बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • काठमाडौंबाट गएर दोलखाको सहकारीका सुरक्षा गार्डको हत्या

काठमाडौंबाट गएर दोलखाको सहकारीका सुरक्षा गार्डको हत्या

  • बिहिबार, मंसिर १६, २०७८
काठमाडौंबाट गएर दोलखाको सहकारीका सुरक्षा गार्डको हत्या

दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न दुईजनालाई केन्द्रीय अनुुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्कीलाई बिहिबार पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डीआईजी धीरजप्रताप सिंहले बताए ।

सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको कार्तिक १० मा हत्या भएको थियो । कार्तिक ११ मा सहकारीबाट ४ सय मिटर पर चिहानडाँडा स्थित जंगलमा उनको शव फेला परेको थियो । बिक्रम कार्की र सुमन कार्कीले कार्तिक १० मा राति काठमाडौंबाट गएर सुरक्षागार्डको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि सहकारीबाट १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटेर उनीहरु जिल्ला सदरमुकाममा चरिकोट फर्केका थिए ।

फिल्मी तरिकाले हत्या

साँझ ६ बजेर ३० मिनेटमा खाना खाएर सहकारीको सुरक्षा गर्न गएका पूर्णबहादुर खड्कालाई आरोपी मध्येका सुमनले ‘मामा’ भन्ने गरेका थिए । काठमाडौंबाट त्यसैदिन गाडी चढेर गएका उनीहरु राति जुँगु पुगे ।

सहकारीमा गएर सुमनले सुरक्षागार्डलाई भने–‘काठमाडौंबाट आएको मेरो साथी बेहोस भएर ढलेको छ, हिँड्नुस् नँ ।’ सुमनको कुरा मानेर खड्का सहकारीबाट ४ सय मिटर पर जंगलमा गए । जंगलमा बिक्रम लुकेर बसेका थिए । त्यहिँ उनीहरुले सुरक्षागार्डको हत्या गरे ।

‘हात, खुट्टामा डोरी र मुखमा खादाले बाँधेर हत्या गरेको देखिन्छ’ अनुसन्धानमा संलग्न केन्द्रिय अनुसन्धान ब्यूरोका एक अधिकृतले रातोपाटीसँग भने–‘हातखुट्टा बाँधेपछि ढुंगाले टाउकोमा हिर्काएर बाटोमुनि फालेको आरोपीहरुले स्वीकारेका छन् ।’
मृतकका टाउको र निधारमा चोट लागेको अवस्थामा शव फेला परेको थियो । हत्यापछि आरोपीहरु ३ घण्टा पैदल हिँडेर सदरमुकाम चरिकोट आए । कार्तिक ११ मा चरिकोटबाट गाडी चढेर काठमाडौं फर्किए ।

हत्या गरेको रात उनीहरु गाउँ गएको कसैले थाहा पाएनन् । आरोपबाट बच्न काठमाडौं आएपछि उनीहरु मुस्ताङ घुम्न गएको ब्यूरोका डीआईजी धीरजप्रताप सिंहले बताए । सीआईबीले विक्रमलाई काठमाडौंको तीनकुनेबाट र सुमनलाई चुच्चेपाटीबाट पक्रेर थप अनुसन्धानका लागि दोलखा पठाएको छ ।

पैसा लुट्न सुरक्षागार्डको हत्या गरेका बिक्रम काठमाडौंमा प्लम्बरको काम गर्छन् । सुमन काठमाडौंमा पढ्दै छन् । प्रहरीले अरोपीहरुको साथबाट मृतकको मोवाइल बरामद गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार