शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • हिउँको घुम्टोमा बाजुराकाे पोरखेगढी

हिउँको घुम्टोमा बाजुराकाे पोरखेगढी

  • शनिबार, माघ २२, २०७८
हिउँको घुम्टोमा बाजुराकाे पोरखेगढी

पदमबहादुर सिंह/बाजुरा : बाजुराका बजार हुन् वा डाँडापाखा, सबै हिउँले छपक्क छन् यतिबेला। अरूबेला कहिले फुस्रा त कहिले हरिया देखिने डाँडापाखा अहिले सेताम्मे छन्।

जंगलका बोटविरुवामा कपास टाँसेजस्तो लाग्छ। खुला जमिन होस् वा डाँडामा सेतो कार्पेट बिछ्याएजस्तो देखिन्छ। हिउँ खेल्न पुग्नेहरूलाई हिउँको तन्ना बिछ्याएझैं लाग्दा छोडेर घर नफर्किउँ जस्तो लाग्छ। अहिले उक्त क्षेत्र पनि हिउँले स्वर्ग झैं बनेको छ। डाँफे, मुनाल जस्ता चराचुरुंगीको सुमधुर स्वरहरूले गुञ्जायमान छन्। हिउँको यस्तो रमाइलो देख्ने स्थानीयवासी सडक बनेपछि पर्यटकको धुइरो लाग्न सक्ने तर्क गर्छन्।

जिल्लाको पोरखेगढीमा अहिले यस्तै हिउँ परेको छ। हिउँले श्रृंगारे जस्तो यो ठाउँ हेर्ने जो कोहीले यसको प्रसंशा नगरी रहन सक्दैनन्। तर, यातायात सुरु हुनु तीन वर्षपहिला पोरखेगढीबारे जिल्लावासी बेखबर जस्तै थिए। सदरमुकाम मार्तडीबाट करिब २० किलोमिटर दूरीमा छ यो क्षेत्र। पोरखेगढी र कालाजग्रा क्षेत्रको महत्त्वबारे देश/विदेशसम्म चिनाउन बडिमालिका नगरपालिकाले २०७५ फागुनमा पोरखेगढी यात्रा सुरु गर्‍‍यो। त्यसपछि त यो ठाउँले पर्यटनको सम्भावना बढाएको छ।

वर्षेनि चिप्लेटीको मजा

हिउँदमा वर्षेनि भरिभराउ हिउँ पर्ने भएकाले हिउँसँग सामीप्यता गाँस्न र चिप्लेटी खेल्न सकिन्छ। अन्य समयमा हुने मनमोहक वातावरणमा वनभोज गर्न साथै चलचित्र छायांकन गर्न मिल्ने उचित गन्तव्य बनेको छ। खप्तड राष्ट्रिय निकुञ्ज, छेडेदह ताल, नाटेश्वरी मन्दिर, मौर क्षेत्र, बाजुराको इतिहास बोकेको बार्जुकोट दरबार, बडिमालिका, बूढीनन्दा, पादुका कार्तिक स्वामी र राराको संगमस्थलको रूपमा पनि पोरखेगढी र कालाजग्रा क्षेत्र रहेको छ र त्यसैले पनि यसको महŒव बढ्दै गएको छ।

कालाजग्रा मन्दिरबाट रारा, बडिमालिका, खप्तड, सैपाल हिमाल, बूढीनन्दा मौरे क्षेत्र नाट्येश्वरी मन्दिरलगायत दर्जनौं पर्यटन तथा धार्मिकस्थल अवलोकन गर्न सकिने वडाध्यक्ष पाध्याय बताउँछन्। ढम्कने गाउँबाट कालाजग्रा पुग्न पर्यटकलाई सहजताका लागि वडाको पहलमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको आर्थिक सहयोगमा पैदलमार्ग निर्माण गरिएको छ। अहिले पर्यटकका लागि त्यहाँ पुग्न अझ सहज बनेको छ।

