शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • बझाङमा मन्त्री ठगुन्नालाई कालो झण्डा

बझाङमा मन्त्री ठगुन्नालाई कालो झण्डा

  • मङ्लबार, पुस २८, २०७७
बझाङमा मन्त्री ठगुन्नालाई कालो झण्डा

बझाङ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना बझाङ आइपुगेका छन्। जिल्ला सदरमुकाम चैनपुरमा नेकपा बझाङको आयोजनामा हुन लागेको बृहत आमसभालाई सम्बोधन गर्न मन्त्री ठगुन्ना बझाङ पुगेका हुन्।

नेकपामा विभाजन देखिएपछि नेकपाको ओली समूहले बझाङमा शक्ति प्रदर्शनसहित आमसभा गर्न लागेको हो। आमसभामा सहभागी हुन जिल्लाका विभिन्न ठाउँबाट कार्यकर्ता सदरमुकाम आइरहेका छन्। बझाङमा नेकपाका ओली र प्रचण्ड-माधव समूहले गुटगत कार्यक्रम गर्दै आएका छन्।

मन्त्रीको आगमनलाई लक्षित गरेर जिल्ला सदरमुकाम चैनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ। चैनपुरको लोकतान्त्रिक चोकमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ताले विरोध र कालो झण्डा देखाउन सक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो। मन्त्री ठगुन्ना बझाङ पुग्नुअघि प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्नुका साथै टायर बालेका थिए।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला शान्ति व्यवस्थामा खलल पुग्ने र दुई समूहबीच झडपको स्थिति सिर्जना हुने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। प्रचण्ड-माधव समूहले मन्त्री ठगुन्नालाई बाहुलीगाड नजिक कालो झण्डा देखाएको छ।

संसद विघटन असंवैधानिक भएको भन्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी र अनेरास्ववियु जिल्ला कमिटीले कालो झण्डा देखाएका हुन्। कार्यक्रम गरेपछि दुवै पक्षका कार्यकर्ताबीच झडपको स्थिति आउने सक्ने भन्दै सतर्कता अपनाउन सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए।

प्रधानमन्त्री ओलीको संसद् विघटनको विरोधमा प्रचण्ड-माधव समूह आन्दोलनमा छ। सुदूरपश्चिममा कमजोर देखिएको ओली समूहले शक्ति प्रदर्शन गर्न लागेको हो। बझाङमा पनि पूर्ववनमन्त्री भानुभक्त जोशी सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापा, जिल्ला अध्यक्ष मीनबहादुर कुंवर लगायतको समूह प्रचण्ड-माधव समूहमा देखिएका छन्।

चर्चामा

सम्बन्धित समाचार