शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बिरामी भैंसीको मासु खाँदा गाउँ नै त्रसित, ७० जनाले लगाए रेविज विरुद्धको खोप

बिरामी भैंसीको मासु खाँदा गाउँ नै त्रसित, ७० जनाले लगाए रेविज विरुद्धको खोप

  • आइतवार, कार्तिक १४, २०७८
बिरामी भैंसीको मासु खाँदा गाउँ नै त्रसित, ७० जनाले लगाए रेविज विरुद्धको खोप

बिरामी भैंसीको मासु खाँदा रुपन्देहीको सैनामैना नगरपालिका–७ देउवापार गाउँ नै त्रसित बनेको छ । कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु काटेर खाँदा सैनामैना–७ देउवापारस्थित स्मृति टोलमा स्थानीय बिरामी पर्न थालेपछि गाउँमा रेबिज संक्रमणको त्रास फैलिएको हो ।

गत असोज १९ गते घटस्थापनाका दिन सैनामैना–८ पिपलडाँडा ठूलीओकाली निवासी एक स्थानीयसँग भैंसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेका थिए । असोज १९ गतेको घटना भएपनि अहिले स्थानीय बिरामी पर्न थालेपछि मात्र सो घटना सार्वजनिक भएको हो ।

सैनामैना–७ का वडाध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृति टोल निवासी दुई व्यक्तिले पिपलडाँडाबाट भैंसी ल्याई काटेर बिक्री गरेका थिए । सो भैंसीको मासु स्मृति टोलसँगै सैनामैना–८ र कञ्चन गाउँपालिका–१ का गरी १ सय ४० जनाले पकाएर खाएका थिए ।

भैंसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको र स्मृति टोलका केही व्यक्तिले छालाको लागि भनेर सो भैंसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेको पाइएको वडाध्यक्ष बेल्वासेले जानकारी दिए ।

अस्वस्थ मासु बिक्री वितरण गरेको हुनाले उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीलाई अनुरोध गरिसकेको वडाध्यक्ष बेलबासेको भनाइ छ । घटना सार्वजनिक भएपछि सैनामैना नगरपालिकाले स्मृति टोलका ७० जनालाई रेविज विरुद्धको खोप लगाएको छ । नगर प्रमुख चित्रबहादुर कार्कीले अझै पनि गरिब तथा विपन्न वर्गका परिवारमा स्वास्थ्यवर्द्धक खाद्यान्न सम्बन्धी चेतनाको अभावका कारण सो समस्या उत्पन्न भएको बताए ।

खबरपश्चात नगरपालिकाले तत्कालै लुम्बिनी प्रदेश सरकार र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा खोपको पहल गरी ७० जनालाई खोप लगाइएको नगर प्रमुख कार्कीको भनाइ छ । नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार कुल १ सय ४० मध्ये मासु काटेका र नपाकेको मासु छोएका ७० जनालाई रेविज विरुद्धको पहिलो खोप दिइएको हो ।

चर्चामा

सम्बन्धित समाचार