शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • धनगढीबासी भन्छन्– प्रहरी नै असुरक्षित भए, हाम्रो सुरक्षा कसले गर्छ?

धनगढीबासी भन्छन्– प्रहरी नै असुरक्षित भए, हाम्रो सुरक्षा कसले गर्छ?

  • आइतवार, कार्तिक २, २०७७
धनगढीबासी भन्छन्– प्रहरी नै असुरक्षित भए, हाम्रो सुरक्षा कसले गर्छ?

धनगढीको मोहना नदीमा हत्या गरेको अवस्थामा प्रहरी सहायक निरिक्षक मृत भेटिएपछि स्थानीय त्रसित भएका छन् ।

उप–महानगरपालिकाको वडा नम्बर १२ जुगेडामा रहेको अस्थायी प्रहरी विटका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको धारिलो हतियार प्रयोग गरी हत्या भएपछि त्यस क्षेत्रका स्थानीय त्रसित भएका हुन् ।

स्थानीयले प्रहरी नै असुरक्षित भएपछि असुरक्षा बढेको बताएका छन्। ‘प्रहरी नै असुरिक्षत छ अब हाम्रो हालत के होला ?’ स्थानीय चन्द्रदेव जोशीले भने, ‘हामी सीमा क्षेत्रमा बस्ने भएकाले ८/१० जनाको पोष्ट राखेर काम छैन् । प्रहरीकै हत्या हुन्छ भने हाम्रो जिउ ज्यानको रक्षा कसले गर्छ ? हामीलाइ त्रसित बनाएको छ ।’

जुगेडाकै अर्का स्थानीय खड्कराज भट्टले प्रहरी सहायक निरिक्षक मृत भेटिएको क्षेत्र चोरी निकासी गर्ने बाटो भएको बताए ।

चोरी तस्करीमै संलग्न समूहले प्रहरीको विभत्स हत्या गरेको हुनसक्ने बताउँदै उनले असुरक्षा बढाएको जनाए । सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको अस्थायी प्रहरी विटमा सुरक्षाकर्मीको संख्या थप्नुपर्ने माग उनको छ ।

२०६५ सालमा प्रहरी विट स्थापना समितिका संयोजक समेत रहेका प्रताप विष्ट भन्छन्, ‘प्रहरी प्रशासनले जुगेडा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउनुपर्छ। त्रसित भएका हामी स्थानीयलाई सुरक्षाको प्रत्याभुती दिलाउनुपर्छ ।’

अन्य स्थानीयको जस्तै विष्ट पनि जुगेडा क्षेत्रमा थप सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्ने माग गर्छन् । शनिबार साँझ नियमित गस्तीमा खटिएकै बेला वेपत्ता भएका अस्थायी प्रहरी विट जुगेडाका इन्जार्ज प्रहरी निरिक्षक गोविन्द बिक मोहना नदी किनारमा मृत भेटिएका छन् ।

उनको घाँटीमा धारिलो हतियार प्रयोग गरिएकाले प्रारम्भीक अनुसन्धानबाट प्रहरीले हत्या भएको निष्कर्ष निकालेको छ ।

बिकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको छ भने बिकसँग रहेको हतियार फेला नपरेको प्रहरीले जनाएको छ ।

उनीसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात रहेको छ । साउँदको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार