शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • प्रेम-गौरी (कथा)

प्रेम-गौरी (कथा)

  • बुधबार, जेष्ठ ७, २०७७
प्रेम-गौरी (कथा)

 शनिबारको दिन थियो । निल आकाशलाई बेवारिसे बादलले जिस्क्याइ रहेको थियो । बिहान अबेरसम्म गौरीले प्रेमलाई अंगालोबाट छोड्दै छोडीन । जति उज्यालो हुँदै गयो झन अंगालोमा कस्दै गइ । सबैको सनिबार थियो तर प्रेम भने आइतबार जस्तै काम मै दौडिनु पर्ने । खै अंगालो खोल आज बनेपा पुग्नु छ भरे छिटो आउँछु । प्रेमले आफुलाई मायाले कसेको हातबाट छुट्टिन खोज्यो ।

अंह आज अंगालो खोल्न मनै छैन के । निन्द्रा मै गौरी बोली । हेरन लाटी पत्रकारको काम जहिल्यै बाइकमा हुँइक्यो जस्तो सुकै कार्यक्रममा सहभागी भएर क्यामेरामा फोटो कैद गर्दै समाचार संकलन गर्दै हिड्दा हिड्दै दिन बित्छ । कलमलाई हतियार बनाए आफू एक लडाकु जस्तै बनी अक्षरको खेतीगरि समाजमा भएका राम्रा नराम्रा, सकारात्मक र नकारात्मक तथा प्रेणादायी घटना, राजनीतिक, आर्थिक, साँस्कृतिक आदि सम्बन्धि लेख रचना र समाचारहरु अनलाइन तथा पत्रपत्रिका मार्फत मान्छेको माझ सम्प्रेषण गर्नु पत्रकारको दायित्व हो ।

युद्धमा दुश्मन, मायाप्रेम गर्ने जोडीको बिचमा भिलेन र पत्रकारीतामा हरेक समस्या खडा गर्ने दानबलाई जित्न निकै परिश्रम गर्नु पर्छ अनि मात्र सफलता हात पर्छ बुझ्यौ ? म ठूलो पत्रकार भएको हेर्न मन छैन त गौरी ? गौरीको निधारमा चुम्वन गरेर बोल्यो प्रेम । अझ यो भन्दा कति ठूलो बन्ने इच्छा छ हजुरको ? सबैले चिन्छन् भैगो त आज कतै जानू पर्दैन हजुरले । बरु धरहरा जाउँ, सिनेमा घर जाउँ आजको शनिबार जता भएनी सँगै रहुँ । होइन प्यारी मेरो कामै यस्तै छ त म के गरुँ । त्यसोभए मपनि हजुरसँगै बनेपा जान्छु त्यहाँ धुलिखेल…. । होइन गौरी म घुम्न जानलागेको होर ? अर्को शनिबार बिदा लिएर घुम्न जाउला हुन्नर ? गौरीको कुरा काट्दै प्रेम बोल्यो ।

यो गौरीलाई प्रेमसँग छुट्टिन मनै छैन त म के गरुँ आफै भनिस्योन । प्रेम लाचार भयो अंगालोबाट छुटकारा पाउनै सकेन । प्रेम विवश भयो मायाको अगाडी । तैपनी गौरीलाई छोड्न मन नहुँदानहुँदै बेलुका भेट्ने बाचा गरेर बनेपा गयो समाचारको खोजीमा । प्रेम र गौरीको प्रेम कहानी मुनामदन, लैलामज्नु, शशीपन्ना, हिर र राजाहरुको भन्दा पृथक थियो भेट, पृथक थियो माया अनि पृथक बिछोड ।

बाजुरामा पर्ने एक बिकट बस्तीको मध्यम वर्गीय परिवारमा जन्मिएको प्रेम एसएलसी पास गरीसकेपछि अझ धेरै पढेर ठूलो मान्छे बनेर समाजसेवामा जीवन समर्पित गर्ने सुनौलो सपना बुनेर शहर छिरेको थियो । बिकट गाउँबस्तीमा टाउको दुख्दा सिटामोल, पेट दुख्दा बुसकोपान र पखाला लागे जीवनजलको झोल नपाउने गरिब र रोगले ग्रस्त भएका मान्छेलाई सेवा गर्ने ठूलो सपना बोकेर स्टाफ नर्स पढ्न शहर आएकी कास्की पोखराकी गौरी ठुलै कुलखानदानकी छोरी थिइ । प्रेम र गौरीकोलागी महाराजगन्जको टिचिङ हस्पिटल एक संगम स्थल भयो । गौरीको ड्युटी परेको बेला प्रेम बिरामी भएर भर्ना भएको थियो ।

