शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • पढाइदिने आश्वासनमा बालबालिकाको श्रम शोषण, अङ्गभङ्ग भएर फर्किन्छन् घर

पढाइदिने आश्वासनमा बालबालिकाको श्रम शोषण, अङ्गभङ्ग भएर फर्किन्छन् घर

  • सोमवार, भदौ २९, २०७७
पढाइदिने आश्वासनमा बालबालिकाको श्रम शोषण, अङ्गभङ्ग भएर फर्किन्छन् घर

निमेन्द्र शाही — असार २०७४ मा भएको स्थानीय निर्वाचनमा बाजुराको गौमुल गाउँपालिकामा एउटा फरक विषय बहसमा थियो । गाउँपालिकाका थुप्रै बालबालिकालाई सुदूरपश्चिमका विभिन्न जिल्ला र केहीलाई काठमाडौं लगेर घरेलु कामदारका रूपमा प्रयाेग गरिएकाे विषयले चुनावमा धेरैकाे ध्यानाकर्षण गरेकाे थियाे ।

साेहीअनुसार गाउँपालिका गठन भएपछि वडा नम्बर ४ र ५ का अध्यक्षसहित प्रमुख, उपप्रमुखले आफ्ना गाउँपालिकाका बालबालिका कहाँ कहाँ छन् भनेर खोजी गरे ।

वडा नम्बर ४ र ५ का अध्यक्षहरूले तत्कालै आ-आफना वडाको विवरण संकलन गरेर गाउँपालिकामा बुझाए । अरुले बुझाउने क्रम जारी नै छ । २०७४ मंसिरसम्मको विवरण संकलन गरेर ‘गौमुल गाउँपालिकाबाट घरेलु कामदारको रूपमा जिल्लाबाहिर गएका बालबालिकाको विवरण’ तयार भएको छ । उक्त प्रतिवेदनमा बालबालिकाको नाम, उमेर, ठेगाना, लगिएको घर, घरमुलीको नाम, ठेगाना र लैजान सहयोग गर्ने बिचौलियाको नामसमेत उल्लेख छ ।

आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई शहरका राम्रा स्कुल पढाइदिने आश्वासन दिएर घरेलु कामदार बनाएर कमिसन खाने थुप्रै व्यक्ति बाजुरामा अहिले पनि सक्रिय छन् । गाउँपालिकाको विवरणअनुसार, आर्थिक रूपमा विपन्न अभिभावकलाई सन्तानको भविष्य बनाइदिने आश्वासन दिएर बालबालिकालाई घरेलु कामदारको रूपमा पठाउनेमा धेरैजसो शिक्षक, नातेदार र गाउँका व्यापारी छन् ।

शिक्षक र व्यापारीबाहेक कुरा मिलाउने बिचौलयाहरूमा बालबालिकाकै नातेदार पनि छन् । घरेलु नोकरको खोजीमा रहेका व्यक्तिलाई भनेजस्तो बालबालिका उपलब्ध गराएमा ‘लाभ’ लिन सकिने आसमा बिचौलियाहरूले यस्ता काम गर्ने गरेकाे पाइएकाे छ ।

आफ्नो सन्तानको भविष्य सुनिश्चित हुने आश्वासन पाएपछि विपन्न अवस्थाका अभिभावक पनि बिचाैलियाको कुरामा राजी हुन्छन् । तर, यसरी शहर पुर्‍याइएका अधिकांश बालबालिका श्रम शोषणमा पर्छन् ।

गाउँका बालबालिकालाई राम्रो स्कुलमा पढाइदिने आश देखाएर अभिभावक र साहुबीच कुरा मिलाइदिने व्यक्तिमध्ये एक हुन्, गौमुल–४ का रमानन्द जोशी । उनी कृतिचौर माविका पूर्वप्रधानाध्यापक हुन् ।

गाउँमा बुद्धिजीवी भनेर कहलिएका ‘रमानन्द गुरु’ ले गौमुल–४ का पाँच जना बालबालिकालाई विभिन्न व्यक्तिका घरमा पुर्‍याउन भूमिका खेलेका छन् । गाविसले संकलन गरेको विवरणमा उनको नाम पनि छ । गौमुल-५ का वडा अध्यक्ष वीरेन्द्र रोकायाले भने, ‘बालबालिका बेच्नेमा रमानन्द गुरु अगाडि देखिए ।’

गाउँपालिकाको विवरण हेर्दा रमानन्दले कञ्चनपुर र कैलालीमा धेरै बालबालिका साहुकहाँ पुर्‍याइदिएकाे देखिन्छ । उनले पठाइदिएका बालबालिकाहरू प्राय:जसो शिक्षकको घरमा काम गर्छन् । रमानन्दले कैलाली अत्तरियाका दुर्गा भवानी मा.विका. शिक्षक रेश्मी शाह, कञ्चनपुरको महेन्द्रनगर माविका शिक्षक चन्द्रकला पन्त, कञ्चनपुरकै शान्ति निकेतन माविका शिक्षक पुस्कल भट्टकहाँ एक/एक जना बालक पठाइदिएको गाउँपालिकाको अभिलेखले देखाउँछ ।

बाजुरा बुढीगंगा नगरपालिका, बड्यालीस्थित शारदा निमाविका शिक्षक गणेश शाह, गौमुलस्थित दुर्गाली प्राविका शिक्षक बलराम जोशी, गौमुलकै मानाकोट माविका शिक्षक भीमबहादुर रोकाया, कैलालीको धनगढीस्थित शारदा माविकी शिक्षक शान्ति सिंहले पनि बालबालिका ‘मिलाइदिने’ काम गरेको गाउँपालिकाको विवरणबाट स्पष्ट हुन्छ । जस्तो कि, गणेशले पठाइदिएका बालक उमेश धामी दाङको सरस्वती माविका शिक्षक बसुन्ता हमालकहाँ काम गर्छन् ।

गौमुल गाउँपालिका–५ का केशव रोकाया गाउँका ‘बृद्धिजीवी’ मानिन्छन् । उनले पनि गौमुलका पाँच बालबालिकालाई घरेलु कामदारको लागि अन्यत्र पठाउने काम गरेका छन् । उनले पठाएका बालबालिकाहरू अहिले काठमाडौं, बाँके, पोखरालगायतका शहरमा घरेलु कामदारका रूपमा काम गरिरहेका छन् ।

यस क्षेत्रमा बालबालिकालाई घरेलु कामदारका रूपमा लैजानु कुनै नयाँ चलन भने हाेइन । वर्षाैंदेखि बालबालिकाहरू साहुकहाँ घरेलु कामदारका रूपमा पठाइने गरेका छन् ।

अहिले बालबालिकाका अभिभावक र साहुबीच विचाैलियाकाे भूमिकामा रहने गौमुल- ५ का भविन्द्र रोकाया केही वर्ष पहिलेसम्म आफैँ घरेलु कामदार थिए ।

दुई वर्षअघिसम्म उनी भक्तपुरमा बस्ने शिक्षक रुद्र खड्काको घरमा काम गर्थे । भवीन्द्रलाई नेपाली सेनाका पूर्वजवान ज्ञानबहादुर रोकायाले खड्काकहाँ पठाएका थिए । अहिले उनै भवीन्द्रले चितवन, भक्तपुर, पोखरा र काठमाडौंमा चार जना बालबालिका पठाएको गाउँपालिकाको विवरणबाट स्पष्ट हुन्छ ।

भवीन्द्रले चितवनका पूर्वजिल्ला शिक्षा अधिकारी श्यामजी अतिथिलाई पनि एक बालक पठाइदिएका छन् । भवीन्द्रले नै गौमुल-५ का दलबहादुर रोकाया र बुदी रोकायाका १३ वर्षीया छोरा महेशलाई दुई वर्षअगाडि श्यामजीकहाँ काम गर्न पठाएका थिए ।

गाउँपालिकाको विवरणअनुसार गौमुलका व्यापारीहरू पुने धामी, अर्जुन धामी र पूर्ण धामी पनि बालबालिकालाई साहुकहाँ पठाउनेमा पर्छन । अर्जुन धामीले कैलालीका पूर्वजिल्ला शिक्षा अधिकारी नन्दराज पन्थको घरमा काम गर्न गौमुलबाट शिव धामीलाई पठाइदिएका छन् । धामी अहिले पनि पन्थको घरमा घरायसी काम गर्छन् ।

यसबारेमा बुझ्न पूर्वजिशिअ पन्थलाई फोन गर्दा उनी सम्पर्कमा आएनन् । यद्यपि, उनकी बुहारीले फोनमा भनिन्, ‘शिवले बालबच्चा हेर्ने काम गर्छ ।’

