शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • बझाङमा ८५ वर्षीया बज्यैको हत्या आरोपमा नाति पक्राउ

बझाङमा ८५ वर्षीया बज्यैको हत्या आरोपमा नाति पक्राउ

  • शनिबार, अशोज २, २०७८
बझाङमा ८५ वर्षीया बज्यैको हत्या आरोपमा नाति पक्राउ

बझाङ — बझाङमा ८५ वर्षीया बज्यैको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङले २३ वर्षीय नातिलाई पक्राउ गरेको प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए। प्रहरीले दुर्गाथली गाउँपालिका वडा नम्बर ५ बस्ने ८५ वर्षीय रिखिदेवी जप्रेलको हत्या गरेको आरोपमा नाति सुवासलाई बिहीबार पक्राउ गरेको हो। रिखिदेवी गत भदौ २७ गते आइतबारदेखि बेपत्ता भएकी थिइन्।

केही दिनसम्म पनि फेला नपरेपछि रिखिदेवीका छोरा तथा वडा नम्बर ५का वडाध्यक्ष रामबहादुर जिप्रेलले टेलिफोनमार्फत् गत बुधबार प्रहरीलाई खबर गरेका थिए। उनी बस्ने घरबाट एक सय मिटरको दूरीमा रहेको अर्को घरमा आमा रिखिदेवी र उनका छोरा सुवास सँगै बस्थे।

आफन्तहरूको घरमा खोज्दा पनि नभेटिएपछि घरमा हेर्दा तेस्रो तलामा वडाध्यक्ष रामबहादुरले रगतका छिटा देखेका थिए भने बाहिर गरामा खनेको जस्तो देखेका थिए। सो कुरा बताएपछि सोही दिन इलाका प्रहरी कार्यालय दुर्गाथली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली खटिएको थियो।

सो टोलीले घटनास्थल सुरक्षित राखेर बिहीबार बिहानदेखि अनुसन्धान अघि बढाएको थियो। घटनास्थल हेर्दा तेस्रो तलामा हत्या गरी शवलाई तानेर गरामा पुरेको जस्तो देखिएको प्रहरी निरीक्षक कार्कीले बताए। साथै प्रहरी नजिकै रहेको शौचालयमा पुरूषको कपडा फेला पारेको थियो। जसमा रगत र माटो लागेको थियो। सो कपडा कसको हो भनी बुझ्दा सुवासको भएको खुलेको हो।

त्यसपछि उनको खोजी गरी प्रहरीले वडा नम्बर ७ को लौवादेव डाँडामा भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरी निरीक्षक कार्कीले बताए। सोधपुछ गर्दा सुवासले २७ गते आइतबार बिहान धारिलो हतियार प्रयोग गरी हत्या गरेको बयान दिएको उनले बताए।

हत्यापछि उनले मृतकले कान र नाकमा लगाएको तीन वटा सुनका मुन्द्रा लगेर बेचेका थिए। साथै बिक्री गरी साँझ ६-७ बजे घर फर्केर शवको व्यवस्थापन गर्न लागेका थिए।

जिल्ला प्रमुख प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार अहिलेसम्म उनले त्यसैको लागि हत्या गरेको देखिन्छ। तर थप अनुसन्धानपछि मात्रै खास कारण खुल्ने उनले बताए। उनले शवलाई घरबाट तानेर बाहिर लगेर खाल्डोमा पुरेको प्रारम्भीक सोधपुछमा बताएका छन्।

‘अहिलेसम्म अरू कारण खुलेको छैन। अनुसन्धानबाट अरू थप खुल्दै जाला,’ खड्काले भने,’बुवाले प्रहरीलाई खबर गर्दासम्म उ पनि घटनास्थलमै भएको खुलेको छ। तर पछि प्रहरी घटनास्थलमा पुग्दा भागेको भन्ने छ।’

उनीविरूद्ध काका देवराज जप्रेलले जाहेरी दिएका छन्। बिहीबार जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान अघि बढाएको छ।

चर्चामा

सम्बन्धित समाचार