मङ्लबार, जेष्ठ २६, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा एमालेले किन फेर्न सकेन मन्त्री ?

सुदूरपश्चिममा एमालेले किन फेर्न सकेन मन्त्री ?

  • मङ्लबार, जेष्ठ २६, २०८३
सेयर गर्नुहोस् :
सुदूरपश्चिममा एमालेले किन फेर्न सकेन मन्त्री ?

धनगढी–सुदूरपश्चिम प्रदेशका मन्त्री फेर्ने विषयलाई लिएर नेकपा एमालेभित्र भाँडभैलो भएको छ । सोमबार सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना सबै मन्त्री फेर्दा सत्ता साझेदार दल नेकपा एमाले भने आन्तरिक कलहमा अल्झिन पुग्यो ।

दुवै दलका मन्त्री एकसाथ फेर्ने तयारी भए पनि अन्तिम समयमा एमालेका मन्त्रीहरूको शपथ रोकियो । एमालेका सुदूरपश्चिम प्रदेश सभा सदस्यहरू र कार्यकर्ताहरूले आफ्नै दलका नेताविरुद्ध नाराबाजी गर्दै पार्टी कार्यालयमा तालाबन्दी समेत गरे ।

यता नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिएको आन्तरिक विवादलाई मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रीमण्डल पुनर्गठनमार्फत साम्य पार्ने प्रयास गरेका छन् । सोमबार सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसका तर्फबाट तीन नयाँ मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका छन् ।

आर्थिक मामिलामन्त्री विक्रम सिंह धामी, सामाजिक विकासमन्त्री बेलबहादुर रानामगर र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर रावलले शपथ लिएर जिम्मेवारी सम्हालेका हुन् । त्यसैगरी, मधु भारती र जुना दानीले राज्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण समारोहपछि नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गर्दै अब पार्टीभित्रको विवाद समाधान हुने र सरकारले गति लिने विश्वास व्यक्त गरेका छन् । नयाँ मन्त्रीका समर्थक र कार्यकर्ताहरूले खुसीयाली साटासाट गरेका थिए ।

कांग्रेसमा खुसीयाली छाउँदा नेकपा एमालेमा भने सोमबारको दिन तनावपूर्ण रह्यो । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री शाह र एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावललाई फोन गरेर हाल सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउन र नयाँ टोली पठाउन निर्देशन दिएका थिए ।

ओलीको निर्देशन अनुसार चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी, सन्तोषकुमारी शर्मा थापा र जानकी ऐर बमलाई मन्त्री बनाउने तयारी गरिएको थियो । यो खबर सार्वजनिक हुनासाथ उनीहरूलाई बधाई दिनेको ओइरो लागेको थियो । सोमबार दिउँसोसम्म मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारीसमेत भइसकेको थियो ।

सोमबार अपराह्न ४ बजेतिर अचानक निर्णय बदलियो । एमाले अध्यक्ष ओलीको सचिवालयबाट दलका नेता राजेन्द्र रावललाई पुनः फोन आयो । फोनमा अहिले बजेटको बेला भएकाले मन्त्रीहरू यथावत् राख्नु भन्ने नयाँ निर्देशन आएपछि मन्त्री बन्न ठिक्क परेका नेताहरू खिस्स परे । अध्यक्ष ओलीको यो निर्णयपछि एमालेभित्र किचलो भयो ।

मन्त्री बन्ने पक्का भइसकेका नेताहरूलाई रोकेपछि कार्यकर्ताहरू आक्रोशित बने । संसदीय दलका नेता राजेन्द्र सिंह रावलले एकलौटी निर्णय गरेको र केन्द्रमा गलत रिपोर्टिङ गरेको भन्दै उनीविरुद्ध नाराबाजी भयो । आक्रोशित कार्यकर्ताहरूले दलको कार्यालयबाहिर रावलको नेमप्लेट समेत तोडफोड गरे ।

धनगढीस्थित नेकपा एमालेको प्रदेश पार्टी कार्यालयमा समेत तालाबन्दी गरियो । मन्त्रीमा प्रस्तावित भएकाहरू र उनीहरूका समर्थकहरूले यो कदमलाई आफ्नो अपमान ठानेका छन् । स्रोतका अनुसार पार्टीभित्रको एउटा गुट नयाँ मन्त्री पठाउन चाहने र अर्को गुट पुरानालाई नै टिकाइराख्न चाहने हुँदा टकराब बढेर एमाले सुदूरपश्चिम अहिले अस्तव्यस्त बनेको छ । राताेपाटी

चर्चामा

सम्बन्धित समाचार