बिहिबार, जेष्ठ ५, २०७९
  • होमपेज
  • कभर स्टोरी
  • ‘एक्लै हुर्किएका बच्चा असामाजिक हुने डर हुन्छ’

‘एक्लै हुर्किएका बच्चा असामाजिक हुने डर हुन्छ’

  • सोमवार, बैशाख १९, २०७९
‘एक्लै हुर्किएका बच्चा असामाजिक हुने डर हुन्छ’

बढ्दो महंगी र बदलिंदो जीवनशैलीले गर्दा अहिले परिवारको आकारमा परिवर्तन आएको छ । पहिले जस्तो तीन-चार जना सन्तान जन्माउने चलन अहिले कमै छ । अहिले श्रीमान्-श्रीमती दुवै कामकाजी हुन्छन् । समय अभावका कारण र बच्चाको लालनपालनमा ध्यान दिन सजिलो होस् भनेर धेरै दम्पतीले अहिले एउटै सन्तानमा चित्त बुझाउन थालेका छन् ।

यसरी परिवारलाई खुम्चाएर एउटा सन्तान मात्र जन्माउँदा बच्चामा त्यसको साइड इफेक्ट पनि हुनसक्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । एक्लै हुर्किने बच्चामा मूलतः के कस्ता मनोवैज्ञानिक समस्या देखिन्छ ? एकल बच्चालाई कस्तो किसिमको अभिभावकत्व जरुरी हुन्छ ? यिनै विषयमा केन्द्रित रहेर मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नासँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी :

अहिले धेरै आमाबुवाले एकल सन्तान हुर्काइरहेका छन् । यसरी एक्लै हुर्कने बच्चाको मनोवृत्ति कस्तो पाउनुभएको छ ?

एकल बच्चामा समायोजनको समस्या बढी देखिएको छ । एक्लै हुर्कने बच्चामा जिद्दीपन पनि बढी हुने गर्छ । त्यस्तो बच्चाले अभिभावकबाट सम्पूर्ण सुख सुविधा पाएका हुन्छन् । यसरी हुर्किएका बालबालिकालाई परिस्थितिसँग सम्झौता गर्न गाह्रो हुन्छ । बच्चामा उनीहरूको सम्पूर्ण आवश्यकता पूरा गर्दा ठूलो भएपछि पनि उनीहरू त्यही चाहन्छन् । कुनै आवश्यकता पूरा हुन नसक्ने छ भने पनि उनीहरू सम्झौता गर्न सक्दैनन् । विभिन्न परिस्थितिसँग समायोजन गर्न नसक्ने मनोवृत्ति एक्लै हुर्कने बच्चाहरूमा देखिन्छ ।

    डा. नरेन्द्रसिंह ठगुन्ना

बच्चाले घरमा आफ्नो दौंतरी पाएका छैनन् । एक्लै खेल्नुपर्ने, एक्लै बस्नुपर्ने अवस्था छ । यसले उनीहरूमा कस्तो असर पारिरहेको हुन्छ ?

अभिभावकहरूले अहिले एक्लो बच्चालाई हुर्काउने जुन अभ्यास गरिरहेका छन् त्यसले उनीहरू समाजमा सजिलै घुलमिल हुन सकेका छैनन् । बालबालिकाको हरेक आवश्यकता पूरा गर्दिने, तर उनीहरूको लागि समय ननिकाल्ने जस्ता कुराले उनीहरूको सामाजिकीकरणमा समस्या भइरहेको छ । यसरी हुर्किएका बालबालिका साथीको समूह नै बनाउँदैनन् । साथीहरूको समूहमा संलग्न छन् भने पनि आफूले भनेको कुरा साथीहरूले नमान्दा उनीहरूसँग नमिल्ने, हीनताबोध र असामाजिक व्यवहारको विकास हुनसक्छ ।

विगतमा जस्तो हजुरआमा-हजुरबासँग रमाउन पाएका छैनन् । आमाबुबासँग पनि पर्याप्त समय छैन । बच्चाहरू घरमै वा विद्यालयमा नै धेरै समय व्यतीत गरिरहेका छन् । यसले उनीहरूमा कुनै मनोवैज्ञानिक असर पर्न सक्छ ?

कुनै बालबालिका हजुरबा-हजुरआमासँग हुर्किने मौका पाएका हुन्छन् भने उनीहरू भावनात्मक रूपमा बलियो हुन्छन् । यस्ता बालबालिका सजिलै रूपमा समाजमा घुलमिल हुन सक्छन्, जुनसुकै परिस्थितिमा पनि भिज्न सक्ने र विवेकी पनि हुन्छन् भनेर विभिन्न अध्ययनले देखाएका छन् ।

जुन बच्चाले अभिभावकसँग राम्ररी समय बिताउन पाएका छैनन्, उनीहरू विभिन्न परिस्थितिमा कसरी प्रतिक्रिया गर्ने भन्ने व्यावहारिक ज्ञान सिक्न पाउँदैनन् । हजुरबा-हजुरआमा तथा परिवारका अन्य सदस्यको समय राम्ररी नपाएका बालबालिकामा सामाजिक भावनाको पनि विकास राम्ररी हुँदैन र यी कुराले गर्दा कहीं न कहीं बालबालिकाको समग्र व्यक्तित्व विकासमा नराम्रो असर परेको हुन्छ । जसले गर्दा पछि ठूलो भएर पनि उनीहरूमा आत्मसम्मानको भावनामा कमी हुने र परिवारका सदस्यसँगै पनि समायोजनमा समस्या हुने हुन्छ ।

यसरी हुर्किएकाहरुमा पछि वैवाहिक जीवनमा पनि समस्या आउने गर्दछ । एक्लै हुर्किएका बालबालिकालाई पछि गएर आफ्नो पार्टनरसँग समायोजन गर्न पनि अलि गाह्रो हुनसक्ने सम्भावना रहन्छ ।

एक्लै हुर्किने बच्चामा मूलतः के कस्ता मनोवैज्ञानिक समस्या देखिएको छ ?

एक्लै हुर्किने बच्चामा पहिलो त समायोजनको समस्या बढी देखिन्छ । दोस्रो उनीहरूको काम गर्ने शैली पनि अरूको तुलनामा फरक हुन्छ । एक्लै हुर्कने बच्चा अलि धेरै चकचके र छुकछुके स्वभावका पनि हुन्छन् । दुई-तीन जना बच्चासँगै हुर्किएका छन् भने उनीहरूमा सामाजिक भावनाको विकास भएको हुन्छ, अरूसँग छिट्टै घुलमिल हुन सक्छन् ।

तर एक्लै हुर्किएका बच्चाहरू भने परिवार तथा समाजसँग सजिलै घुलमिल हुन सक्दैनन् । साथै, उनीहरुमा मानसिक स्वास्थ्य समस्या जस्तै डिप्रेसन, एन्जाइटी, साना-साना कुरामा आत्तिने र सोसल फोबिया जस्ता समस्या पनि देखिन्छन् ।

अहिलेका धेरै बालबालिका परिवार र समाजसँग त्यति घुलमिल भएको देखिंदैन । यसले उनीहरूलाई असामाजिक बनाउने जोखिम कति छ ?

अहिलेका बालबालिकाले कुन परिस्थितिमा कसरी समायोजन हुनुपर्छ भन्ने कुरा नै सिकेका हुँदैनन् । कुनै पनि कुरामा सम्झौता गर्न नसक्ने, सानो कुरामा रिसाउने, झर्किने र चाहिने भन्दा बढी आक्रामक हुन्छन् । जसले गर्दा बालबालिकामा असामाजिक प्रवृत्तिहरूको जोखिम बढ्न सक्छ ।

बच्चालाई हुर्काउने क्रममा आमाबुवाले मूलतः के कस्ता कमी कमजोरी गरिरहेको देखिन्छ ?

बालबालिकाको मनोविज्ञानलाई धेरै आमाबुबाले बुझेका नै हुँदैनन् । बच्चालाई राम्रो स्कुलमा पढायो, उनीहरूको सबै आवश्यकतालाई पूरा गर्‍यो भने मैले मेरो जिम्मेवारी पूरा गरेको छु भन्ने अभिभावकलाई लाग्छ । तर यतिले मात्र बालबालिकालाई पुग्दैन उनीहरूलाई समय पनि दिनुपर्छ । बच्चालाई हुर्काउने क्रममा आमाबुबाले मूलतः बालबालिकालाई समय नै नदिने, उनीहरूको कुरा नसुन्दिने जस्ता कमजोरी गरिरहेका छन् ।

एकल बच्चालाई कस्तो किसिमको अभिभावकत्व जरुरी हुन्छ ?

कुनै पनि बालबालिकालाई सकारात्मक व्यक्तित्व सिकाउनका लागि उनीहरूलाई छुट पनि दिने र नियन्त्रणमा पनि राख्ने अभिभावक हुनुपर्छ । बच्चालाई धेरै माया पनि गर्ने र उनीहरू नियम विपरीत गए भने अनुशासन पनि सिकाउने खालको अभिभावकत्व एकल बच्चालाई हुर्काउने अभिभावकमा जरुरी छ ।

कम्तीमा एकदेखि दुई घण्टा बालबालिकाका लागि छुट्टाएर उनीहरूलाई भावनात्मक र संवेगात्मक कुराहरू सानैदेखि सिकाउनुपर्छ । बच्चालाई कुरा सेयर गर्ने र उसको कुरा पनि सेयर गर्न लगाउने गर्नुपर्छ ।

धेरैजसो अभिभावकले आफ्नो बच्चालाई पूर्ण सुख सुविधा दिने गरेका छन् । अर्थात् कुनै पनि अभाव, दुःख हुन दिंदैनन् । यो तरिका कति उचित हुन्छ ?

बालबालिकाको आवश्यकता पूरा गर्न सक्षम छौं भनेर धेरै पुलपुलाउनु हुँदैन । उनीहरूलाई धेरै छुट पनि दिनु हुँदैन । अहिले त तपाईंले बच्चाको सबै माग पूरा गर्न सक्नु हुन्छ, तर पछि कुनै समयमा उसले यस्तो माग गर्न सक्छ जुन माग पूरा गर्न तपाईं असक्षम हुन सक्नुहुन्छ । त्यो बेला उसले मागेको कुरा पाएन भने उसमा परिवारका सदस्यप्रति नै नकारात्मक सोच आउन सक्छ ।

मेरो माग पूरा हुन सकेन भन्ने कुराले उनीहरूमा मनोवैज्ञानिक असर पनि पर्न सक्छ । त्यसैले सुरुदेखि नै उसले मागेको कुरा उसको आवश्यकता हो कि होइन भनेर विचार गर्नुपर्छ । बच्चाका कुनै माग अस्वीकार गर्दा उनीहरुमा सबै कुरा पूरा हुँदो रहेनछ भन्ने भावनाको पनि विकास हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार