बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • महाकाली तटमा वीरताका तीन गन्तव्य

महाकाली तटमा वीरताका तीन गन्तव्य

  • शुक्रबार, फाल्गुन ७, २०७७
महाकाली तटमा वीरताका तीन गन्तव्य
डँडेलधुराको सदरमुकामको उच्च टाकुरामा रहेको अमरगढी किल्ला ।

सुदूरपश्चिमको महाकाली नदी आसपास घुम्ने पर्यटकका लागि तीन ऐतिहासिक र वीरहरूको गाथा स्मरण गर्ने गन्तव्य छन् । यस क्षेत्रमा रहेका ऐतिहासिक अमरगढी किल्ला, सहिद दशरथ चन्दको जन्मघर र किसान नेता भीमदत्त पन्तको बासस्थानले पर्यटकहरूलाई आकर्षित गर्दछन् ।

सुदूरपश्चिमको डँडेलधुरामा अमरगढी किल्ला छ । ऐतिहासिक अमरगढी किल्ला रहेको डँडेलधुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ ।

बैतडीको बस्कोटमा दशरथ चन्दको जन्मघर छ । उनलाई सहिद माइला पनि भनिन्छ । तत्कालीन राणा सरकारले १५ माघ १९९७ मा उनलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो । बस्कोट गाउँमा रहेको सहिद दशरथ चन्दको घरलाई संग्रहालय बनाइएको छ भने उनको सालिक पनि निर्माण गरिएको छ ।

तेस्रो महत्त्वपूर्ण ठाउँ हो डँडेलधुरामा रहेको भीमदत्त पन्तको जन्मघर । पन्त नेपालका एक सशक्त व्यक्ति हुन् । ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्दै आन्दोलनको अगुवाइ गरेका पन्त किसान नेताका रूपमा परिचित छन् ।

अमरगढी किल्ला

डँडेलधुरामा रहेको अमरगढी किल्लाको प्रवेशद्वारमा बडाकाजी अमरसिंह थापाको सालिक छ । त्यहाँ लेखिएको छ, ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ ।’

यो किल्ला समुन्द्री सतहबाट करिब ६ हजार ५ सय फिट उचाइमा छ । नेपाल एकीकरणको सिलसिलामा १३ भदाै १८४७ मा आइतबार सेती नदीको नारीदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा आएका दश कम्पनी गोर्खाली सैनिक र डोटेली सैनिकबीच घमासान युद्ध भएको थियो । श्री ५ रणबहादुर शाहको शासन तथा बहादुर शाहको नायबीका बखत यो युद्ध भएको थियो ।

यो किल्लामा नेपाल एकीकरण र ब्रिटिससँगको युद्धमा प्रमुख प्रशासनिक कार्यालय थियो ।किल्लाको ऐतिहासिक महत्त्व उच्च छ, यहाँ भएका हतियार भने अहिले छैनन् । ती ऐतिहासिक हतियार कहाँ छन् भन्ने अहिलेसम्म पत्तो लागेको छैन । नेपाल एकीकरणका बेला अङ्ग्रेजसँग लड्न गोर्खाली सेनाले यो किल्लाको प्रयोग गरेको थियो ।

किल्लाबाट पुरातात्त्विक महत्त्वका हतियार हराएकाले त्यसको प्रयोग कसरी हुन्थ्यो र त्यतिबेलाको युद्धकलामा कस्तो तयारी गरिन्थ्यो भन्ने कुरा खोजको विषय छ ।

अमरसिंह थापाले वि.सं. १८४७ मा स्थापना गरेको यो किल्लामा एकीकरणको समयमा प्रयोग भएका हातहतियार नभए पनि नगरपालिकाले भौतिक संरचनाको संरक्षणमा भने प्रयास गरेको छ ।

नेपालका ‘जीवित किल्ला’मध्ये पहिलो किल्ला अमरगढी रहेको विज्ञहरू बताउँछन् । पुरातत्त्व विभागका अनुसार अमरगढी र सिन्धुलीगढी मात्रै हालसम्म जीवन्त किल्लाको रूपमा रहेका छन् ।

तत्कालीन डोटेली फौजले अङ्ग्रेजसँग लड्दा प्रयोग गरेका तोप, बन्दुक, घरेलु भालालगायत ऐतिहासिक हतियार र सैनिक पोशाक पनि खोजी हुन सके किल्लाको महत्त्व अझ बढ्ने स्थानीय बताउँछन् ।

एकीकरणको समयमा बडाकाजी थापाले डोटेली राज्यको डँडेलधुरालाई आधारक्षेत्र बनाई कुमाउ र गढवालसम्म युद्ध लड्न अमरगढी किल्ला प्रयोग गरेका थिए । प्रत्येक वर्ष दशैँको फूलपातीमा यही किल्लामा रहेका सैनिक तोप लगेर टुँडिखेलमा पड्काउने गरिन्थ्यो ।

२०५४ सालमा यही किल्लाको नामबाट अमरगढी नागरपालिका स्थापना भयो । २०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो मातहतमा लियो ।

वि.सं. २०५८ मा माओवादी युद्धका क्रममा उक्त किल्ला नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि किल्लामा पर्यटकको प्रवेश तथा त्यस क्षेत्रमा हिँडडुल गर्न प्रतिबन्ध लगाइयो । २०५८ देखि २०६६ सालसम्म किल्ला सेनाको मातहतमै रह्यो ।

स्थानीयको पटक–पटकको प्रयासपछि २०६६ पुसदेखि किल्लाको रेखदेख र सञ्चालन गर्ने जिम्मा अमरगढी नगरपालिकाले पाएको हो । त्यसपछि पर्यटकलाई प्रवेश खुला गरिए पनि फोटो खिच्न भने वि.सं. २०६९ देखि स्वीकृति दिइएको हो ।

सात वर्षदेखि नगरपालिकाले किल्लाको स्वामित्व लिए पनि हतियारको खोजबिन गरेको छैन । स्थानीयका अनुसार पाँच तोप, ५० बन्दुक, एक दर्जन भीमसेन नाल बन्दुक र केही घरेलु हतियार किल्लामा थिए । तर, अहिले कुनै पनि हतियार त्यहाँ देखिँदैनन् । सुरक्षाको प्रबन्ध छैन ।

इतिहासले कसरी बुझ्छ ?

सेती नदीको नारीदाङमा भएको युद्धमा डोटेली फौज पराजित भएको थियो । त्यसपछि डोटी राज्य नेपाल अधिराज्यमा गाभिन पुग्यो । भू–भागको सुशासन सुदृढ र विस्तार गर्न अमरसिंह थापा यस क्षेत्रको प्रथम प्रशासक नियुक्ति भएर आए ।

थापाले यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पनि विजय अभियान जारी राख्न अमरगढी किल्लाको निर्माण गर्न लगाएका हुन् ।

किल्ला निर्माणपछि थापा, काजी जगत्जित पाण्डे, कप्तान गोलैया, रणवीर खत्री सुब्बा आदि सैनिक नेतृत्वले यसलाई आधारकिल्ला कायम गरी बसे । कालीकुमाउ ‘सर्च’ अभियानमा बीच बाटोमा घौली ठानेर रङ्ग्यौलीमा कुमाउका राजा मोहन चन्दको फौजले गोर्खाली फौजमाथि अचानक आक्रमण गर्‍यो । यसबेला गोरखाली सैनिक सजग नभएका कारण उनीहरूकोे पराजय भयो ।

केही समयपछि थापाको रणकौशल तथा गोर्खाली सैनिकको अभूतपूर्व प्रदर्शनले विरोधीमाथि विजय हासिल भयो । त्यसपछि अमरगढी किल्लाको मातहतमा रहने गरी एउटा किल्ला (छाउनी) कुमाउमा राखिएको थियो । यो विशाल किल्लाकै कारण १८७३ को अङ्ग्रेजसँगको लडाइँमा पनि विजयी भएकाले यसको ऐतिहासिक तथा सामरिक महत्त्व बढेको हो ।

अमरसिंह थापाद्वारा निर्माण गरिएको विशाल ढुङगेकिल्लाको निर्माण कलात्मक छ । चारैतिर ढुङ्गाले बनाइएको उक्त किल्लाभित्र गुफाहरू बनाइएका छन् ।

शत्रुलाई छल्ने अनेक युद्ध सफलताको सैनिक प्रयोग र शत्रुद्वारा आएका शस्त्र निरोध गर्ने मार्गको पनि निर्माण गरिएको छ । किल्लामाथिका ठूलाठूला रुखले यसको शोभा बढाएको छ । किल्लाको बीच भागमा उग्रभैरवको मन्दिर प्रतिस्थापन भएबाट यसको धार्मिक र सामरिक महत्त्व झल्केको छ ।

दशरथ चन्दको जन्मघर

१७ असार १९६० सालमा बैतडीको बस्कोटमा जन्मेका दशरथ चन्दलाई तत्कालीन राणा सरकारले १५ माघ १९९७ मा काठमाडौंको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।

चन्द जन्मेको घरलाई बैतडीको दशरथचन्द नगरपालिकाले संग्रहालयको रूपमा संरक्षण गरेको छ । बनारसमा अध्ययन गरेका दशरथको विवाह काठमाडौंको राणा खानदानकी जुलिया मैयासँग गर्ने तय भए पनि विवाह भने हुन सकेको थिएन ।

बैतडीस्थित दशरथ चन्द नगरपालिका- ५, बस्कोटमा रहेको सहिद दशरथ चन्दको जन्मघर । यो अहिले संग्रहालयको रूपमा छ ।

पिता शेरबहादुर र आमा ओजकुमारीको माहिलो छोरोका रूपमा चन्दको जन्म भएको हो । उनका पितालाई सुर्खेतमा टुँडिखेल बनाउने लेफ्टिनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्छ । राणा शासनका विरोधीहरूमा सशक्त व्यक्तित्व दशरथ चन्दले मानविकी तथा समाजशास्त्रमा बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए ।

