
धनगढीमा २ जना प्रहरीको हत्या घटनामा पक्राउ परेका मटर व्यापारी सहितका अभियुक्तलाई हदैसम्म कारवाही गर्न प्रहरीले राय दिएको छ ।
अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएकाहरुलाई हदैसम्मको कारवाही गर्न जिल्ला प्रहरी कार्यालय कैलालीले सरकारी वकिललाई राय दिएको हो ।
हत्याकाण्डको अनुसन्धान प्रतिवेदन बुझाउँदै कैलाली प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जना अभियुक्त, मटर व्यापारी र अनुसन्धानका क्रममा पछि खुल्दै जानेलाई कानून बमोजिम हदैसम्म कारवाहीको माग सहित उक्त राय दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै संलग्नलाई हदैसम्मको कारवाही गर्न राय दिईएको जानकारी दिए ।
उनका अनुसार यसअघि नै अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई पेश गरिएको भएपनि १ जना अभियुक्तलाई कोरोना देखिएपछि अदालतीय प्रक्रिया भने पछाडी धकेलिएको छ ।
‘हामीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेका छौँ । ’ सहायक प्रवक्ता प्रहरी निरिक्षक थापाले भने, ‘यो बीचमा परेको सार्वजनिक विदा र अभियुक्तलाई कोरोना देखिएपछि अदालत पेश गर्न सकेका छैनौँ । ती अभियुक्तको कोरोना रिर्पोट नेगेटिभ आउने बितिकै पेश गछौँ ।’
गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउदको हत्या गरिएको थियो । विभत्स हत्या गरेको अवस्थामा उनीहरु दुवै जनाको शव मोहना नदीमा फेला परेको थियो ।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले जुगेडाकै ७ जनालाई पक्राउ गरेको छ भने हत्याका नाईके भनिएका १ जना अझै फरार छन् ।
मटर तस्करीमा अवरोध गरेपछि प्रहरीको हत्या गरेको अभियुक्तको बयानका आधारमा धनगढीकै व्यापारी राजिव गुप्तालाई समेत प्रहरीले पक्राउ गरेको छ ।


