शुक्रबार, बैशाख १४, २०८१

“सहिदको छोरो”

  • मङ्लबार, कार्तिक १८, २०७७
“सहिदको छोरो”

युद्ध निकै चर्कियो । शाही सेना र जनमुक्ति सेनाको प्रायः दोहोरो भिडन्त भैइरहन्थ्यो । सुन्नलाई रेडियोको कान समाति चिमोटेर घुमायो जहिल्यै मान्छे मरेको समाचार बोल्ने । रेडियो नेपालबाट प्रसारित बेलुका सात बजेको समाचार, कार्यक्रम घटना र विचार, राति नौ बजेको समाचार गाँउघरमा निकै लोकप्रिय भएको थियो त्यो ताका ।
देश एउटा छुट्टै खेलमा मग्न थियो । दाजुभाइ मार्ने, रगतको खोला बगाउने, यता राज्य पक्ष उता बिद्रोही पक्ष । जनता भने डरत्रासको भुमरीमा परी चुपचाप मुखदर्शक । रामे काका सहिद हुनु भन्दा पहिला उनको नाम राम थियो । गाँउघरमा सबैले रामे भनेर बोलाएको अहिलेपनि मलाई ताजा सम्झना छ । रामे काका मेरो सहोदर काका नभएपनि गाउँले काका हुन् । हट्टाकट्टा जवान हेर्दापनि चिटिक्क मिलेका, गोरो वणका, हँसिला र मिजासिला काका । रामे काका ०५३ सालातिर जङ्गल पसे । जनताको आमूल परिवर्तनका निम्ति युद्धमा होमिए । रामे काका माओवादी भएको केही महिनामै छापामारको सह कमान्डर चुनिए । छापामार सह-कमान्डर भएको छ महिना मै गण्डकी क्षेत्रको वटालिएन कमान्डरको जिम्मेवारी पाए ।
रामे काका अब गाँउघरमा सबैको समस्या बुझ्ने र सहयोग गर्ने भन्दा देश र जनताको निम्ति आफ्नो ज्यानलाई राइफलको नाल र खुकुरीको धारमा चढाएर निधारमा तारा अंकित रातो चिर्को बाँधेर दुईतीन सय जनमुक्ति सेनाको हुललाई सम्हालेर धेरै ठाउँमा युद्धलड्दा कति सहयोद्धा गुमाए, धेरै घाइते भए तैपनि युद्ध जित्दै गए । यससङ्गै पार्टीभित्र जनवादी बिहे गर्नेको होडबाजी नै चल्यो । त्यसको अछुतो रहन सकेनन् रामे काका । रामे काकाले आफ्नै बटालिएन सह-कमान्डर कम्रेड शिखासङ्ग पार्टीको ठुलो कार्यक्रममा धुमधामका साथ अंतरजातीय जनवादी बिहे गरे ।
रामे काकाको बिहेको कुरोले गाउँघरमा निकै चर्चा पायो । कुरा काट्नेकोपनि कमि थिएन । फलानोको छोराले त हाम्रो नाकै काट्यो कामीनीसङ्ग बिहे गरेर । अब यो गाउँमा कसरी मुख देखाउला त्यसले । माओवादी भएँ भन्दैमा जेपनि गर्ने ? आफ्नै जातजोडीकी सङ्ग बिहे गरे हुन्थ्यो नि ! अब त्यो कामीनीलाई कसोगरी बुहारी भन्नू र यो घरमा बसाउनु । यस्तै-यस्तै । तैपनि पार्टीमा रामे काकाको खुब प्रशंसा थियो । निढर योद्धा र समाजमा दुई जात मात्र छ भन्ने कुरो बिहे गरेर देखाइ दिएकोमा । रामे काकाले बिहेको दिन राम्रै भाषण दिएका थिए रे “यो विश्वमा जति मान्छेका जातजाति भएपनि महिला र पुरुष गरि दुई जात छन् । अन्य त मान्छेले आफै बनाएका हुन् ।”
