आइतवार, मंसिर १४, २०७७
  • होमपेज
  • समाज
  • चाडपर्वहरू मानव सभ्यता र संस्कृतिका द्योतक हुन्

चाडपर्वहरू मानव सभ्यता र संस्कृतिका द्योतक हुन्

  • मङ्लबार, कार्तिक ११, २०७७
चाडपर्वहरू मानव सभ्यता र संस्कृतिका द्योतक हुन्

हरेक चाडपर्वहरू मनाउनुको पछाडी विशिष्ट अर्थ र अन्तर्निहित उदेश्य रहेको हुन्छ ! चाडपर्वहरू खास निश्चित तिथि र वारको योगमा आधारित रहेका हुन्छन् किनभने प्रत्येक चाडपर्वका पछाडी वैज्ञानिकता लुकेको हुन्छ । जसको महत्व युगौँ युगदेखि जस्ताको त्यस्तै रहदै आएको हुन्छ ! चाडपर्वहरू मानव जीवनका आध्यात्मिक मेरुदण्ड हुन् । मानवीय चरित्र निर्माण गराउँनुमा चाडपर्वहरूको महत्वपूर्ण योगदान रहेको हुन्छ ! समाज अनेक जातजाति भाषा, धर्म, सम्प्रदायका मानिसहरूको सङ्गम हो । सामाजिक विभिन्नतालाई यीनै चाडपर्वहरूले एकाकार गरेका हुन्छन् । चाडपर्व मानवले मानव र मानवले प्रकृति बिच सामञ्जस्य राख्ने माध्यम पनि हुन् । चाडपर्वबाट जीवनमा सच्चरित्र निर्माण गर्ने, सद्विचार तथा ज्ञानको विकास हुने, जीवनको प्रत्येक क्षेत्रमा कुशलतापूर्वक, सफलतापूर्वक तथा उत्साहपूर्वक उन्नति प्रगति गर्न सकिने, ईश्वर वा संस्कृतिप्रति श्रद्धाभाव राख्ने साथै संसारको भलाइ चाहाने हौशला पनि दिएका हुन्छन् !
शताब्दियोँ देखि मानिदै आएका चाडपर्वहरू धार्मिक, साँस्कृतिक र र्एतिहाँसिक पक्षसँग मात्रै नगाँसिएर सामाजिक तथा मानवीय पक्षसँग पनि जोडिएका हुन्छन् । मानवीय मूल्यबोध गर्ने, वर्षभरि कामै कामको थकित जीवनबाट केही समयका लागि विश्राम लिने, आपसी मित्रता, वृहत पारिवारिक उत्सव, आफन्त, इष्टमित्र, नातागोताबिच आत्मियता, जेष्ठ व्यक्तित्वबाट आशीर्वाद थाप्ने र भए गरेका वैमनस्य बिर्सेर रम्ने, रमाउँने, भाइचारा सम्बन्ध स्थापित गर्ने, पारिवारिक पुनर्मिलन हुने मीठो मसिनो खाने नयाँ लुगा लगाउँने उपयुक्त अवसरहरू पनि हुन् । वर्तमान मान्छेको यान्त्रिक जीवनमा त झन् चाडपर्वको महत्व अझ सान्दर्भिक देखिदै गएकोछ ।
कुनैपनि जातजाति, भाषा, धर्म, सम्प्रदायका रीतिरिवाज, सांस्कृतिक चाडपर्वहरू त्यस मूलुक र त्यहाँका बासिन्दाका सम्पत्ति मानिन्छन् । किनभने चाडपर्वमा मानवीय जीवनपद्धति समेत जोडिएको हुन्छ । धार्मिक, सांस्कृतिक, पौराणिक, ऐतिहाँसिक र सामाजिक रूपका माध्यमबाट चाडपर्वहरु मनाइने परम्परा बसेको मानिन्छ त्यसैले चाडपर्वहरू मानव सभ्यता र संस्कृतिका द्योतक हुन् । आफ्नो सभ्यता, संस्कृति, परम्परालाइ जोगाइ राख्न आफूसँग जे छ त्यसैमा खुसी हुनुपर्ने हो तर, व्यक्तिमा पोहोर भन्दा अहिले र अहिले भन्दा अर्को वर्ष अझ बढी खर्च गर्ने मनसाय लुप्त रूपमा बसेको हुन्छ । अरूलाइ देखाउँनकै लागि भए पनि फजुल खर्च गरेर सान देखाउँने उपयुक्त मैका चाडपर्वलाइ नै लिने गरेकाछन् । परोक्ष अपरोक्ष रूपमा हुनेखाने र हुँदाखाने बिचको जुन अन्तर चाडपर्वमा देखिन्छ त्यसले चाडपर्वहरूको वास्तविक महत्वलाइ औझेल पार्ने काम गरेको छ । सस्ता प्रवृतिले भयावहको रूप नलेला भन्न सकिदैन । त्यसैले पनि संस्कृतिप्रेमी चनाखो हुनुपर्ने देखिन्छ । अघिपछि जे जस्तो खाए/लगाएतापनि चाडपर्वमा सकिनसकी ऋण गरेरै भएपनि मीठो मसिनो खानै पर्ने र राम्रो लगाउनै पर्ने हुँदा कतिपय अवस्थामा गरिबले ऋण पाउँनपनि मुस्किल परिरहेको हुन्छ । पाइहाले पनि ऋणै ऋणको भारिले थिचेर जिन्दगी बितिरहेको हुन्छ । ऋण गरेरै संस्कृति धान्नुपर्ने