
‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित अहिले देशभरि आर्थिक गणनाको स्थलगत तथ्यांक संकलनको काम जारी छ । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनामा नछुट्न सबैमा आह्वान गरेको छ । स्थलगत गणनाको काम २ वैशाखबाट सुरु भएको हो । जुन ७ असारसम्म जारी रहने भएको छ । कार्यालयका अनुसार ३ हजार ९०६ गणक स्थलगत रुपमा खटिएका छन् । अहिलेसम्म १२ लाख ९८ हजारभन्दा बढी प्रतिष्ठानबाट फाराम सङ्कलन गरिसकिएको छ । जारी गणनामा कुनै पनि प्रतिष्ठान/व्यवसाय सहभागी हुन नछुटौं र यो महाअभियानलाई सफल पारौं भन्दै कार्यालयले आह्वान गरेको छ ।
प्रतिष्ठान/व्यवसाय गणनामा छुटेको भएमा सम्बन्धित जिल्ला आर्थिक गणना कार्यालय वा कार्यालयको टोल फ्री नम्बर ११७८ मा असार ७ गतेभित्र सम्पर्क गर्न समेत आह्वान गरिएको छ । कार्यालयका अनुसार मुलुकको सम्पूर्ण आर्थिक गति धिको आधारशीलाको रूपमा रहेको एक विशेष र महत्त्वपूर्ण गणना हो । यस गणनाबाट देशमा सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारीको अवस्था, उत्पादन तथा सेवा प्रवाहको स्वरूपलगायतका महत्त्वपूर्ण विवरण सङ्कलन गरिन्छ ।
साथै देशको अर्थतन्त्रको आकार नाप्ने कुल गार्हस्थ उत्पादनका अनुमानलाई सुदृढीकरण गर्न कोशेढुंगा साबित हुनेछ । गणनाबाट प्राप्त तथ्याङ्कले अल्पकालीन तथा दीर्घकालीन आर्थिक योजना, नीति निर्माण, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना तथा सन्तुलित विकासका लागि महत्त्वपूर्ण योगदान पुर्याउने छ ।
उपलब्ध गराएका विवरण तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने समेत कार्यालयले जनाएको छ । यी तथ्यांक केवल सामूहिक रूपमा तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिनेछ । व्यक्तिगत वा संस्थागत पहिचान खुल्नेगरी कुनै पनि विवरण सार्वजनिक नगरिने कार्यालयले स्पष्ट पारेको छ ।


