शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • भेटेकै हुन् त न्यायाधीशहरुले प्रधानमन्त्रीलाई ?

भेटेकै हुन् त न्यायाधीशहरुले प्रधानमन्त्रीलाई ?

‘भेटेका हुन् भने उनीहरुले न्यायालयबाट बिदा लिनुपर्छ’

  • शुक्रबार, माघ २, २०७७
भेटेकै हुन् त न्यायाधीशहरुले प्रधानमन्त्रीलाई ?

‘अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेका हुन् भने त्यो सामान्य विषय होइन । उनीहरुले न्यायालयबाट बिदा लिनु पर्छ’, एक जना वरिष्ठ अधिवक्ता भन्छन्, ‘निष्पक्ष न्याय दिनु पर्ने श्रीमानहरुले प्रधानमन्त्रीसँग भेट गरेका हुन् भने त्यो क्षम्य विषय हुनै सक्तैनन् । त्यस्ता न्यायाधीशहरुबाट जनताले न्यायपालिका स्वतन्त्र छ भनेर विश्वास गर्न सक्तैनन् । ती न्यायमूर्तिहरुलाई न्यायालयबाट बिदा गर्नै पर्छ ।’

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काले २६ पुसको राति २०: ०० बजेबाट २१:१० बजेसम्म (राति ८ देखि ९ बजेर १० मिनेट सम्म) प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको उच्च स्रोतले बताएको छ, । उनीहरुलाई ओलीले आफ्नो सरकारी निवास बालुवाटारमै बोलाएर भेट गरेका उच्च स्रोतको भनाई छ ।

त्यसको अघिल्लो दिन दिउँसो १३:२० बजेबाट १४:५५ बजेसम्म अर्थात दिउँसो १.२० बाट २.४५ सम्म) प्रधानमन्त्री ओलीले न्यायाधीश हरिकृष्ण कार्की र सपना प्रधान मल्ललाई भेट गरेको राष्ट्रिय अनुसन्धान विभाग स्रोत बताउँछ । त्यस दिन सर्वोच्च अदालतमा कार्कीको कुनै पनि इजलास थिएन । तर, मल्ल र मनोजकुमार शर्माको इजलास नं. ९ मा संयुक्त इजलास थियो । मल्ल र शर्माले मुद्दाको फाँट नं. १३ र १८ बाट दुई–दुई वटा मुद्दा फैसला गरेका थिए भने रिट नं. ५ का ७ वटा मुद्दा पनि हेरेका थिए ।

न्यायाधीश हरीकृष्ण कार्कीलाई रातोपाटीले प्रधानमन्त्रीसँग भेट गर्नु भएको हो ? प्रश्न गरेको थियो । न्यायाधीश कार्कीले ‘खै मलाई त थाहा छैन त्यस्तो कुरा’ भने । ‘संवैधानिक इजलासमा मेरो सहभागिताबारे प्रश्न उठेपछि मैले त्यहाँ बस्दिना भने । म आफ्नो सीमामा बसेको छु,’ कार्कीले बिहान साढे नौ बजे नै रातोपाटीसँग भनेका छन् ‘म गएको छैन । कसैलाई त्यसरी भेट्दा पनि भेट्दिन ।’

सर्वोच्च अदालत बार एसोसिएसनका कोषाध्यक्ष अधिवक्ता विनोद कार्कीका अनुसार जाडो महिनामा दिउँसो १ देखि २ बजेसम्म अदालतको ‘टी ब्रेक’ को समय हो । अहिले जाँडो महिना हो । ‘त्यो दिन दिउँसो सपना प्रधान मल्ल श्रीमान्ले प्रधानमन्त्रीलाई भेट्दै भेट्नु भएन होला भनेर त कसरी दावी गरुँ र ?’, न्यायाधीशहरुको आचरण, मर्यादाभित्र बस्नुपर्छ भन्दै आएका अधिवक्ता कार्की भन्छन्, ‘त्यो दिन सपना प्रधान मल्ल श्रीमान्ले जुन मुद्दा हेरेको सूची तपाईले बताउनु भयो, त्यस अनुसार भेटको संभावना ७०/८० प्रतिशत देखिदैन ।’

स्रोतको दावी के छ भने न्यायाधीश हरिकृष्ण कार्की बालुवाटार गएकै हुन् । उनको गाडीमा एक जना कालो कोट लगाएकी महिला पनि थिइन् । ती को हुन् भनेर यकिन भएन । यद्यपि, न्यायाधीश कार्की तेहर्‍याएर भन्छन्, ‘म गएको छैन ।’

न्यायाधीश हरिकृष्ण कार्की र सपना प्रधान मल्ल दुवै भावी प्रधान न्यायाधीशको रोलक्रममा छन् । संयोग के भने उनीहरुलाई दुवैलाई पूर्व नेकपा एमालेको कोटाबाट प्रधान न्यायाधीशको रोलक्रममा राखेर न्यायाधीश बनाइएको थियो । कार्की र मल्ल दुवै प्रधानमन्त्री ओली निकट पनि मानिन्छन् । ०६४ को संविधानसभा निर्वाचनबाट मल्ललाई नेकपा एमालेले समानुपातिक सभासद् बनाएको थियो । उनै मल्ललाई पछि न्यायाधीश बनाएपछि त्यसबेला ठूलै बिरोध पनि भएको थियो ।

वरिष्ठता नं. २ र ३ मा रहेका न्यायाधीश कार्की र खड्कासँग भने रातोपाटीको कुराकानी हुन सकेन । राष्ट्रिय अनुसन्धान विभाग स्रोतले कार्की, खड्का र प्रधानमन्त्रीबीच राति भेट भएको बताएको छ । प्रधानन्यायाधीश राणाले बरियताक्रम मिचेर आफूहरुलाई संवैधानिक इजलासमा नराखेकोमा कार्की र खड्का रुष्ट छन् । ओलीले उनीहरुको त्यही मनोविज्ञान बुझेर आफूप्रति आकर्षित गर्न भेट गरेको स्रोतको भनाइ छ । बृहत् पूर्ण इजलासमा मुद्दा गएमा वरिष्ठताका आधारमा उनीहरु अवश्य नै त्यसमा रहन्छन् । त्यसका लागि ‘फकाउन’ पनि ओलीले उनीहरु बालुवाटार निम्त्याएका स्रोतको भनाइ छ । कार्की र खड्का नेपाली काँग्रेस निकट मानिन्छन् ।

एक जना वरिष्ठ अधिवक्ताका अनुसार अदालतमा मुद्दा विचाराधीन रहेको बेला उनीहरुले प्रधानमन्त्रीलाई भेटेको हुन् भने त्यो सामान्य विषय होइन । उनीहरुले न्यायालयबाट बिदा लिनु पर्छ । ‘निष्पक्ष न्याय दिन पर्ने श्रीमानहरुले प्रधानमन्त्रीसँग भेट गरेका हुन् भन्ने त्यो क्षम्य विषय हुनै सक्तैन,’ ती वरिष्ठ अधिवक्ता भन्छन्, ‘त्यस्ता न्यायाधीशहरुबाट जनताले न्यायपालिका स्वतन्त्र छ भनेर विश्वास गर्न सक्तैनन् । ति न्यायमूर्तिहरुलाई न्यायालयबाट बिदा गर्नै पर्छ ।’राताेपाटी डटकमबाट शाभार 

चर्चामा

सम्बन्धित समाचार