बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • शिक्षा
  • होमवर्कको भार र पढाइको दबावले बालबालिका मनरोगी बन्ने भय

होमवर्कको भार र पढाइको दबावले बालबालिका मनरोगी बन्ने भय

  • मङ्लबार, अशोज १९, २०७८
होमवर्कको भार र पढाइको दबावले बालबालिका मनरोगी बन्ने भय

बालबालिकालाई विद्यालय पठाउने उपयुक्त उमेर कुन हो ? कुन उमेरमा उनीहरु पढ्न र लेख्नका लागि तयार हुन्छन् ? उनीहरुको बौद्धिक विकासमा सिकाइको प्रभाव कस्तो हुन्छ ? कुन उमेरमा उनीहरुलाई पढ्न र लेख्न लगाउने ? के हाम्रा सिकाइ पद्धति बालमनोविज्ञान अनुरूप भइरहेको छ ? हाम्रा विद्यालय र पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासमा सघाउ पु¥याइरहेका छन् ? यी आफैँमा गम्भीर प्रश्न हुन् ।

तर, यी प्रश्नहरुको समुचित हल खोजिएको छैन । किनभने हामीकहाँ देखासिखीमा बालबच्चालाई पढ्न पठाउने प्रवृत्ति बढेको छ । नतिजाका लागि दबाब दिने मनोवृत्ति मौलाएको छ । अर्कोतिर पाठ्यपुस्तक, कक्षा कोठामाथि प्रश्न उठाउने परिपाटी पनि छैन । यावत कुराले बालबालिकाको मनोविज्ञानमा कस्तो असर परिरहेको छ ?

यी विषयमा नेपाल साइकोलोजिकल सेन्टरका सुशील कँडेलले कुराकानी जानकारी दिएकाे  छ ।

हामीकहाँ जुन किसिमको शिक्षा प्रणाली र पठन विधि छ, बाल मनोविज्ञानको हिसाबले त्यो कति उपयोगी वा सही छ ?

अहिले हाम्रो कक्षा पाँचसम्मको पाठ्यक्रमहरु नयाँ आएका छन् । अरू कक्षामा पनि नयाँ आउने तयारी छ । त्यसैले पहिलेको पाठ्यक्रमभन्दा धेरै सुधारिएर आएको अवस्था छ ।

तर समग्रमा हाम्रो शिक्षा प्रणालीमा अझै पनि बालबालिकालाई पढाउने पठन विधि परम्परागत शैली नै छ । हामी अहिले नेपालको ४२८ भन्दा बढी विद्यालयसँग काम गरिरेहका छौं । अधिकांशले परम्परागत शैली नै अपनाएका थिए । जुन बालबालिकाको लागि उपयोगी होइन भनेर जानकारी बाँडेर ज्ञानमा परिवर्तन हुने किसिमको प्रयास भइरहेको छ ।

हाम्रो परिपेक्ष्यमा विद्यालयको पाठ्यक्रम र पठन विधिले बालबालिकाको सिर्जनशील क्षमतामा अवरोध पु¥याएको छ भन्ने गुनासो सुनिन्छ, यस्तो हो ?

हामीले गएको ३० वर्ष गरेको अभ्यासले हामीले अन्तर्राष्ट्रियस्तरमा कसरी स्थापित गर्न सक्यौं भने हामी एउटा सामान्य किसिमको जनशक्ति उत्पादन गर्ने देश हौं । हामीहरुको बच्चा १० कक्षा पढिसक्दा नसक्दै विदेशी देशहरुका विभिन्न विश्वविद्यालयका नामहरू कण्ठ पार्न सुरु गर्ने भयौं । अझभन्दा हामीले एउटा मुन्सी शिक्षा आधारलाई अगाडि बढाइरहेका छौं ।

जसले गर्दा अहिले प्लस टु अथवा स्नातक पढ्ने विद्यार्थीलाई सोध्ने हो भने ९९.९ प्रतिशत विद्यार्थीले म जागिर खाने हो, भन्छन् । भन्नुको अर्थ मुन्सी हौं । सक्नेले अमेरिकामा गएर मुन्सीगिरी गर्ने, नसक्नेले खाडीमा गएर गर्ने, त्यो पनि नसक्नेले नेपालमा गर्ने तर मुन्सिगिरी गर्ने । आफ्ना काम नगर्ने अर्काको काम गर्ने जागिर खाने । जागिर गरेपछि आएको तलबबाट आफ्नो जीवन हेर्ने । त्यहीभित्र रुमलिएको छ, त्यसैलाई पूर्ण जीवन मानेको छ । जागिरको कुरा गर्ने, जागिरको पछि कुद्ने त्योभन्दा केही नगर्ने ।

जसले गर्दा उद्यमशीलताको विकास अथवा देशमा औद्योगिक क्रान्ति ल्याउने, केही नयाँ चीज गरौं, समाजमा परिवर्तन ल्याउने काम गरौं भन्ने जमात तयार हुन सकेको छैन ।

प्रायः अभिभावक र शिक्षकहरूले समेत घोकाएर पढाएको पाइन्छ, यसले उनीहरुको मानसिकतामा कस्तो असर पर्छ ?