धेरै युद्ध जितेका रामे काका जुम्लाको युद्धबाट फर्किएर आउन सकेनन् । सदाका लागि जुम्लाबाट बिदाइ भए । रामे काकाको जनवादी सत्ता आयको र निरंकुश राज्यसत्ता समाप्त भएको हेर्ने धोको अधुरै रह्यो । काकाकी अर्धाङ्गीनी शिखा कामीनी युद्ध लड्दालड्दै विधुवा भइन् । गर्भमा चार महिनाको आफ्नो मायाको चिनो, हातमा एलएमजी बोकेर युद्ध लडिरहेकी शिखाले बिहान बिजय जुलुसमा आफ्नो बटालिएन कमान्डर आफ्नै पतिलाई सहिद भएको घोषणा गरेको सुन्दा बेहोस भइन् । रामे काका गुमाउदा पार्टीले ठुलो क्षेति बेहोरेको भन्दै सुदुरश्चिमबाट पहिलो सहिद घोषणा गर्यो । बिजय जुलुस सकियो । सबै बटालिएन कम्पनीले आफ्नो टिमका घाइते र सहिद हरुलाई बाँसको काठमा बोकेर जङ्गल पसे । जङ्गलमा वीर सहिदहरुलाई एकै चिहानमा गाडेर अन्तिम सलामी दिएर घाइते कम्रेड बोकी आ-आफ्नो कार्य क्षेत्रमा लागे ।
रामे काकाको बटालिएन कम्पनी निकै शोकमा पर्यो । रानी मौरी बिनाको घार जस्तै भयो त्यो बटालिएन् । थिलथिलो शरीर लिएर आफ्नो पति सम्झिदै शिखा अघि बढिन् । पति गुमाएर बिक्षिप्त बनेकी शिखा पहिले भन्दा फरक भइन्, निरास, कम्रेडहरुसङ्ग कम बोल्ने, एकोहोरिने, समय-समयमा रोइरहने । सह-कमान्डर भएकोले अब रामे काकाको बटालिएन शिखाले नै सम्हाल्नु थियो तर, जहाँपनि राजनीति नै हाबी हुने । यो बटालिएन कमान्डरको लागि निकै बसह चल्यो । एक थरी शिखालाई र अर्को थरी कम्रेडहरुले नयाँ कमान्डर बनाउने प्रस्ताव ल्याए । अन्ततः शिखाले नै यो बटालिएनको जिम्मेवारी बहन गरिन् । अब शिखाले आफ्नो पार्टीभन्दा पतिको बदलाको निम्ति लड्नु थियो । पार्टीमै हुँदा गण्डकीमा शिखाले छोरोलाई जन्म दिइन् । छोरोको नाम राम नै राखि दिइन् । कम्रेडहरुले शिखाको छोरालाई खुबै माया गर्न थाले । रामे काका सहिद भएको एक वर्ष पुगिसकेको थियो ।
०५८ सालमा विरेन्द्र राजाको षड्यन्त्रमुलुक तरिकाले बंश नास पश्चात ज्ञानेन्द्र शाहले श्रीपेच आफ्नो सिरमा भिरेर सिंहासनमा बिराजमान भए । युद्ध झन चर्किदै गयो । ज्ञानेन्द्र शाही सरकारले संकटकाल घोषणा गर्यो । देश झन रगतको आहालमा डुबेर तैरिन थाल्यो । जब पाल्पाको तानसेनको ब्यारेकमा हमला भयो अनि बल्ल ज्ञानेन्द्रले बार्ताको आह्वान गरे । शान्ति सम्झौता गरे । देशले नयाँ मुहार फेर्यो । अब दाजुभाइ दिदीबहिनी काटमार गर्ने खेल स्थगित भयो । तैपनि सेना भने दुबै पक्षका रहने गरेर ब्यारेक निर्माण गरियो । एउटा राज्यले शाही सेना र जनमुक्ति सेनालाई पाल्ने भयो । सायद यो विश्वको पहिलो देश होला जहाँ विद्रोही सेनालाईपनि दानापनि दिएर राख्ने । शिखाको बटालिएन र भेरीकर्णालीको प्लाटुन कम्पनी एक डफ्फा भएर क्याम खडा गरि सुर्खेतमा बस्यो ।
सहिद रामे काकाको नाम परिवर्तन भयो । नामको अगाडी सहिद लाग्यो । अब रामे काकाको नाम वीर सहिद कम्रेड राम भयो । शिखाको छोरालाई सहिदको छोरो भनेर भन्न थाले सबैले । सहिदको छोरो क्याम्पमा आमासङ्गै बस्यो, हुर्कियो । बिस्तारै सरकारले नयाँ निति ल्यायो सेना समायोजन गर्ने र देशमा एउटै सेना राख्ने भनेर । जनवादी सेना र शाही सेनालाई समायोजनका लागि कार्य सुरु भयो । शिखा जनयुद्धमा होमिएर महिला मुक्ति र देश परिवर्तनमा लागि लडेकी र त्यत्रो बटालिएन सम्हालेकी भएपनि सेना समायोजनमा भने अशिक्षित भएकै कारण अशक्त भएकोले अब घर फर्किनुको विकल्प रहेन । अब शिखा बसेर खाने, मागेर खाने, गरेर खाने ठाउँ कतै रहेन । अब छोरोलाई लिएर माइती घर जानेकी पोइली घर केही सोच्नै सकिनन् । शिखा घर न घाटको जस्तै भइन् तैपनि उनले जेजस्तो कठिनाइ भोग्नुपरेपनि पोइली घर जाने निर्णय गरीन् । शिखा अब शिखा कामीनी नभएर शिखा देवी ठकुरानी भएकी छिन् । उनको बिहेपछि नामका पछाडी थर परिवर्तन भयो । जनयुद्धको लडाइँ भन्दा ठूलो युद्ध अब लड्नु छ समाजमा गएर आफ्नो छोराको अंशको निम्ति, आफ्नो अधिकारको र न्यायको निम्ति । रामे काका सहिद हुँदा शिखाको सर्वस्व हरण भएको अनुभुति भएपनि साहाराको निम्ति गर्भमा सहिद रामे काका र आफ्नो मायाको चिनो हुर्किरहेकाले अलिकति बाच्ने रहर भने पलाएकै हो ।
सेनाकालागि अशक्त ठानिएका र सेना समायोजनमा जान नचाहानेलाई सरकाले जनही दशलाख दिएर घर पठाउने घोषणा गर्यो र प्रत्येक सहिदहरुका नाममा पाँचपाँच लाख । शिखाले आफ्नो सहिद श्रीमानको पाँच लाख र आफ्नो दस लाख रुपैयाँ बुझिन् किस्ता-किस्तामा । सुर्खेतमै पाँच लाखमा आफ्नो छोराको भविष्यकालागि एक कट्टा जग्गा लिइन् । जग्गा आफ्नो नाउँमा पास गरेर सहिद रामे काकाको सपना पूरा गर्न नपाएकोमा पछुतो मान्दै छोरालाई साथमा लिएर बाजुराको यात्रा तय गरिन् । शिखा पहिलो पटक श्रीमान बिना छोरालाई लिएर पोइली घर जादैछिन् ।
पाँच दिनमा शिखाका आमाछोरा सुर्खेतबाट बाजुरा पुगे । शिखालाई आफ्नै घर थाहा थिएन कारण उनी सहिद रामे काकासङ्ग कहिल्यै घरमा आएकी थिइनन् । सहिद रामे काकापनि बिहे गरेपछि घर आएनन्, एकातिर देश संकटको धरातलमा हुँदा त्यत्रो बटालिएन सम्हालेर अघि बढ्नुपर्ने अर्को तिर अन्तरजातिय बिहे गरेकोले सहिद काका घर आउन नपाइ सदाकालागि युद्ध लड्दालड्दै युद्धको रणमैदानमै अस्ताउनु पर्यो ।
शिखा आफ्नो पोइली घर, छोराको आफ्नै घर र सहिद रामे काकाको घर सोध्दै-सोध्दै गइन् । बल्ल घर भेटियो । उनी घर पुगिन् । घरमा आफ्नो र सहिद रामे काकाको बारेमा जानकारी दिइन् यो छोरापनि सहिद रामको हो भनिन् । गाउँमा हल्ला फैलियो सहिद रामेको श्रीमती र छोरो आएको । त्यसपछि त गाउँलेहरुको ओइरो लाग्यो शिखाका आमा छोरालाई हेर्नका निम्ति । घरमा छुट्टै रौनक छायो एकातिर आफ्नो सन्तानको बंश रहेकोमा खुशीले गदगद थिए भने अर्को तिर कामीनीलाई बुहारी स्वीकार गर्न निकै मुस्किल परेकोमा रामेका आमाबालाई खिन्नताले छोयो । गाउँलेहरु जम्मा भएर छलफल गरे बुढापाकाहरुले शिखाका आमाछोरालाई गोठमा राख्नुपर्ने भने र सहिद रामे काकाका समुहका युवाहरुले सबैसँग घरमै बस्नुपर्ने कुरा गरे अन्ततः पानी नचल्ले जातिकि छोरीलाई छुट्टै गोठमा बस्नुपर्ने बुढापाकाले निर्णय गरे । सहिद रामेका आमाबाको मुहारमा खुशीको किरण छाएको प्रष्ट देखिन्छ । तैपनि समाजका अगाडी बुहारी र नातिलाई सङ्गैराख्न सहमति जनाएनन् ।
कामीनी भएर के गर्नु केटी त राम्री रै’छे अनि रामेको आँखा किन नफुटुन् त । छोरोपनि काटीकुटी रामे जस्तै । अब छोरी जसकी भएपनि सन्तान त राखि यसले । यस्तै-यस्तै कुरो गर्नमा पछि हटेन समाज । शिखालाई विषपान गरेर जिउँदै पलपल मरेको भान भैरह्यो । तैपनि आफ्नो छोराको निम्ति समाजमा हरेक बाधालाई स्वीकार गरेर बसीन् । छोरोलाई गाउँकै स्कुलमा पढ्न पठाइन् तर स्कुलले जन्मदर्ता नभएकै कारण भर्ना हुन दिएन । गाँउमा रामलाई त्यसका उमेरका बच्चाबच्चिले साथी बनाउन मानेनन् । उल्टै सहीदको छोरो, कामानीको छोरो, बाको नाम जे छ त्यो छोराको नाम भएको अभागी रहेछ भन्दै छि-छि र दुरदुर गरे ।
देश शान्तिमय भयो । जङ्गलियाहरु शहरीया भए । चप्पल नपाउनेले जुत्ता लाए । आटो नपाउनेले चौरासी ब्यञ्जन खान पाए । हतियारको भरमा सिहंदरवार छिरे । एक राजा हटाएर सयौं राजा जन्मिएको यो देशमा सबैका मुख सुकिलामुकिला भएपनि शिखालाई कहिल्यै शान्तिले साथ दिएन, कहिल्यै ओठमा मुस्कान छाएन, आँखा कहिल्यै ओभानो रहेनन्, शिखालाई देश र जनताको लागि भन्दा आफ्नै जीवनकोलागि युद्ध लड्न कठिनाइ भयो । सहिदका छोराछोरीलाई पढाउने स्कुल खुल्यो डोटी दिपायलमा । शिखाले रामलाई त्यहीँ पठाइन् पढाउनकै लागि । आफू गाँउ एक्लै बसिन्, संघर्ष गरिन्, आफू कामीनीकि छोरी भएपनि सहिद रामेका आमाबुबालाई सघाइन् गोठमै बसेर भएपनि । छोराको याद र सम्झनाले ओतप्रोत मनसङ्गै उमेरले डाडो काट्दै गरेका आमाबाबा मरिच जस्तै चाउरीएका मुहार र सेता फुलेका केशसङ्गै शिखाको नजरमा पर्दछन् तब शिखालाई यीनै बुढाबुढीको सेवागर्ने रहर जागेर आउँछ । समाजले स्वीकार नगरेपनि रामेका आमाबाबाले बुहारी स्विकारे । नातिलाई पनि माया गर्न थाले ।