दशरथ चन्दको जन्मघर र उनको सालिक ।

त्यही बेला उनले काशी नागरिक प्रचारिणी सभामा आवद्ध भई राजनीति सुरु गरेका थिए । महात्मा गान्धीले भारतमा प्रारम्भ गरेको सत्याग्रहमा चन्द सक्रिय सहभागी भएको बताइन्छ ।

वि.सं. १९९० सालमा बाराको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथको भेट भयो । १९९१ सालमा उनी सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुगे । त्यसपछि थाइल्याण्ड पुगेर चन्दले नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाए । उनी नेपाल प्रजापरिषद्को कार्यकर्ता थिए । उनले सेवासिंह भन्ने छद्म नामबाट राणाविरोधी लेख छाप्ने गरेका थिए ।

दशरथ चन्द र अर्का सहिद गङ्गालाल श्रेष्ठ जेलको एउटै कोठामा परे । तत्कालीन राणा सरकारले १५ माघ १९९७ मा दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दियो ।

भीमदत्त पन्तको घर

डँडेलधुराको अमरगढी नगरपालिका–१ कारीगाउँमा भीमदत्त पन्तको जन्मघर छ । जसलाई अमरगढी नगरपालिकाले संग्रहालयका रूपमा निर्माण गर्न सुरु गरेको छ ।

१० मंसिर १९८३ मा तारानाथ पन्त र सरस्वती देवीको गर्भबाट पन्तको जन्म भएको हो । उनी १५ वर्षको उमेरमा भारतको सिंघाईबाट म्याट्रिक पास गरेर नेपाल फर्केका थिए ।

उनले डँडेलधुराको विरखनमा संस्कृत पाठशाला खोले । त्यसपछि तल्लो सोरठ र रूपालमा पनि पाठशाला खोले । २००१ सालमा भारत पढ्न गएका पन्त अंग्रेज हटाउने आन्दोलनमा लाग्दा पक्राउ परी २००३ मा छुटेका थिए ।

उनले डँडेलधुराको शैक्षिक विकास एवं सामाजिक परिर्वतनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पन्तले दलितहरूको घरमा खाना खाएर छुवाछुत अन्त्यको घोषणा गरेका थिए ।

डँडेलधुरास्थित अमरगढी नगरपालिका–१, कारीगाउँमा रहेको भीमदत्त पन्तको जन्मघर ।

११ वर्षको उमेरमा पार्वतीदेवी (ईश्वरी) सँग उनको विवाह भयो । उनका दुई छोरा र एक छोरी जन्मे पनि जीवित रहेनन् । नेपाल फर्केर पन्तले २००६ सालमा नेपाली कांग्रेसको सदस्यता लिए । २००८ सालको किसान आन्दोलनमा मतभेद आएपछि उनले कांग्रेस छाडे । त्यसपछि कम्युनिस्ट पार्टीतिर लगाव राख्न थालेका उनले २००९ सालमा काठमाडौं आएर कम्युनिस्ट पार्टीसँग सम्पर्क गरे ।

सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने पहिलो व्यक्ति पनि भीमदत्त पन्त नै थिए । अन्याय र सामाजिक भेदभाव सहन नसक्ने पन्तले २००७ सालदेखि आन्दोलनको सुरुआत गरेका थिए ।

२००७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको व्यवहार उनलाई मन परेन । उनले क्रान्ति पूरा भएको छैन भन्दै राणासँग मिलेर बनाएको सरकारको विरोध गरे । पन्तले दलित, मगर र थारूलाई संगठित गरी मुक्ति सेना बनाए । नेपालगञ्जका गौरीलाल र रूपसिंह दुई जना सेनाका कमान्डर थिए ।

राणाविरोधी आन्दोलनमा गरिब, दलित, जनजाति तथा किसानलाई संगठित गर्न पन्तको ठूलो भूमिका छ । गरिब सर्वसाधारणले नुन खान नपाएको देखेर पन्तले ‘नुन आन्दोलन’को घोषणा गरे । त्यस क्रममा उनले कञ्चनपुरको ब्रह्मदेवमा रहेको गोदामबाट गरिबलाई नुन वितरण गरेका थिए । उनी ‘जसको जोत उसको पोत’, ‘कमैया प्रथा उन्मूलन’ जस्ता आन्दोलनमा लागे ।

पन्तलाई उनका साथीले धोका दिएका थिए । उनलाई डँडेलधुरास्थित जोगबुढाको बिर्खमको जंगलमा गोली हानी मारिएको थियो । पन्त लुकेको ठाउँ उनकै साथीले देखाएका थिए । उनलाई मार्न भारतबाट सैनिक बोलाइएको थियो । २०१० साल साउन १७ मा पक्राउ गरी पन्तलाई १८ साउनमा टाउको काटेर मारिएको थियो ।

 निमेन्द्र शाही/शिलापत्र

चर्चामा

सम्बन्धित समाचार