९० प्रतिशत विद्यालयमा एउटा प्रश्न र त्यसको उत्तर पनि लेखिदिने त्यही कुरा बच्चाले रटेर आएर परीक्षामा लेख्ने खालको पठन विधि छ । निजी विद्यालयमा एकदम धेरै यो विधि लागु हुन्छ । सामुदायिक विद्यालयमा पनि यही विधि तर निजीको तुलनामा धेरै कम हुन्छ ।

घोकाएर पढाउँदा मानसिक रुपमा खुल्ला रूपले, सिर्जनात्मक भएर सोच्न सक्दैनन् । सूचनालाई ज्ञानको रूपमा लिन सक्दैनन् ।

कलिलै उमेरमा प्लेग्रुप, डेकेयर सेन्टरमा लगेर छाड्ने प्रवृत्ति बढ्दो छ । यसले उनीहरुको मानसिक विकासमा सघाउ पुर्याउँछ वा कुनै नोक्सानी गर्छ ?

सानै उमेरमा लगेर प्ले गु्रप अथवा डे केयरमा लगेर पढाएन खेलाएर मात्रै राख्यो भने त एकदम राम्रो हो । तर हाम्रो देशमा त सानै उमेरमा पिएचडी गराउन खोज्ने प्रवृत्ति छ । पाँच कक्षामा पुग्ने हाम्रो बच्चाले अमेरिकन लवजमा अंग्रेजी बोल्यो भने खुशी हुने प्रवृत्ति छ । तर त्यसले हाम्रो बच्चामा के असर प¥यो भन्ने त हामीले जानेका छैनौं ।

त्यसैले त्यो खालको गलत सोचलाई कम गरेनौं भने बच्चाहरूमा भर्चुअल अटिज्म हुनसक्ने सम्भावना बढी हुन्छ ।

भर्चुअल अटिज्म भनेको के हो । कसरी हुन्छ ?

मोबाइल, टेलिभिजन, इन्टरनेट, ल्यापटपहरुबाट बच्चाहरुमा उब्जिने एककिसिमको मानसिक विकारको स्थिति हो । सानो उमेरमा बढी होमवर्क दिने, तनाब दिइयो भने बालबालिका थेतरो हुने र आफ्नो क्रियाकलापलाई अर्काको ज्याला तिर्ने खालको मानसिकता निर्माण गर्छ । त्यसरी नै उसको बानी विकास हुन्छ । त्यसैले यसले बालबालिकाको लागि हानिकारक हुन्छ । भर्चुअल अटिज्म हुन्छ । यो रोग होइन तर पछि गएर रोग पनि हुन सक्छ ।

यसमा एउटा बच्चा भर्चुअल अथिस्टिक बन्न सुरु गरेपछि हुने हो । यो इलेक्ट्रोम्याग्नेटिक वे हो । न्यूलाईटबाट (एलईडीबाट निस्कने लाईट)बाट ब्रेनमा बन्ने स्थिति हो । यो स्थितिबाट दिमागको विकास रोकिन्छ । यो रोकिएपछि उसको दिमाग हरेक वर्ष २.५ ले ढिला हुन्छ । त्यो भनेको पाँच वर्षको बच्चा साढे दुई वर्षको हुन्छ । तीन वर्षको बच्चा ढेड वर्षको जस्तो हुन्छ । यसरी उसको बे्रनको फ्रिक्वेन्सी कम हुन्छ ।

यसको उपचार कसरी गर्न सकिन्छ ?

शुरुमा त्यो बच्चाको समस्या थाह पाउन पनि सहजै सकिन्न । त्यसको जाँचको लागि प्याथोलोजी पद्धतिबाट जानुपर्छ । त्यो समस्या पत्ता लागेपछि उनलाई असर गरिरहेको समान दिइरहेको चीज बन्द गरिदियो भने एक महिना डेढ महिनामा एउटा फरक देख्न सक्छौं । त्यसपछि हामीले उमेर अनुसार परामर्श दिनुपर्छ ।

विनाऔषधि उपचार हुन्छ । न्युट्रिसन भ्यालु लगायतको कुरा हुन्छ । हामीले यसको उपचार भनेको परामर्शबाटै गरिन्छ । भर्चुअल अटिज्मलाई भएका विद्यार्थी अथवा बालबालिकालाई योबाट बाहिर निकाल्न सकिन्छ ।

कतिपय विद्यालयको वातावरण, शिक्षकको व्यवहार आदिले बालबालिकालाई मानसिक समस्या थप्ने जोखिम हुन्छ वा हुँदैन ?

