बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • तिर्खाले सुकेको ओठ, गाउँ नै खाली हुँदाको चोट

तिर्खाले सुकेको ओठ, गाउँ नै खाली हुँदाको चोट

  • सोमवार, कार्तिक २४, २०७७
तिर्खाले सुकेको ओठ, गाउँ नै खाली हुँदाको चोट

२४ कात्तिक, पोखरा । ‘आम्मामा… कति मान्छे आको हो,’ रेवती आले दंग परिन् । मान्छे देख्नै मुश्किल पर्ने डाँडामा एक्कासी लागेको भीडले रेवती चकित थिइन् । ६५ वर्षीया उनले कात्तिक २२ गते शनिबार जति भीड यो डाँडामा कहिल्यै देखेकै थिइनन् ।

डाँडा हो, तनहुँको मानहुँकोट । ब्यास नगरपालिका वडा नम्बर ५ मा पर्ने मानहुँकोटमा शनिबार रमिता थियो । हुलका हुल मान्छेहरु । मोटरसाइकल र गाडीका ट्याँट्याँ, टूँटूँ । मानिसहरुको भीड, हल्ला खल्लाले मानहुँकोट गुञ्जिरह्यो । ‘यत्रो मान्छे त मैले जीवनमा कहिल्यै देखेकै थिएन । मेरी बाबै…यति मान्छे आएन,’ रेवतीले हाँस्दै भनिन्, ‘कसैले फोटो खिच्या’छ, कोही नाच्या’छ, कोही चिच्या’छ । हामीलाई पनि सामान बेच्न भ्याइनभ्याइ भयो ।’

मानुङकोट (मानहुँकोट) मा एक्कासी किन मान्छे आए ? रेवतीलाई जस्तै गाउँलेलाई उतिसाह्रो जानकारी छैन । उनीहरुलाई त, सामान बेच्न भ्याइनभ्याइ छ । फाट्टफुट्ट मान्छेहरु त आउँथे, तर अलि धेरै आउन थालेको चाहिँ केही महिना मात्रै भयो । ‘शनिबार मानुङकोटमा यति भीड लाग्यो कि हामी डरायौं । ३ किलोमिटर सडक त गाडी र मोटरसाइकलले जाम नै भयो,’ वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले भने, ‘एकै दिन धानिनसक्नु गरी हजारौं मान्छे आए ।’

७ सयभन्दा धेरै मानिस शुक्रबार साँझ नै टेन्ट टाँगेर मानहुँकोटमा बसेको वडाध्यक्ष श्रेष्ठले बताए ।

****

नयाँ पुस्ताको लोकप्रिय सामाजिक सञ्जाल हो, टिकटक । लकडाउनले उकुसमुकस भएका मान्छेहरु खुकुलो भएसँगै रमाउने ठाउँको खोजिमा निस्कन थाले । प्रकृतिसँग रमाउने युवा पुस्ता मानहुँकोट पनि पुगे र टिकटक बनाए ।

दसैं सुरु भएसँगै यो क्रम ह्वात्तै बढ्यो । मुख्य कारण हो, कुहिरो । समुन्द्रजस्तो डम्म लागेको कुहिरो । कुहिरोको माथिबाट उदाउँदो सूर्यको अद्भूत दृश्य । घाँटी–घाँटीसम्म कुहिरो पुगेर कताकति देखिने थुम्का । आँखैअघि ठोकिन आइपुग्ने हिमालका दृश्य । तनहुँ मानहुँकोटको मुख्य विशेषता यही हो ।

यही दृश्यलाई पृष्ठभूमिका राखेर टिकटक बन्न थाले । समुन्द्रजस्तै डम्म तर अनेक आकृतिमा बग्ने कुहिरोसँगै उदाउँदो र अस्ताउँदो सूर्यको दृश्यले धेरैको मन जित्यो । टिकटकमा हिट बन्यो । एकै दिनमा हजारौंले हेर्न थाले । भिडियोले राम्रो भ्युज र लाइक पाएपछि उत्साहित बनेर युवा पुस्ता त्यहाँ पुगे र भाइरलै बनाए ।

टिकटक बनाउनकै लागि मानहुँकोट पुग्नेको संख्या एक्कासी कयौं गुणाले बढ्यो । ‘कुहिरोको समुन्द्रमा तैरिँदै सूर्य उदाइरहेको दृश्य सँच्चिकै अद्भूत देखिन्छ । कुहिरोमा समुन्द्रमा हाम फालौंजस्तो उत्साहित होइन्छ,’ पोखराका उत्सवले सुनाए, ‘मानहुँकोट पुगेपछि साँच्चिकै मनले पनि उत्सवै मनाउँछ ।’

शनिबारमात्र एकै दिन टिकटकमा मानहुँकोटको सयौं भिडियोहरु अपलोड भएका छन्, लाखौंले मन पराएका छन् । ह्यासट्यागमा मानुङकोट दमौली, मानुङकोट दमौली नेपाल, मानहुँकोट, मानहुँकोट तनहुँ नेपाल लेखेर टिकटकमा भिडियो बनेका छन् ।

पछिल्लो समय मुख्य टिकटककै कारण मानहुँमा नेपाली पर्यटक धानिनसक्नु भएको वडाध्यक्ष श्रेष्ठको अनुभव छ । ‘मानहुँ चिनाउन र पर्यटकीय स्थलका रुपमा विकास गर्न हामीले धेरै मिहिनेत गरिरहेका छौं,’ वडाध्यक्ष मोहनकुमारले भने, ‘पछिल्लो समय मान्छेको ओइरो लाग्यो । एक दिन सबैको पालो आउँदोरहेछ ।’

हिउँदमा मानहुँबाट देखिने मुख्य आकर्षक दृश्य नै कुहिरो हो । कुहिरोले बदलिरहने आकृति निकै सुन्दर देखिन्छ ।

परासर र व्यास ऋषिको तपोभूमि मानिने यो ठाउँ पौराणिक हिसाबले पनि कुहिरोसँग सम्बन्धित छ । सेती र मादीको संगमस्थलसँगै परासर ऋषिको आश्रम थियो । अति सुन्दरी मत्स्यगन्धालाई मन पराएपछि परासर ऋषिले नदीमा जलविहार गरिरहँदा कुहिरो उत्पन्न गराएर समागम गरेका थिए । बालिका मत्स्यगन्धालाई जवान र मत्स्यको गन्धलाई सुगन्धमा बदलेर कुहिरो उत्पन्न गरी परासरले सम्भोग गरेपछि व्यास जन्मिएको पौराणिक कथन छ । यो ठाउँ तिनै परासर ऋषिको तपोभूमि र वेद व्यासको जन्मभूमिका रुपमा पनि परिचित छ ।

पौराणिक कथनजस्तै यो ठाउँ हिउँदमा कुहिराले घुम्टोभित्र हराउने स्थानीय बताउँछन् । मानहुँकोटको पृष्ठभूमिमा देखिने दमौली बजार, भादगाउँ, चापाघाट, साँघे, पाटनलगायतका ठाउँ हिउँदमा कुहिरोको घुम्टो ओडेर बस्ने स्थानीय सुन्दर खनालले बताए ।

शनिबार एकैदिन १० हजार बढी पर्यटक पुगेपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै आलोचना समेत भएको छ । यो माहामारीमा अब भने ब्यास नगरपालिकाले ३ सय जनाभन्दा बढी जान रोक लगाउनुपर्ने स्थितिमा आइपुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार