शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • नासा स्पेस एप्स कोभिड–१९ च्यालेन्ज २०२० हुने

नासा स्पेस एप्स कोभिड–१९ च्यालेन्ज २०२० हुने

  • सोमवार, बैशाख २९, २०७७
नासा स्पेस एप्स कोभिड–१९ च्यालेन्ज २०२० हुने

विश्वव्यापी रुपमा कोभिड– १९ ले पारेको प्रभाव र त्यसको समाधानको खोजीको प्रयास स्वरुप नेपालमा नासा स्पेस एप्स कोभिड–१९ च्यालेन्जकाे आयाेजना हुने भएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को तत्वाधान आगामी १७ र १८ गते नेपालमा सो च्यालेन्ज सञ्चालन हुने छ ।

उक्त ४८ घन्टे विश्वव्यापी भर्चुअल ह्याकथानमा सहभागीहरुले अमेरिकी अन्तरिक्ष संस्था नेसनल एरोनोटिक्स स्पेस एड्मिनिस्ट्रेसन (नासा), युरोपेली अन्तरिक्ष सस्था युरोपियन स्पेस एजेन्सी (इसा) तथा जापानिज अन्तरिक्ष संस्था जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) द्वारा प्रदान गरिने डाटा/तथ्यांकमा काम गर्दै कोभिड– १९ को समाधानका उपाय खोज्ने प्रयास गर्नेछन्। त्यस अवधिमा, विश्वभरिका सहभागीहरूले भर्चुअल टोलीहरू सिर्जना गर्नेछन् र कोभिड– १९ महामारी सम्बन्धी मुद्दाहरूको समाधान विकास गर्न पृथ्वी अवलोकन डाटा प्रयोग गर्नेछन्।

नासोले उक्त कार्यक्रममा भाग लिन नेपाल तथा विदेशमा अध्ययनरत तथा कार्यरत नेपालीहरुलाई आव्हान गरेको छ । नासोले एक विज्ञप्ति जारी गर्दै भनेको छ : ‘हामी यस चुनौतीमा सामेल भएर नासा, इसा तथा जाक्साद्वारा प्रदान गरिने पृथ्वीको अवलोकनको तथ्यांकलाई केलाउँदै समाधान खोज्ने प्रयासमा नेपाली कोडर, उद्यमी, वैज्ञानिक, डिजाइनर, कथाकार, निर्माता, निर्माणकर्ता, कलाकार तथा प्राविधिज्ञहरुलाई आह्वान गर्न चाहन्छौं।’

नासोले जनाएअनुसार उक्त चुनौती निम्नलिखित विषयगत क्षेत्रहरूमा केन्द्रित रहनेछन्–

१) अन्तरिक्षबाट प्राप्त तथ्यांकको आधारमा भाइरस तथा यसको फैलावटको अध्ययन
२) स्थानीय प्रतिक्रिया/परिवर्तन र समाधानहरू
३) कोभिड– १९ को पृथ्वी/प्रणाली र पृथ्वी/प्रणाली प्रतिक्रियामा प्रभाव
४) कोभिड– १९ को समयावाधि तथा आगामी दिनमा हुने आर्थिक अवसर, प्रभाव र रिकभरीको अवस्था

उक्त कार्यक्रमका लागि भोलि मंगलबार बैशाख ३० गते विश्वव्यापी रुपमै खुला गरिने नासोले जानकारी दिएको छ ।

स्मरण रहोस्, नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) ले इनोवेट नेपाल ग्रुप (आईएनजी) संगको सहकार्यमा गत वर्षदेखि नासा स्पेस एप्स च्यालेन्ज गर्न थालेको हो।

चर्चामा

सम्बन्धित समाचार