किसिमको निर्माण हुन सकेको छैन । कुनै कारण र कुनै गुण बोकेको विशेषता बोकेको फिल्म नहुँदा यसले मौलिक पहिचानमा दृश्यभाषा निर्माणको दौडलाई धीमा तुल्याइदिएको छ । बलिउडले आमिर खान स्टारर ‘लगान’पछि अहिलेको ‘शमशेर’सम्म ऐतिहासिक कथावस्तुमा आधारित विशेष फिल्म निर्माण थालेको छ ।

केजीएफ, आरआरआर र पुष्पा फिल्म मात्र हैनन्, यिनीहरुले पात्र, कथावस्तु, द्वन्द्व र स्टाइलमा विशेष गुण बोकेका थिए । पछिल्लोपटक हलिउडले सुपरहिरो र मानवीय संवेदनालाई जोड्ने क्राफ्ट निर्माण गरिरहेको छ । महाशक्ति राष्ट्र अमेरिकी मूल्यलाई हलिउडले बलियो दृश्यभाषामार्फत संसारभर बेचिरहेको छ । कथ्य, शिल्प, चरित्र र संवेदनाका हिसाबले यहाँ विशेष गुण निहित छ ।

फिल्म विशेष कथावाचनले मात्र हुने होइन । फिल्मले बोकेको विशेष गुण र फिल्ममा स्थापित न्यारेटिभले यसलाई ब्याख्या गर्ने हो । तर, पछिल्लो समय नेपाली फिल्म जोडजाड, ट्वाक्कटुक्क र चटपटे शैलीमा बनिरहेका छन् । अझै बिडम्बना पछिल्लो समय नेपाली फिल्ममा कथाको संकट सुरु भएको छ । कतिपय फिल्म सेटिङमै सकिने पनि गरेका छन् । जहाँबाट फिल्म सुरु हुनुपर्ने हो, त्यहीँ फिल्म समाप्त हुने विडम्बना यतिबेला छ ।

फरक फिल्म बनाउने नाममा मेडिकोर फिल्म निर्माणलाई नै महत्व दिँदा विशेष फिल्मको जरुरी ओझेलमा परेको छ । मुख्यतः यतिबेला नेपाललाई चाहिएको विशेष फिल्म हो । जुन गुणमा टेकेर छिमेकी देश भुटान ओस्करमा पुगिसक्यो र दक्षिण कोरियाको दबदबा अहिले संसारभर फैलिएको छ ।

कलात्मक फिल्म बनाए मात्र विशेष हुने होइन । व्यवसायिक कोणबाट निर्माण गरिएका फिल्ममा पनि त्यो गुण निर्माण हुनसक्छ । मुख्यतः फिल्ममेकर क्राफ्टप्रति इमान्दार बन्नुपर्‍यो र फिल्म ब्याकरणलाई पछ्याउनुपर्‍यो । उदाहरणको लागि अहिले बनिरहेको ग्याङस्टर जानराको फिल्मलाई विशेष तुल्याउँदा सहरिया ग्याङस्टर र गाउँले ग्याङस्टरको रुपमा विशेष बनाउन सकिन्छ । कतिपय भारतका क्षेत्रीय फिल्मले यस्तो शैलीलाई पछ्याएका छन् ।

अबको एकमात्र बाटो भनेकै, मानक निर्माण हुने फिल्म नै हो । जस्तो बनाएपनि चल्छ भन्ने प्रवृत्तिले विशेष फिल्म निर्माण हुन सकिरहेको देखिँदैन । ‘कबड्डी ४’ को सफलता नेपाली फिल्मको भविष्यको लागि एउटा ‘वेक अफ कल’ पनि हो । प्रश्न उठ्छ : ब्याज खाने मात्र फिल्म बनाउने कि विशेष फिल्म बनाउने ?

चर्चामा

सम्बन्धित समाचार