संविधान मस्यौदा तयार पार्यो सरकारले । आमाको नामबाट नागरिकता पाउनुपर्ने नीति ल्यायो । यो सन्देशले शिखालाई पहिलो खुशी दियो । बल्ल आफुले युद्ध लडेकोमा र अन्तरजातीय जनवादी बिहे गरेकोमा पछुतो भएन । अब छोराले आमाको नामबाट नगरिकता पाउने भयो । गाँउघरमा शिखालाई राम्रो नजरले कसैले हेरेनन् । पोइ टोकुवा कामीनी, कुन ठाउँकि कामीनी हो यो ठकुरानी हुन पाइछ, रामे मर्नुभन्दा यो कामिनी मरे हुन्थ्यो नी ! यस्तै कुरा काट्न थाल्यो समाजले । यी सबैकुरा सहनु थियो शिखाले । समय बदलिदै गयो । रामले आमाको नामबाट नागरिकता पायो । तर, शिखाले बने आफ्नै घरमा बस्नपाइनन् । गाउँबाटै जनै हराएको बाहुनकी एक छोरीले कामीसङ्ग भागी बिहे गरि । गाँउमा निकै हल्लिखल्ली चल्यो बाहुनकी छोरीले जात फाली भनेर । यो बिहेले शिखालाई केही राहत भयो, भन्न र बोल्न पाइने बाटो खुल्यो । शिखाको आँट र साहास बढ्यो । रामपनि डक्टरी लाइन पढ्दै छ । थाहा छैन गाउँघरमा कोही बिरामी परेभने राम कामीनीबाट जन्मिएकोले उपचार गर्न पाँउछकि पाउँदैन । तैपनी राम डक्टर बन्न चाहान्छ ।
रामले डक्टर पास गर्यो । राम काटीकुटी सहिद रामे जस्तै छ अनुहारमा, लवाइखवाइमा र सहयोगी भावनाको । आफ्नै बाजे बिरामी पर्दा रामले उपचार गर्यो । डुब्नलागेको घामलाई बादलले नछेकेनि डुब्छ भने झैँ रामको औषधिले पार लागेन उनी अस्ताए सधैंका लागि । छोराको हातबाट सुनपानी नखाएपनि आफ्नै श्रीमती, त्यही कामीनी बुहारी र नाति रामको हातबाट सुनपानी पिएर परान त्यागे । अब शिखालाई सबैले घरमै बस्ने सल्लाह दिए । शिखा गोठ छोडेर घरमा बसिन् बुढी सासुसङ्ग । गाउँमा बिरामी भएका मुखिया बा देखि स-साना बालबच्चाहरुलाई रामले उपचार गरेर सन्चो पारे । रामको परिवार सबैको प्यारो भयो ।
शिखा अब कामीनी रहिनन् डक्टरकि आमा बनिन्, गाउँघरमा महिलाको अगुवाइ गर्न थालिन् ।
शिखाका सपना एकपछि अर्को पूरा हुँदै गएपनि एउटा सपना पूरा हुन बाँकी नै थियो । आफ्नो श्रीमान सहिद रामेलाई नेपाल सरकारले सहिद घोषणा गरोस् भन्ने । रामेलाई जुम्लामा बिजय जुलुस हुँदा सहिद घोषणा गरेपनि नेपाल सरकारले सहिद घोषणा गरेन । पहुँच र पावर हुनेका कैयौं सन्तान गाउँघरमा हैजाले मरेका भएपनि सहिद घोषणा गरिए । रामे गाउँघरका मात्रै सहिद बने । पार्टीका ठुला नेतालाई सरकारमा पुर्याउनका निम्ति आफ्नो ज्यानलाई समर्पित गरि सहादत गर्ने कैयौं रामेहरु सहिद घोषणा गरिएनन् । कयौं अङ्गभङ्ग भए, कैयौं हराए, कोखहरु रित्तिए, सिउँदो पुछिए तर, यहाँ पहुँच हुनेकै हालीमुहाली सोझासाझा भने अझै दु:खमा आहाल खेल्दै छन् ।
आस गरौं यी सबै दु:खि र पीडितहरुले कुनै दिन न्याय पाउनेछन् । कुनैदिन शिखापनि शान्तिको सास फेर्दै आरामले निदाउनेछिन् । सहिद रामेको छोरो राम सहिदको छोरो कहलिने छ ।

चर्चामा

सम्बन्धित समाचार