उपचारकै क्रममा दुबैले एकअर्कालाई मन पराउन थाले र बिस्तारै दुबैले माया बाड्न थाले । त्यसपछि प्रेम र गौरीका दिनहरु प्रेममय बन्दै गए । यीनीहरुको भावनाले जोडिएको मायाको सम्बन्ध दुबैका घर र आफन्तसम्म पुग्यो । प्रेमका बाबाआमाले धनी बाउकी छोरी बिहे गरेर गौरीलाई दु:ख नदे भने तर प्रेम गौरीको मायाजालमा फसेर पागल भएकोले त्यसो गर्न सकेन । उता गौरीको घरपरिवारलेपनि महलमा जन्मिएकि छोरी गरिबको झुपडीमा कसरी गीन्दगी बिताउछस् खान र लाउन मायाले पुग्दैन भनेर सम्झाउन थाले प्रेम र गौरीको सम्बन्ध छुटाउन । प्रेम र गौरीको मायाप्रेम छुट्नुको सट्टा झन प्रगाढ बन्यो । अब प्रेम र गौरी एकै सिक्काको दुई पाटा जस्तै बनिसके । सँगै जीउने मर्ने कसम खाएर जीन्दगीको यात्रा सुरु गर्न थाले हजारौं मान्छेहरुको भिडको शहर काठमाडौंमा ।

अरुको नुन खायो भने सुनको सोझो गर्नैपर्ने । प्रेम सम्पादकले अह्राएको कामको लागि बनेपामा भएको कार्यक्रममा गएर फोटो र नेताहरुका कोरा सपना बुनेका भाषण रेकर्ड गरेर फर्कियो । दिउसो एकबजे कोठामा पुग्ने गरेर । समय त्यस्तै साढे बाह्र बजेको हुदो प्रेम भक्तपुर पुग्नै लाग्दा पुरै जमीन हल्लियो । झ्याप बाइको ब्रेक लगाएर रोक्यो । प्रेमले भ्यालीमा नजर लगायो । भ्यालीमा पुरै धुलो र धुवाँको मुस्लोले छपक्कै छोपेको देख्यो । ओहो ! भुइचालो आयो । शहरमा ठुलै क्षती भए जस्तो छ । अनि मेरी गौरी ! प्रेम एक्लै फतफतायो र फेरि बाइक हुँइकायो । धुलोको मुस्लोले अन्धकार बनाएको शहरतिर । प्रेम भ्यालीमा प्रबेश भयो बाटो पुरै बन्द देख्यो ।

जताततै घर भत्तिएका, बाटैभरी घाइते मान्छे, आफन्त र घरबार गुमाएका भावविह्वल मान्छे र बेवारिसे लासहरु । प्रेमले केही सोच्नै सकेन बस उसलाई पिर मात्र गौरीको पर्यो । गौरीलाई फोन गर्यो फोनै उठेन । अब प्रेमलाई कुनै समाचार संकलन गर्न तिर ध्यानै गएन गौरीबाहेक उसका आँखामा अरु केही देखिएन । अस्तव्यस्त र कोलाहलको रोड छिचोल्दै तिनबजे प्रेम कोठामा पुग्यो । प्रेमको कोठा भएको घरपनि पुरै भत्किए छ । केही थान पुलिस, केही मानिस दुई डोजर लगाएर घर पन्छाएर लास निकाल्दै थिए ।