शिवका बारेमा थप प्रश्न गर्न थालेपछि नन्दराजका छोरा गजेन्द्रले फोन खोसेर भने, ‘तपाईंलाई किन चाहियो ? मैले मेरो रिलेसनको आधारमा उसलाई ल्याएको हुँ, उसको परिवार अप्ठेरोमा परेको भएर सहयोग गरेको हुँ ।’

गाउँपालिकाले तयार पारेको विवरणअनुसार धनगढीकी व्यापारी दुर्गा सिंह, नेपाली सेनाका भूतपूर्व जवान तथा मानाकोटका स्थानीय ज्ञानिन्द्र रोकाया पनि बालबच्चा साहुकोमा पठाउने बिचौलिया हुन् । यतिसम्म कि गौमुल गाउँपालिकाका कार्यालय सहयोगी रामबहादुर रोकाया पनि यो काममा संलग्न भएको गाउँपालिकाको विवरणबाट देखिन्छ ।

यसबाहेक राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखाका सुरक्षा गार्ड प्रेमराज जोशी, स्थानीयहरू खडक रोकाया, सौरे रोकाया, शंकर रोकाया, राम रोकाया, दिनेश रोकाया, सविना रोकायाले पनि बालबच्चा पठाउन ‘सहयोगीको भूमिका निर्वाह गरेको’ विवरणबाट देखिन्छ ।

छिमेकी जिल्ला बझाङका अरुण सिंह पनि यो कार्यमा संलग्न रहेको देखाउँछ विवरणले ।

गाउँका गरिब परिवारका बालबालिकालाई प्रलोभनमा पारेर काम गर्न पठाउने अर्का व्यक्ति हुन् बलराम जोशी । उनी गौमुल गाउँपालिकाको दुर्गाली प्राविका शिक्षक हुन् । उनले मानाकोटका टंकप्रसाद जोशीका छोरा युवराजलाई भूतपूर्व सैनिक सुरनसिंह बोगटीको ललितपुरस्थित घरमा घरेलु कामदारका रूपमा पठाएका छन् । बलराम टंकप्रसादका नातेदारसमेत हुन् ।

बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ ले १४ वर्ष उमेर पुरा नगरेका बालबालिकालाई काममा लगाउन रोक लगाएको छ । ऐनको दफा ४ मा ‘कसैले पनि बालकलाई ललाई, फकाई, झुक्याएर, प्रलोभनमा पारेर, डर, त्रास, दबाबमा पारी, अन्य कुनै तरिकाले काममा लगाउनु हुँदैन’ भन्ने उल्लेख छ ।

यसो गरेमा ‘निजलाई एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने’ ऐनमा उल्लेख छ ।

कैलाली धनगढीस्थित शारदा माविकी शिक्षक शान्ती सिंहले बाजुरा गौमुलका सरोज धामीलाई आफ्नो घरमा राखेकी छन् । उनलाई घरेलु श्रमिकका रूपमा राखेको स्वीकार गर्दै सिंहले भनिन्, ‘घरमा सहयोग गर्ने मान्छे नभएकाले ल्याएकी हुँ ।’

लामो समय गुपचुप रहेको गौमुलको यो मामिला केही महिनादेखि मात्रै बाहिर आउन थालेको हो । २४ असोज २०७४ मा राष्ट्रिय मानवअधिकार आयोगले गाउँपालिकालाई पत्र लेख्दै बाजुराबाट ‘बालबालिकालाई राम्रो विद्यालयमा पढाइदिने र राम्रो काममा लगाइदिने सपना देखाएर जिल्ला बाहिर लगी घरेलु मजदुरको रूपमा काम लगाउने प्रवृत्ति बढ्दै गएको’ प्रति ध्यानाकर्षण भएको जनाएको थियो ।

बाजुराको तत्कालीन महिला तथा बालबालिका कार्यालयले ७ पुस २०७४ मा ‘घरेलु कामदारका लागि जिल्ला बाहिर पठाएका बालबालिकाहरूलाई यथाशीघ्र फिर्ता ल्याउन’ गाउँपालिका र अभिभावकहरूलाई पत्र लेखेको थियो ।

पुस २०७४ यता गौमुल गाउँपालिकाको दुईवटा वडाका ९ बालबालिकाकाे उद्धार गरी घर फर्काइएकाे छ । सार्वजनिक विवरणअनुसार यो गाउँपालिकाका २ वटा वडाका मात्रै ४३ जना बालबालिका अझै काठमाडाैंलगायत विभिन्न जिल्लामा घरेलु कामदार छन् ।

गाउँपालिकाका अनुसार, वडा नम्बर ४ बाट २३ र वडा नम्बर ५ बाट २० जना अहिले पनि घरेलु बालश्रमिक छन् । गौमुलको गाउँ बाल संरक्षण समितिको विवरणअनुसार कामदार बनाइएका सबै बालबालिका १८ वर्षभन्दा कम उमेरका छन् ।

अहिले गाउँ बाल संरक्षण समितिले गौमुलको मानकोट गाउँलाई बाल श्रममुक्त घोषणा गर्ने तयारी गरिरहेको छ । घोषणा गर्नुपूर्व सबै बालबालिकालाई गाउँ फर्काइने गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले बताए । रोकायाले बालबालिकालाई श्रमशोषण गर्नेहरूलाई तत्काल कानुनी दायरामा ल्याउने दाबी गरे ।

‘कानुनविपरीत लगिएका बालबालिका तत्कालै फर्काउन प्रयास भइरहेको छ’, रोकायाले भने, ‘ वैशाख २०७५ सम्म सबैलाई फिर्ता ल्याउँछौँ ।’

पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङलगायतका जिल्लामा १३ असार २०७० सालसम्म कमलरी प्रथा प्रचलनमा थियो । त्यहाँका जमिन्दारहरूले थारु समुदायका बालबालिकालाई कमलरी बनाएर राख्ने गर्दथे । सरकारले ती जिल्लालाई ‘कमलरीमुक्त’ घोषणा गरेपछि अहिले पहाडी भेगबाट बालबालिका ल्याएर घरेलु कामदार बनाउन थालिएको छ । गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष वीरेन्द्र रोकायाले भने, ‘कमलरी प्रथा हटेपछि दुर्गम भेगका बालबालिकालाई घरेलु श्रमिक बनाउन थालिएको छ ।’

गौमुल–६ का वडा अध्यक्ष गणेशबहादुर रोकायाले अब बालबालिकालाई घरेलु कामदारका लागि लैजान नदिने बताए । ‘अहिलेसम्म जे भयो भयो’, उनले भने  ‘अब अर्को आर्थिक वर्षदेखि यस्तो हुन दिन्नौँ, सबैलाई घर फर्काउँछौँ ।’

‘कहिलेकाहीँ स्कुल पठाउँथे’

गाउँबाट ‘राम्रो पढाइदिने’ भनेर लगिएका बालबालिकाले कस्तोसम्म अत्याचार सहनु पर्छ भन्ने दुइटा उदाहरण यहाँ छन् । बाजुरा गौमुल गाउँपालिका–४ मानाकोटकी धनी बुढाका १४ वर्षीय छोरा मुकेशलाई २०७१ सालमा एक सैन्य अधिकारीले लिएर गए । ललितपुर स्थायी घर भएका ती सैन्य अधिकारीले राजधानी लगेर राम्रो स्कुलमा पढाइदिने भनेर मुकेशलाई लगेका थिए । तर, उनले मुकेशलाई नियमित स्कुल पठाएनन् ।

‘भर्ना त भएको थिएँ तर कहिलेकाहीँ मात्र स्कुल पठाउँथे’, मुकेशले भने, ‘सधैँ घरको काम गरेर बस्नुपर्थ्याे ।’

ती सैनिक अधिकारीको घरमा काम गर्न नसकेर मुकेश २०७३ सालको दसैँमा ‘सामान किन्न जाने’ बहानामा भागेर घर पुगे । ‘राम्रो पढ्ला भनेर पठाएँ’, मुकेशकी आमा धनी बुढाले भनिन्, ‘पढ्न पाएन, दुःख मात्र पाएछ ।’

मुकेशले आफूलाई लिएर जाने सैनिक अधिकारीको नाम बताउन मानेनन् ।

गौमुलकै १६ वर्षीया सरिता जोशीलाई ४ वर्षअगाडि उनका सानोबाबु बलराम जोशीले ‘शहर लगेर राम्रो पढाइदिने’ भनेर गाउँबाट लगे । रमिलाकी आमाले पनि छोरीलाई रोकिनन् । उनलाई लागेको थियो, शहरमा छोरीले राम्रो पढ्न पाउली, भविष्य राम्रो होला । तर बलरामले रमिलालाई बुटवलका शिक्षक कमल खनालकहाँ लगेर छोडिदिए । कमल बलरामका मिल्ने साथी थिए ।