विद्यालयमा बच्चाले देखाउने व्यवहार घरको वातावरणबाट प्रभावित हुन्छ । तर त्यो अभिभावकमा पनि ज्ञान हुँदैन शिक्षकमा पनि ।

बच्चाको अगाडि आमाबाउ झगडा गर्ने, जे पायो त्यही बोल्ने गर्छौं । त्यसको समस्या बच्चामा परिरहेको हुन्छ र त्यो विद्यालयमा देखाउँछ । विद्यालयमा शिक्षकले आँखाले, हातले, लौरोले कुट्छ । तर अभिभावकलाई सम्झाउने खालको शिक्षा नै छैन । अथवा बालबालिकाले देखाएको समस्याबारे बुझ्ने प्रयास नै हुँदैन ।

अभिभावकले बुझिदिँदा यस्तो खालको समस्या आउँदैन । तर अभिभावक, शिक्षक कसैले नबुझ्दा उनीहरूमा मानसिक स्वास्थ्य समस्या देखिन थाल्छ । यस्तो समस्या भएको बच्चा दश कक्षामा पुग्दा शिक्षकको अर्को नाम राख्ने हुन्छ । छोरा हो भने छोरीहरुसँग नबोल्ने हुन्छ छोरी हो भने छोराहरुसँग नबोल्ने हुन्छ । थर्ड बेन्चर, कर्नर बेन्चर हुन्छन् । सानो सानो कुरामा झर्किने हुन्छन् ।

यस्ता व्यवहार भएका बच्चालाई हाम्रो समाजमा दुई चड्कन लगाउने, छोरी हो भने छिट्टै बिहे गरेर पठाउने अथवा छोरा हो भने एउटा सोझी केटी खोजेर बिहे गर्दिने भन्ने छ । यो खालको ग्याप भएको समाज निर्माण गरेका छौं । अहिले पनि यसले निरन्तरता पाइरहेकै छ । आज यही ग्यापका कारण नेपालमा आमाबुबालाई घरबाट निकाल्ने, अथवा उनीहरुलाई मात्रै छोड्नेको संख्या बढेको छ ।

होम स्कुलिङको अवधारणा पनि आएको छ, यो कति उपयोगी हुन्छ हाम्रो परिवेशमा ?

होम स्कुलिङको अवधारणा नराम्रो होइन तर त्यसमा स्वमूल्यांकनको स्थितिमा चैं अर्कोसँगको कम्पिटिटिभ अप्रोच या आफूलाई कसरी अग्रसर बनाउने भन्ने कुरामा चैं अन्र्तराष्ट्रिय स्तरमा पनि एउटा ड्र ब्याक आएको छ । त्यो हाम्रो नेपालमा पनि नआउला भन्न सकिन्न ।

ननस्कुल अमेरिका तथा युरोपका केही व्यक्तिहरुले पछ्याइरहेको स्थिति हो । यसमा पनि सही रूपमा मनोवैज्ञानिक आधारहरूलाई व्याख्या गर्ने लिएर जान सकिएको छैन । हाम्रो जस्तो समाजमा कम प्रभावकारी हुन्छ ।

घर नै विद्यालय र आमाबुबा नै शिक्षक भन्ने अवधारणा कति उचित हुन सक्ला ?

त्यही व्यक्ति मेरो शिक्षक हो, त्यही व्यक्ति मेरो बुबा हो भन्दाखेरि बाउसँगको बुढेसकालमा हुनुपर्ने छोराछोरीको सम्बन्ध कायम हुँदैन । भन्नाले लामो समयसम्म बुबा हुँदैन । हाम्रो जस्तो नेपाली समाजमा जुन समुदाय हामीले निर्माण गरिरहेका छौं यस्तो समाजमा चाँहि अलिक समस्या हुनसक्छ ।

यो मेरो बुबा हो, यो मेरो हजुरबुबा हो, मेरो हजुरआमा हो, दिदी हो, दाइ हो भन्ने सोचाइलाई होम स्कुलले मारिदिन्छ । त्यसलाई व्यवस्थापन गर्नको लागि पहिला अभिभावकत्वको आधारलाई स्थापित गर्नुपर्छ । यो मनोवैज्ञानिक रुपमा स्थापित हुन्छ । अभिभावकले नै मेरो यो हो अभिभावकत्व हो, मैले यत्ति दिन मिल्छ यो भन्दा बढी मिल्दैन भन्ने स्पष्ट हुनुपर्छ ।

मैले मेरो बच्चालाई काउन्सिलिङ गर्नुप¥यो भने केही पनि बुझ्दैन । अरूको लागि म डा. हुँ मेरो बच्चाको लागि म बुबा हुँ । अब मेरो बच्चालाई एकछिनपछि मेरो बुबा हुनुहुन्छ नि, बुबा हुँदाहुँदै मैले के गर्नुपर्छ र भन्ने खालको आत्मविश्वास हुनसक्छ । त्यसैले होम स्कुलिङ सामुदायिक व्यवहारको सिकाइको शैली चाहिँ  एकापट्टि ढल्किएर जान्छ । जसले समाजमा बच्चाहरुलाई प्रतिपस्पर्धात्मक बच्चाको रूपमा अगाडि ल्याउँदैन ।अनलाइन खबरमा प्रकाशन ।

चर्चामा

सम्बन्धित समाचार