वातावण बन्नु पछि समाजका लागि घातक हुनसक्छ । हर्ष, खुसी, सुख र उमङ्गको अनुभूति हुँनुपर्ने बेला आँखाबाट झरेको नुनिलो पानी पिउँदै भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना हुँदा चाडपर्वको रोनक हुँनु र नहुँनु गरिबहरूका लागि कुनै महत्व नमानिन सक्छ । मानव सभ्यता देखि नै मानवले मानवकै भलाइ र कल्याणका लागि भनेर मान्दै र पुज्दै आएका चाडपर्वहरु नै गरिब र निमुखाको घरभित्र भित्रिन सकेनन् भने स्वतः केही व्यक्तिहरूका लागि मात्रै पनि बन्न सक्ने खतरा पनि हुनसक्छ । चाडपर्व मानिनु मानव कल्याणका लागि कुनै न कुनै कारण छन् र त वर्षोँदेखि मानिदै आएका छन् । स्वयम् हामी जस्तै मानवले दशैँ तिहार, होली, ल्होसार, इद, क्रिसमस आदी धार्मीक तथा सामाजिक साँस्कृतिक चाडपर्वहरू स्थापित गरेका हुन् । सबै पर्वहरूको अन्तिम निचोड भनेकै मानवसेवा हो, धर्म भनेकै दीन, दूःखी, गरिबहरूको घाउमा मलम लगाउँनु हो, मन शुद्ध पार्नु हो । समयको अन्तरालमा तिनका ठेक्का लिएका कुनैपनि अनुयायीले पछि अनुशरण गरेनन् ।
नेपालका सन्दर्भमा नेपाल बहुजाति, बहुभाषिक, बहुसाँस्कृतिक र छुट्टै किसिमको भोगोलिक बनावट हुनाले पनि वर्षका ३६५ दिनमा ३६५ भन्दा बढि चाडपर्वहरू परेका हुँन्छन् । हरेक दिन कुनै न कुनै धार्मीक, साँस्कृतिक चाडपर्व नपरेको दिन नै हुँदैन । साँस्कृतिक र धार्मिक रूपमा पृथ्वीमा रहेका सजिव र निर्जिव, जीवजन्तु, प्राणि, वनस्पति, किटपतङ्ग सबैको उत्तिकै महत्व रहेको देखाउँने संसारका कुनै पनि ठाउँमा नपुजिने प्राकृतिक परम्पराहरू नेपालमै रहेका छन् । हामीले तिनको सही समुचित हिसाबले समूदायको जीवनपद्धतिसँग गाँस्न नसकेकोले लोप हुने खतरा बढ्दै गएकोछ । पराइ संस्कृतिको चपेटामा पर्दै गएकाछन् । नेपाली रैथाने जातजाति र जनजातिका परम्परागत मूल्यमान्यता व्यापक अतिक्रमणको चपेटामा परेकाछन् । व्यक्तिको पहिचान भनेको नै भाषा र संस्कृति हो त्यसपछि मात्रै अरू कुरा जोडिएर आएका हुन्छन् । देश धर्म निरपेक्ष मात्रै होइन संस्कृति निरपेक्ष उन्मूखतिर जाने खतरा बढिरहेकोछ ।
संसारमा जन्म र मृत्यु बाहेक कुनै कुरा पनि सत्य छैन । एउटा समूदाय/सम्प्रदायले मानेको सत्य अर्को समूदाय/सम्प्रदायका लागि सत्य नमानिन पनि सक्छ र मानेको पनि छैन । एउटा समुदाय वा सम्प्रदायले अपनाएको रितिरिवाज अर्को समुदायका लागि स्वीकार नहुनसक्छ र स्वीकार गरिएको पनि छैन । त्यसैले ठ्याक्कै यही हो भन्ने कुनै कुरा पनि सबैले मानेको देखिदैन । प्रतक्ष्य अप्रतक्ष्य रूपमा चाडपर्वहरू इश्वर/भगवानसँग जोडिएर आएका हुँन्छन् । यदि कुनै मान्छे कुनै कुराबाट डराउँदैन भने भगवानरूपि छायाका अगाडी लल्याकलुलुक हुनपुग्छ । इश्वर अदृश्य छन् भन्ने विश्वास हुँनाले तर्क वितर्क गर्न सक्नेहरुका लागि भगवान पनि गोटी बनिरहेका छन् । प्राचिन/पोराणिक कालका ऋषिमूनी, बुद्ध, जिसस, जैन, अल्लाहा, मुहम्मद आदि जो मानिएकाछन् ती दृढ इच्छाशक्ति भएका ज्ञानी, तपि, खोज र अनुसन्धान गर्ने अध्येता हुन् । अहिलेका वैज्ञानिक झैँ पौराणिककालका ऋषिमुनिहरू हुन् । तिनिहरुले आफ्नो लामो खोज अनुसन्धानबाट लोक, परलोक पाप, पूण्य, धर्म जस्ता कुराको परिकल्पना गरे, जीवनपद्धति पनि त्यस्तै अपनाए । तर, आजको मानव स्वार्थमा चुर्लुम्म डुबेर आफूले व्यवहार कस्तो गरिरहेको छु ख्यालै नगरि अरूलाइ उपदेश दिन मात्र तल्लिन रहेकोछ ।

चर्चामा

सम्बन्धित समाचार