जब रमिला कमलको घर पुगिन्, उनको नारकीय जीवन सुरु भयो । पढ्न पाइनन्, वस्तुभाउ हेर्ने र घाँसपातकाे काम मात्रै गर्नुपर्‍यो । अत्याचार खेप्न नसकेपछि रमिला वैशाख २०७२ मा भागेर घर फर्किइन् । यसबारे बलरामसँग प्रश्न गर्दा उनले गल्ती स्वीकार गरे । उनले भने, ‘साथीले भनेपछि लगिदिएको थिएँ, उनीमाथि नराम्रो व्यवहार गरेछ ।’

रमिलाकी आमा कमला जोशीले भनिन्, ‘छोरीले अत्याचार सहनुपर्‍यो तर बोलिदिने कोही भएन ।’ रमिला अहिले वैदेशिक रोजगारीका लागि दुबईमा छिन् ।

१९ बालबालिका फर्किए  

१४ वर्षीय मानबहादुर धामी गौमुल गाउँपालिका– ४ मानाकोटको कृतिचौर माध्यमिक विद्यालयमा कक्षा– ८ मा अध्ययन गर्थे । गाउँबाट आधा घण्टा टाढा रहेको उक्त विद्यालयमा कक्षा ५ देखि उनको उस्थिति भएन । उनलाई सोही विद्यालयका पूर्वप्रधानाध्यापक रमानन्द जोशीले पढाइदिने भन्दै महेन्द्रनगरका नवीन चन्द ठकुरीको घरमा लगेका थिए ।

उनी महेन्द्रनगर पुग्दा ठकुरीको घरमा काम गर्ने र फुर्सद पाएको दिन महेन्द्रनगर माध्यमिक विद्यालयमा पढ्न जाने गरेका छन् ।

गत वर्ष काम गर्ने क्रममै उनी लिचीको रुखमा फलेको घिरौला टिप्न गएका थिए । लिचीको हाँगो भाचिँदा जमिनमा बजारिएर केही बेर बेहोस भए । हाेसमा आउँदा उनका दुवै हात चलेका थिएनन् ।

धामीले भने, ‘खसेपछि केही बेरसम्म उठ्न सकिनँ, होस आएपछि उठ्न खोज्दा हात टेक्न कठिन भयो । पछि अस्पताल जाँदा दुवै हात भाँचिएका रहेछन् ।’ उनलाई सेती अञ्चल अस्पतालमा ल्याएर स्टिल रड राखेर उपचार गरियो ।

उपचारपछि उनी त्यही घरमा फर्किए । उनले फेरि घरमा झाडु, पोछा लगाउने, खाना पकाउने काममा बेस्सरी दलिनुपर्ने भयो । उनले भने, ‘मेराे बारेमा समाचार आएपछि बुबाले घरबाट फोन गर्नुभयाे र घर आउन पाइयो ।’

धामीका बुबा अफिलाल धामीले सदरमुकामबाट खच्चडमार्फत सामान ओसारपसार गरी आएकाे आम्दानीले परिवारकाे खर्च धानेका छन् ।

छोराका बारेमा सोध्दा अफिलालले भने, ‘छोरालाई रमानन्द गुरुले पठाइदिएका थिए । पढ्न गएकाे छाेरा हात भाँचेर फर्कियाे । अहिले उसका दुवै हातमा स्टील राखिएको छ। गाउँपालिका बाहिर पठाएका बच्चा ल्याउनू भनेर पत्राचार गरेकाले फर्काएँ ।’

महेन्द्रनगरका नविन चन्द ठकुरीको घरमा काम गर्ने क्रममा हात भाँचिएका १४ वर्षीय मानबहादुर धामी । तस्वीर/निमेन्द्र शाही 

गौमुल गाउँपालिका–५ का १२ वर्षीय सुजन रोकाया पनि उनका गाउँले दाइ कलक रोकायाद्वारा पोखरा पुर्‍याइए । पाेखरा पुगेपछि गाउँले दाइले लेकसाइडमा रहेको पाउरोटी उद्योगी बबितासिंह शाहको घरमा छोडी दिए । उनी एक वर्ष त्यहाँ बिताएर पुनः कक्षा २ मा गाउँको कृतिचौर मावमै अध्ययन गरिरहेका छन् ।