कहिले पानी पर्ने, कहिले बादल देखा पर्ने र कहिले घाम लाग्ने। छिनछिनमा मौसम परिवर्तन भइरहने ठाउँ भएकाले पनि यहाँ पर्यटक रमाउँछन्। अझ पुस महिनादेखि फागुनसम्म सेताम्य भएर हिउँले बेहुली झैं सजिन्छ यो फाँट। फाँटको छेउमा मिलाएर रोपेजस्ता बुट्टाहरू देखिने हिउँको दृश्य पोरखेगढी र कालाजग्रा आसपास झनै लोभलाग्दो हुन्छ। पोरखे क्षेत्र बूढीगंगा नदीको उद्गमस्थलका रूपमा पनि चिनिने गरेको स्थानीय लक्ष्मीराज पाध्यायले बताए। सदरमुकाम बडिमालिका नगरपालिका क्षेत्रको सीमा क्षेत्र पनि हो।

बाजुराको अग्लो त्रिशूल

त्यसपछि वर्षौंदेखि ओझेलमा परेको बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमानामा अवस्थित कालाजग्रा क्षेत्र पोरखेगढी पर्यटकीय गन्तव्यमा परिचत हुँदै गएको छ। पछिल्लो समय पोरखेगढी हुँदै कोल्टीसम्मको सडकस्तर उन्नति हुँदै छ। सडक यातायातको पहुँच हुन थालेपछि अन्तरिक तथा बाह्य पर्यटकको मुख्य केन्द्र बन्न पुगेको छ। प्राकृतिक सुन्दरताले भरिएको, पोरखेगढी कालाजग्रा माईको मन्दिर चट्टानी गुफाभित्रको ताल बाइसधारा र यसआसपासमा रहेको घनघोर र हरिया जंगल दर्जनौं घाँसेमैदान र परापूर्वकालको गढी यसै बीच भागमा छन्।

बाजुराकै अग्लो त्रिशूल रहेको यस क्षेत्रलाई हाल पोरखे लेक नामले समेत चिनिने गरेको छ। ऐतिहासिक गढीका रूपमा रहेको यस क्षेत्रमा बाजुराकै अग्लो कालाजग्रा सन्तोषी माता र चट्टानी गुफाभित्र ताल छन्। कालाजग्रा गुफाताल चट्टानभित्र छ। यसको गहिराइ चौडाइ मापन गरिएको छैन। यसै क्षेत्रमा कालाजग्रा मन्दिरलगायत धार्मिकस्थलसमेत रहेकाले यो क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल बन्दै गएको स्थानीय बताउँछन्। बडिमालिका नगरपालिकाले पोरखेगढी यात्रा सुरु गरेसँगै यातायातको पहुँच हुन थाल्यो। जसले यो क्षेत्रमा दैनिक ५० देखि सयसम्म आन्तरिक पर्यटक आउने गरेको ढम्कनेका होटेल व्यवसायी लोकेन्द्र रोकाया बताउँछन्।

तालतलैयासँगै मनोरम दृष्य

हिउँ नपर्दा पनि आन्तरिक र बाहृय पर्यटकीय गन्तव्य बन्यो यो ठाउँ। यस क्षेत्रआसपास बडिमालिका नगरपालिका वडा नं ७ को ढम्कने र बूढीनन्दा नगरपालिकाको अगाउँ पानी क्षेत्रको सीमा छ। त्यसैले यस क्षेत्रको पर्यटन प्रवद्र्धन गरे जिल्लाका लागि फाइदा पुग्ने बडिमालिकाका नगर प्रमुख पदम बडुवालले बताए। केही वर्ष अघिसम्म सुनसान रहेको यो क्षेत्रमा पछिल्ला वर्ष घुम्न जानेको संख्यामा समेत वृद्धि भएको छ। त्यसलाई व्यवस्थापनमा गरे स्थानीयवासीको आर्थिक स्तरमा समेत वृद्धि हुनेछ। यस क्षेत्रमा पर्यटकको आगमन बढेपछि विभिन्न पसल र व्यवसाय सञ्चालन हुने तथा होटल र लज पनि खुल्न सक्ने स्थानीयवासी बताउँछन्।

यो क्षेत्रमा विशेषगरी शान्त एवं मनोरम वातावरण, उपत्यकाजस्तो क्षेत्र र घाँसेमैदान छन्। विभिन्न तालतलैयाको मनोरम दृश्यावलोकन गर्न सकिने डाँडा पनि छन्। यहाँ धार्मिक तथा ऐतिहासिक सम्पदा छन्। पैदल यात्रीका लागि पनि यो क्षेत्र सहज छ। बाजुराको सदरमुकाम मार्तडी हुँदै पनि कालाजग्रा र पोरखेगढी पुगिन्छ। कालीकोट, मुगुको रारा, हुम्ला र जुम्लाको व्यापारिक बाटो पनि यही सडक भएर व्यापारी र पर्यटकले प्रयोग गर्छन्। गढी पनि यसै सडकले छुन्छ। त्यसैले आकर्षणको स्थल बन्न सक्ने बडिमालिका नगरपालिका वडा न ७ का वडाध्यक्ष धर्मराज पाध्याय बताउँछन्।

हुम्ली महाराजको राज्य पोरखेगढी

बाइसे, चौबिसे राज्यकालमा तत्कालीन हुम्ली महाराजले राज्य गरेको पोरखेगढी पुरातात्त्विक र पौराणिक हिसाबले ऐतिहासिक महत्त्वको छ। त्यसबाहेक यस क्षेत्रमा पाइने दर्जनौं जातिका फूलहरू विशेषगरी सेतो गुराँस, लोपोन्मुख वन्यजन्तु हिमचितुवा, हरिण, कस्तुरी, मृग, बँदेल, थार, डाँफे मुनाललगायतका वन्यजन्तु देख्न सकिने स्थानीय नेता काशी विक बताउँछन्।

त्रिवेणी नगरपालिकाको छतार कैलाशमाडौं, बूढीगंगा नगरपालिकाको माथिल्लो क्षेत्र, बूढीनन्दा नगरपालिकाको माथिल्लो क्षेत्र र जगन्नाथ गाउँपालिकाको माथिल्लो क्षेत्र समेटेर पोरखेगढी क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा बनाउन पहल कदमी भएको विकको भनाइ छ। यो क्षेत्र संरक्षित भए उच्च हिमाली क्षेत्रदेखि बेसीसम्म पाइने बहुमूल्य जडीबुटी, लोपोन्मुख वन्यजन्तु तथा पक्षीहरूको हबका रूपमा बनाउन सकिने देखिएको छ। यसो गर्दा पोरखेगढी र बालाजाग्रामा अझ बढी पर्यटन प्रवद्र्धन गर्न सजिलो हुने उनी बताउँछन्।

के–के छन् कालाजग्रा र पोरखेगढीमा?

कालाजग्रामा गुफा ताल, बूढीनन्दा ताल तथा मालिका मन्दिर छन्। पोरखेगढी क्षेत्रमा ठूलासाना गरी दर्जनभन्दा बढी घाँसेमैदान फाँटहरू प्रमुख आकर्षण हुन्। ऐतिहासिक दरबार पोरखेगढी हाल भग्नावशेष अवस्थामा मात्र रहेको देख्न पाइन्छ। हिउँदको समय पोरखे आसपासका फाँट हिउँले ढपक्क ढाकेका कारण थप रमणीय छ। चैत महिनापछि विस्तारै फाँटहरू हरिया हुन थाल्छन् भने फूलका मुना पलाउन थालेको देख्न सकिन्छ।

यस क्षेत्रमा ४ रैथानेसहित १३५ किसिमका फूल फुल्ने गर्छन्। त्यसकारण पनि यो क्षेत्र प्राकृतिक इतिहासको संग्रहालय हो। साथै, जीवित बगैंचा भएकाले धर्तीको स्वर्ग पनि भएको बडिमालिका नगरवासी दलबहादुर रोकाया बताउँछन्। नेपालमा पाइने ७ सय मुख्य जडीबुटीमध्ये २२४ प्रजातिका जडीबुटी यसै क्षेत्रमा पाइन्छन्।

प्रकृतिको यो अनौंठो संग्रहालयमा ५६७ प्रजातिका वनस्पति र विभिन्न दुई सय जातका चराचुरुंगीको दृश्यवलोकन गर्न सकिन्छ। नेपालमा ९ प्रजातिका गिद्ध पाइन्छन् तर यही ठाउँवरपर ४ प्रजातिका रैथाने गिद्धको बासस्थान पनि छ। जसमा सुन गिद्ध, हिमाली गिद्ध, हाडफोर गिद्ध र सेतो गिद्ध गरी चार प्रजातिको बासस्थानका रूपमा यो क्षेत्र रहेको छ।

विश्वकै दुर्लभ जातिको हरियो छेपारो यसै स्थानमा पाइने गरेको छ। पोरखेगढी समुद्री सतहबाट ३२ सयदेखि ३५ सय मिटरसम्मको उचाइमा छ। यो क्षेत्र नेपालमै अति दुर्लभ थलथले घाँसे मैदानयुक्त जमिन पनि हो।

कसरी पुग्ने पोरखेगढी ?