प्रेम बाइकबाट ओर्लिएर भक्कानिएको स्वरमा गौरी ! गौरी !! भन्दै भत्किएको घर तिर गयो । एकजना पुलिसले प्रेमलाई च्याप्प समायो । प्रेमसर नआत्तिनुहोस् यो घरमा कोही मान्छे जीवितै छन् । लाग्छ हजुरको म्याडमपनि यतै हुनुहुन्छ । रुन्छे स्वरमा प्रेमलाई पुलिसले सम्झायो । त्यस घरमा उद्धार गरेका मान्छेमा गौरी भेटीन । प्रेमले बिहानको कुरा सम्झियो । “आज हजुरसँग छुट्टिन मनै छैन बरु धरहरा तिर घुम्न जाउन…।” गौरी भन्दै पागल जस्तै बिछिप्त भएर सुनधारा तिर कुध्यो प्रेम । धरहरा ढलिसकेछ ।

धरहरामापनि चारपाँच डोजर लगाएर थिचिएका लासहरु खोतल्दै निकाल्दै गर्दै थिए । लासको थुप्रोमा गएर प्रेमले गौरीलाई कराउदै खोज्यो । धुलोमाटो र रगतको समिश्रणले लासहरु पहिचान्न निकै कठिन थियो । बेवारिसे लासको दायाँ हातको कान्छी औलामा ‘P’ लेखेको सुनको औँठी देख्यो प्रेमले । जुन लास गौरीको थियो । आजको शनिबार अर्थात २०७२ साल बैशाख १२ गते प्रेम र गौरीकोलागि कालो दिन भइदियो अनि नेपालको लागि कालो इतिहास ।

प्रेमले गौरीको लासलाई अंगालोमा कसेर रुदै बिलौना गर्न थाल्यो । दिनलाई अंध्योले छोप्दै गयो । हेर आज यहाँ गौरीकोमात्रै मृत्यु भएको छैन यो बिनासकारी भूकम्पले हजारौंको मृत्यु भएको छ, लाखौं घरबार बिहिन भएका छौं अरुलाई हेरेर मन बुझाउ प्रेम । अजम्बरी कोही छैन यो धर्तीमा ढिलोचाँडोमात्र हो एकदिन हामीसबैले यो संसार छोड्नैपर्छ आफुलाई सम्हाल भनेर सबैले प्रेमलाई सम्झाए । भोलिपल्ट बिहानै पशुपति आर्यघाटमा सयौं लासहरुको अन्त्यष्टी भयो । प्रेमले गौरीको लासलाईपनि पशुपति आर्यघाटमा लिइ दागबत्ती दिएर अन्त्य गरि गौरीको अस्तुलाई झोलामा बोकेर सदाका लागि काठमाडौं शहर छोडेर आफ्नै जन्मभूमि बाजुरा फर्कियो । बाजुमा आएपनि गौरीको यादले सताइ रह्यो प्रेमलाई । अस्तु राखेको झोला प्रेमले सुत्दा आफ्नै सिरानीमा राखेर सुथ्यो । दिनमा धेरैपटक अस्तु राखेको कसौंडीलाई चुम्थ्यो । प्रेम जिउँदो लास थियो, दिन प्रतिदिन दुब्लाउदै गयो गौरीको यादले ।

गौरीको यादमै प्रेमका दिन बित्त्दै गए । एकनएकदिन प्रेमले गौरीको अस्तुलाई कुनै तिर्थस्थलमा लिएर पवित्र जलमा बगाउनु थियो । साउन महिनाको पहिलो साता नेपालकै ठूलो र पवित्र धार्मिक स्थल बढिमालिकामा पुजाआजा र दर्शन गर्न जाने तिर्थालुहरुसँगै प्रेमपनि आफ्नो आमाबुवाबाट आशिर्वाद थापेर गौरीको अस्तु भोकेर गयो । त्रीवेणीको पवित्र गंगा जलको छेउमा विधिवत पुजापाठ गरि कसौंडीबाट गौरीको अस्तु निकालेर बगिरहेको पानीमा मिसायो । प्रेमले अस्तु बगेको हेरिरह्यो जब अस्तु पानीसँगै बिलिन भयो प्रेम किनारमै ढल्यो । तिर्थालुहरुले प्रेमलाई बोलाए तर प्रेम बोलेन । प्रेम कहिल्यै नौठ्नेगरी ढलेको थियो । अब प्रेम र गौरीका अथाह सपनाहरु अधुरै रहे ।

चर्चामा

सम्बन्धित समाचार