आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • देश
  • धनुषामा घरेलु मदिरा सेवनले मृत्यु हुनेको संख्या नौ पुग्यो

धनुषामा घरेलु मदिरा सेवनले मृत्यु हुनेको संख्या नौ पुग्यो

  • आइतवार, चैत्र २, २०७६
धनुषामा घरेलु मदिरा सेवनले मृत्यु हुनेको संख्या नौ पुग्यो

जनकपुर । धनुषामा घरेलु मदिरा सेवन गरेको कारण मृत्यु हुनेको संख्या फेरि थपिएको छ । आइतबार बिहान थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ ।

जानकी मेडिकल शिक्षण अस्पतालमा उपचारार्थ क्षिरेश्वरनाथ नगरपालिका –१, रमदैया निवासी ५० वर्षीय राम यादवको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

शनिबार एक जनाको, शुक्रबार चार जनाको र बिहीबार तीन जनाको मृत्यु भएको थियो । शनिबार क्षिरेश्वरनाथ नगरपालिका –२, रमदैयाका ६२ वर्षीय श्रीदेव यादवको मृत्यु भएको थियो ।

शुक्रबार ज्यान गुमाउनेहरुमा क्षिरेश्वरनाथ नगरपालिका –१, रमदैयाका ३६ वर्षीय रामनारायण महरा र जनकपुर, देवपुरा निवासी (ससुराली आएका) ३० वर्षीय राजु महरा, क्षिरेश्वरनाथ नगरपालिका –२, रमदैयाका २७ वर्षीय इन्द्रजीत महरा र ४७ वर्षीय शत्रुधन मण्डल छन् ।

त्यसअघि बिहीबार क्षिरेश्वरनाथ नगरपालिका –२, रमदैयाका ३५ वर्षीय ब्रम्हदेव यादव, ४० वर्षीय रामविलास मण्डल र ६५ वर्षीय गुदरी महराको मृत्यु भएको थियो ।

मदिरा सेवनगरी सिकिस्त भएका छ जनाको उपचार जारी रहेकोमा एक जनाको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर पप्पु नायकले जानकारी दिए ।

उनका अनुसार क्षिरेश्वरनाथ नगरपालिका –१, रमदैयाका ३७ वर्षीय रामईश्वर महरालाई जानकी शिक्षण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

अन्य पाँच जना क्षिरेश्वरनाथ नगरपालिका –२, रमदैयाका २३ वर्षीय प्रदिप सदा, ५० वर्षीय भरत मण्डल, ४४ वर्षीय मनिर नदाफ, २२ वर्षीय भरत सदा र ५० वर्षीय सीताराम यादव पनि सोही अस्पतालमा उपचारार्थ भर्ना रहेको नायकले जनाए ।

घरेलु मदिरामा मिथाइल नामक तत्वको मात्रा बढी हुन्छ । आधिकारिक रुपमा तयार पारिने मदिरामा इथाइलको मात्रा मिलाइएको हुन्छ ।

मिथाइलले शरीरमा नकारात्मक असर गर्छ । मिथाइललाई इथाइलले काट्ने हो ।

तर, घरेलु मदिरामा इथाइल नहुने र पकाउने बेलामा सावधानी अपनाउन नसक्दा मिथाइलको मात्रा बढेर शरीरमा असर गर्ने उपचारमा संलग्न चिकित्सकको भनाई छ ।

“मिथाइलको मात्रा बढी भएको अलकोहल सेवन गरेको कारण यस्तो अवस्था आएको देखिन्छ” जानकी मेडिकल शिक्षण अस्पतालका डा. शरद यादवले भने, “घरेलु मदिरा पकाउने क्रममा कार्बनसँग रियाक्सन भएर इथाइल मिथाइलमा परिणत हुन्छ र त्यस्तो मदिरा सेवन गर्ने व्यक्तिलाई सिधै असर गर्छ ।”

सात जना पक्राउ

घटनापछि अवैध मदिरा उत्पादन गर्ने तथा बिक्रीवितरण गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती मध्ये मदिरा उत्पादन गर्ने महोत्तरी, भंगहा नगरपालिका –३ का ४७ वर्षीय जगतनारायण मण्डल छन् ।

अवैध मदिरा बिक्रीवितरण गर्ने आरोपमा धनुषाको लक्ष्मीनीयाँ गाउँपालिका –६, बगेबाका २४ वर्षीय नवीन यादव र ५० वर्षीय घुरन यादव, क्षिरेश्वरनाथ नगरपालिका –२, रमदैयाका ४५ वर्षीया छठियादेवी मण्डल, ४८ वर्षीय रामानन्दन साह र ४१ वर्षीय जयकुमार यादव तथा जनकपुरधाम –१४, रजौलकी ३५ वर्षीया सितलीदेवी यादवलाई पक्राउ गरी घटनाको अनुसन्धान थालेको इन्सपेक्टर नायकले जानकारी दिए । बाह्रखरी बाट साभार

चर्चामा

सम्बन्धित समाचार