पोरखे क्षेत्र पुग्ने धेरै बाटा छन्। काठमाडौंबाट सिधै हवाई मार्ग हुँदै बाजुराको कोल्टी एयरपोर्ट पुग्न सकिन्छ। कोल्टी एयरपोर्टबाट दुई घण्टाको पैदल यात्रा वा ४५ मिनेटको जिप यात्रापछि पोरखेगढी पुग्न सकिन्छ। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट १२ घण्टाको बसयात्रामा बाजुरा सदरमुकाम पुग्न सकिन्छ। सदरमुकामबाट दुई घण्टाको जिप यात्रापछि पनि पोरखेगढी पुग्न सकिन्छ।

बसयात्रामा हो भने मार्तडीको ढम्कने र हवाईयात्रा हो भने पाण्डुसैनको अगाउँपानी तथा पोरखे काँधमा खाना खाएर यात्रा सुरुआत गर्न सकिन्छ। बाटो त्यति अप्ठ्यारो छैन। ठूलाठूला चट्टान र घना जंगल र बाटोमा फुलेका रंगीचंगी फूलहरूको आनन्दले बाटोको थकान मेटिदिन्छ। यात्रापश्चात् बिहानै खाना खाएको ठाउँमा साँझ फर्कन पनि सकिन्छ।

दोस्रो दिनको यात्राको सुरुआत नै पोरखेगढीबाट बायाँ प्रवेश गरी कालाजग्रा यात्रा सुरु हुने गर्छ। कालाजग्रा गुफाभित्रको ताल २२ धारा र सो चुचुरोबाट बाजुरा, बझाङ, अछाम, डोटी कर्णाली प्रदेशका हुम्ला, मुगु, कालीकोट, जुम्ला हेर्न सकिन्छ। यस्तै मानसरोबर, मुगुको रारा, बझाङको सैपाल हिमाल र बाजुराका उच्च स्थानमा रहेको बूढीनन्दा ताल पनि देख्न पाइन्छ। बडिमालिकाका, नाटेश्वरी मन्दिर, मौर क्षेत्र, बार्जुकोट दरबार, खप्तड, छेडेदह ताल, पादुका क्षेत्र, कार्तिक स्वार्मी माईको मन्दिर लगायतका दृश्यावलोकन पनि गर्न सकिन्छ।

पोरखेगढीले बाजुरा चिनाओस्

स्थानीयवासी भन्छन्, पर्यटकीय विकासको सम्भावना भएर पनि यसको उचित सदुपयोग हुन सकेन। स्थानीय समुदायले जति लाभ लिनुपर्ने हो, त्यति लिन सकेको देखिँदैन। प्राकृतिक स्रोेतले धनी भएर पनि पर्यटक पुग्न सकेका छैनन्। बाजुराका पर्यटकीय क्षेत्रआसपासका बासिन्दाले भने लाभ लिनुपर्ने देखिन्छ। तर त्यति लिन नसकेको अवस्थामा पर्यटन विकासमा समाजले केही पहल गरेको कालाजग्रा संरक्षण समितिका सचिव रामबहादुर धामी जानकारी दिन्छन्। भन्छन्, ‘अझ यसलाई व्यापक बनाउन सबैको सहयोग आवश्यक छ।’

समितिअध्यक्ष लोकेन्द्र रोकाया भन्छन्, ‘पोरखे क्षेत्रमा पर्यटक लैजान राज्यले आधारभूत आवश्यकताहरू पूरा गर्नुपर्छ।’ बाजुराका विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रमध्ये एक आकर्षक विन्दुका रूपमा बडिमालिका नगरपालिका–७ मा रहेको पोरखेगढी चिनिन्छ। यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि लागि पर्ने हो भने बाजुरा कहिल्यै पनि गरिबीको रेखामुनि नरहने नागरिक अगुवा काशी विक बताउँछन्। जिल्लाकै एक मात्र सरल सजिलो यात्रा अनि मनमोहक आकर्षकको बिन्दु पोरखेगढीले बाजुरालाई हालसम्म चिनाउन सकेको छ। साभार अन्नपुर्ण पाेष्ट

हिउँको घुम्टोमा पोरखेगढी (फोटो फिचर)

चर्चामा

सम्बन्धित समाचार