शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • क्वारेन्टिनमा गाईवस्तु हुलेजसरी राखेकाले धेरैलाई कोरोना सर्‍यो

क्वारेन्टिनमा गाईवस्तु हुलेजसरी राखेकाले धेरैलाई कोरोना सर्‍यो

  • मङ्लबार, जेष्ठ ६, २०७७
क्वारेन्टिनमा गाईवस्तु हुलेजसरी राखेकाले धेरैलाई कोरोना सर्‍यो

बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार फेला परेका ४७ जना संक्रमितमध्ये ४३ जना एउटै वडाका रहेको खुलेको छ। ४३ जना संक्रमित नरैनापुर वडा नं. ५ का बासिन्दा हुन्। वडाध्यक्ष कृष्णचन्द्र मौर्यका अनुसार वडा नं.२ का दुई जना, वडा नं. १ का एक जना र वडा नं. ६ का एक जनामा संक्रमण फेला परेको हो।

संक्रमित सबै यसअघि भारतबाट आएका हुन्। यसअघि नै वडा नं. ५ का ८ जनामा कोरोना पुष्टि भइसकेको छ। उनीहरुलाई दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। आइतबार मात्रै वडा नं. ५ को नयाँ बस्तीका एकजना २५ वर्षीय युवाको कारोनाका कारण मृत्यु भइसकेको छ।

उनी पनि केही दिनअघि छिमेकी देश भारतबाट नेपाल आएका थिए। बाँकेस्थित भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाले शनिबार संकलन गरिएका २६३ नमुनामध्ये सोमबार ४७ जनामा संक्रमण फेला परेको जानकारी दिए।

तिमध्ये थप केही नमुनाको रिपोर्ट आउन बाँकी नै रहेको उनले बताए। सोमबार फेला परेका संक्रमितको उमेर समूह ११ वर्षदेखि ४६ वर्षको बीचमा रहेको डा. थापाले जानकारी दिए।

नरैनापुर गाउँपालिकामा मात्रै अब ५५ जना कोरोना संक्रमित छन्। एकजनाको मृत्यु भइसकेको छ। साथै बाँके जिल्लाभर कुल ८१ जनामा संक्रमण पुष्टि भइसकेको छ।

६ वटा वडा रहेको नरैनापुर गाउँपालिकाभर कुल १३ वटा क्वारेन्टिन निर्माण गरिएका छन्। सबैमा गरेर हाल ७ सय ५९ जनालाई क्वारेन्टिनमा राखिएको छ।

भारतसँग सोझै सिमाना जोडिएको नरैनापुरमा लुकीछिपी आएर लुकेरै बस्ने गरेकाले पनि भाइरस महामारीको रुपमा फैलिएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

वडाध्यक्ष मौर्यले भने अव्यवस्थित र असुरक्षित क्वारेन्टिनका कारण सबैमा कोरोना फैलिएको दाबी गरे। ‘क्वारेन्टिनमा धेरैलाई गाईवस्तु हुलेजसरी राखिएकै कारण सबैमा कारोना फैलिएको हो,’ मौर्यले भने।

वडा नम्वर ५ मा भारतबाट आएका सबैकाबारे प्रशासन र गाउँपालिकालाई जानकारी रहेको उनले बताए।

उनले आफ्नो वडामा कुनै पनि व्यक्ति भारतबाट लुकिछिपी आएर नबसेको भन्दै चेकजाँच नगरी संक्रमितसँगै सबैलाई एउटै क्वारेन्टिनमा राखेपछि फैलिएको अनुमान लगाए। ‘उनीहरु लुकिछिपी बसेका थिएनन्, गाउँपालिकाले राम्ररी जाँच नगरी सबैलाई एकैठाउँमा राखिदियो’ मौर्यले भने।

नरैनापुर कोरोनाको हटस्पट बनेपछि सर्वसाधारणमा त्रासदी छाएको उनले बताए। नयाँ फेला परेका ४७ जना संक्रमितलाई कहाँ राख्ने भन्ने अन्यौलता सिर्जना भएको सुरक्षाअधिकारीहरुले बताएका छन्।

बाँकेको खजुरास्थित २५ बेडको आइसोलेसन यसअघि नै भरिएको हुँदा ८ जनालाई दाङ ल्याइएको छ। थप आइसोलन अस्पताल बाँकेमा छैनन्।

जिल्ला प्रहरी प्रवक्ता शिवहादुर सिंहले नरैनापुर गाउँपालिका भित्रकै विद्यालयलाई आइसोलेनसका रुपमा विकास गरी उनीहरु सबैलाई त्यही राख्ने कि भन्ने बारेमा छलफल सुरु भएको जानकारी दिए।

वडा नं. ५ का २५ वर्षीय युवाको मृत्यु भएपछि उनी बसेको दीपेन्द्र प्राविको क्वारेन्टिन आइवार बेलुका नै खाली गरिएको छ। त्यहाँका ३८ जनालाई वडा नं. ६ को जय किसान माविको क्वारेन्टिनमा सारिएको छ। जहाँ पहिलै ६० जना थिए। सेताेपाटी डटकमबाट 

चर्चामा

सम्बन्धित समाचार