शाहकाे घरमा के के काम गर्नुपर्थ्याे ? भन्ने प्रश्नमा सुरजले भने, ‘बिहान ४ बजे उठेर घरमा झाडु, पाेछा लगाउनुपर्थ्याे । भाँडा माझ्ने, कपडा धुने, धेरै काम थियो ।’

पोखाराकी पाउरोटी उद्योगी बबितासिंह शाहको उद्याेगमा काम गरेका १२ वर्षीया सुरज रोकाया (तस्वीर/निमेन्द्र शाही)

उनले आफूले गर्नुपर्ने कामको बेली बिस्तार फुकाए। घरबाट पाेखरा पुगेपछि उनी त्यहाँ कक्षा २ मा श्रीकृष्ण माविमा भर्ना भएका थिए । केही दिन विद्यालय जान पाए पनि पछि घरकाे कामले फुर्सद नहुँदा उनी विद्यालय जान पाएनन्, न त उनले परीक्षा नै दिन पाए ।

यसरी गाउँबाट बाहिरी जिल्ला पुर्‍याइएका धेरै बालबालिका श्रम शाेषणमा परेका छन् ।

उद्धार गरी ल्याइएका बालबालिकालाई गाउँ फर्काइएपछि सम्बन्धित स्थानीय तहले नै विद्यालयमा भर्ना गरिदने गरेका छन् ।

गत वर्ष बाजुराको बुढीगंगा नगरपालिका सायलकी चन्द्रा शाहको घरबाट उद्धार गरिएकी १३ वर्षीया कविता रोकाया यस वर्षबाट गाउँकै कृतिचौर माविमा कक्षा ७ मा अध्ययन गरिरहेकी छन्। यसअघि नै उनको हात टुटेर कमजोर भएकाले अहिले उनी घरको काम गर्न नसक्ने बताउँछिन् ।

कविताले भनिन्, ‘साहुकाे घरमा भाँडा माझ्ने, घाँस काट्ने, घरको सबै काम गर्नुपर्थ्याे । मेरो हातले नहुँदा पनि धर पाउँदिनँ थिएँ । तर, मेरी दिदी लिन आइन्, खुसी लागेकाे छ ।’

गौमुल–५ का १४ वर्षका शाैरभ रोकाया पनि अहिले सदरमुकाम मार्तडीको मालिका माविमा कक्षा ८ मा भर्ना भएर अध्ययन गरिरहेका छन् । उनी केही दिन काठमाडाैंमा एक तरकारी व्यापारीको घरमा बसेर काम गर्थे । शौरभले भने, ‘बिहान ३ बजे उठ्यो, तरकारी फार्मबाट तरकारी सडकसम्म पुर्‍याउँदा नै १० बज्थ्यो । हतारहतार स्कुल गयो, फेरि फर्केर ४ बजेदेखी राति १० बजेसम्म तरकारी गोडमेल, टिप्ने र बटुल्ने काम गर्नुपर्थ्याे । कति बेला पढ्नु,’ उनलाई अभिभावकले अहिले घर ल्याएर सदरमुकामको विद्यालयमा भर्ना गरिदिएका छन् ।

अहिले बाहिर गएर आएका विद्यार्थीहरू थला मावि, कृतिचाैर मावि र मालिका माविमा अध्ययन गरिरहेका छन् ।

साहुका घरबाट उद्धार गरी गाउँकै विद्यालयमा भर्ना गरिएका बालबालिका र तिनका अभिभावकसँगकाे सामूहिक फाेटाे । (तस्वीर/निमेन्द्र शाही) 

थला माविमा मुकेश बुढा कक्षा ९, मीन रोकाया कक्षा ९, नविन रोकाया कक्षा ७, सपना रोकाया कक्षा ७, हिमाल रोका कक्षा ५ मा पढ्छन् ।

यसैगरी, कृतिचाैर माविमा उमेश धामी कक्षा ८, हिक्मत रोकाया कक्षा ८, दिला रोकाया कक्षा ८, सुजन रोकाया कक्षा २, कविता रोकाया कक्षा ७, मनिस रोकाया कक्षा ८, मानबाहादुर धामी कक्षा ८, नरेश रोकाया कक्षा १०, नरेश धामी कक्षा ९, प्रवीण रोकाया कक्षा ६ मा अध्ययन गरिररहेका छन् । मालिका माविमा शाैरभ रोकाया कक्षा ९ मा पढ्छन् ।

चर्चामा

सम्बन्धित समाचार