बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • सेनिटाइजर खाएर मोरङमा एकै दिन दुई जनाको मृत्यु

सेनिटाइजर खाएर मोरङमा एकै दिन दुई जनाको मृत्यु

  • मङ्लबार, फाल्गुन १८, २०७७
सेनिटाइजर खाएर मोरङमा एकै दिन दुई जनाको मृत्यु

विराटनगर– कोरोना भाइरस संक्रमण रोक्नलाई प्रयोग गरिने सेनिटाइजर सेवन गरेका कारण मोरङमा एकै दिन वृद्ध अवस्थाका दुई जनाले ज्यान गुमाउनु परेको छ।

किटाणु नष्ट गर्नका लागि हातमा लगाइने सेनिटाइजर सेवन गर्दा मृत्यु भएकामा एक वृद्धा महिला र एक वृद्ध पुरुष रहेका छन्। कोरोना महामारी फैलिएयता सेनिटाइजरको प्रयोग बढेको छ। तर यसको सेवनका कारण मानिसको ज्यानै गएको घटना भने मोरङमा पहिलो पटक भएको हो।

सेनिटाइजर सेवनपछि मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका–४ घर भइ विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल रहेका छन्। दुवै जनाको विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिए।

उनका अनुसार गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेको पाइएको छ। मदिराको नशामा रहेकी गिरीले गत शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा लिटरजति सेनिटाइजर एकै पटकमा पिएको जानकारी उनका श्रीमान छविलाल गिरीले प्रहरीलाई दिएका छन्। छविलाल रघुपति जुट मिल्समा मजदुरी गर्छन्।

पारिवारिक विवादपछि मण्डलले पनि शनिबार राति १० बजेतिर सेनिटाइजर सेवन गरेको खुलेको प्रहरीले जनाएको छ। दुवै जनालाई उपचारका लागि शनिबार राति नै अस्पताल ल्याइएको थियो। कोसी अस्पतालका अनुसार सुरुमा उपचारका लागि ल्याउँदा बोल्न सक्ने अवस्थामा रहेका दुवै जनाको स्वास्थ्य पनि सामान्य नै थियो।

तर केही समयमै दुवै जनाको स्वास्थ्य अवस्था बिग्रिएर गयो। अवस्था गम्भीर बनेपछि मण्डललाई आईसीयूमा राखिएको र उपचारकै क्रममा उनको सोमबार बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए। उनका अनुसार स्वास्थ्य अवस्था थप जटिल बनेर गएकी वृद्धा महिलाको आकस्मिक कक्षमै बिहान १ बजेतिर मृत्यु भएको हो।

सेनिटाइजर सेवन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने बताउँदै डा. दासले सावधानी अपनाउन सबैमा आग्रह गरेका छन्। कोरोना महामारी सुरु भएपछि सेनिटाइजरको प्रयोग अत्याधिक बढेको छ। कोरोनाबाट जोगिन यसको प्रयोग गर्ने गरिए पनि केही खाने बेलामा भने राम्ररी साबुनपानीले हात धुनुपर्ने बताउँदै डा. दासले नभए त्यसले ठूलो असर पुर्‍याउने उल्लेख गरे।

सेनिटाइजरमा पनि विषादी हुने भएकाले अस्पतालले मृत्युको कारण विषादी भएको जानकारी दिएको एसपी खड्काले बताए। उनले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान थालेको उल्लेख गरे। #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार