मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • ‘बाकावीर’ को बलिदानी र भीम रावलको देशभक्ति

‘बाकावीर’ को बलिदानी र भीम रावलको देशभक्ति

  • शुक्रबार, कार्तिक १५, २०७६
‘बाकावीर’ को बलिदानी र भीम रावलको देशभक्ति
अर्जुन शाह

बाकावीर, भीमदत्त पन्त, जयपृथ्वीबहादुर सिंह, दशरथ चन्दजस्ता महान देशभक्त सपुत जन्माएको सुदूरपश्चिमको पवित्र भूमिले यतिबेला समय परिवेशअनुसार भीम रावललाई अगाडी उभ्याएको देखिन्छ ।
दशकौंको संघर्ष पश्चात राजतन्त्र अन्त्य भई लोकतान्त्रिक गणतन्त्र र नागरिक स्वतन्त्रतासहितको राजनीतिक ब्यवस्था तथा नागरिक सम्प्रुभुता प्राप्त भएको छ । हजारौं नेपाली सन्तानहरुको बलिदानीबाट प्राप्त संविधान प्राप्त छ । फलिफाप होला या नहोला, घरदैलोसम्मै सरकार स्थापना हुनेगरि संघीयता लागु भएको छ । दशकौंसम्म कायम रहेका विभिन्नखाले अस्थिरता तत्कालका लागि अन्त्य भए झै देखिएका छन् । एकातिरको विकसित परिस्थिती आफैमा नेपाललाई समृद्ध बनाउने अवसर हो । तर, चुलिएका जनअपेक्षाहरु यथोचित तथा तिब्रतर ढंगले सम्बोधन गर्न सरकार कताकता चुकिरहेको बुझाई आमरुपमा बाक्लिएर झांगिदै गएको छ । आर्थिक बेथितीले सीमा नाघ्न थालेको प्रष्टै देखिन्छ । अराजकता मौलाउदै गएको छ । कम्युनिष्ट नेताहरु अधिकांश शिद्धान्तबाट च्यूत हुँदै गएका छन् । सिद्धान्त, निष्ठा र आदर्शलाई केवल बर्को बनाउन थालेका नेता कार्यकर्ताहरुमा ढोंगीपन बढ्दै छ । यसमा पनि सबैभन्दा महत्वपूर्ण सवाल देशको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय स्वाभिमानमाथिको खतरा अन्त्य भएको छैन । बरु दिनदिनै बढ्दै गएको विष्लेशकहरुको बुझाई छ ।
कुनैपनि देशको राष्ट्रियता र अखण्डता समाप्त गर्न जनसंख्याको राजनीति (नागरिकताको चलखेल), त्यो देशको संस्कृति तथा नैतिक शिक्षामाथिको आक्रमण र गुप्तचरहरुबाट राजनीतिक, सुरक्षा तथा नीति निर्माणको तहलाई प्रभावित गर्ने कार्य हुने गर्छन् । दुर्भाग्य, अहिले नेपालमा नागरिकताको चलखेल बेस्सरी बढाइएको छ । धर्म सस्कृतिमाथि भर्मार आक्रमण गरेर तहसनहसको विन्दुमा पु¥याइएको छ । नेपालको आप्mनो सास्कृतिक परम्परा, मुल्य मान्यता र मौलिक परम्पराहरु क्षय गरिँदैछ । राजनीतिक, सुरक्षा, नीतिगत संयन्त्रमा पनि विभिन्न कोणमा प्रहार तथा चलखेल तिब्र बनाउदै लगिएको जानकारहरु बताउँछन् । यस हर्कतमा देशभित्रै र बाहिरबाट अनेकौ तत्वहरु सक्रिय छन् । तसर्थ, यिनै वर्तमान अप्रिय सन्दर्भहरुले राष्ट्रहीत विरुद्ध हुने गतिविधि रोक्न कुनै सच्चा देशभक्त, राष्ट्र नायकको खाँचो देशका अघिल्तिर टड्कारोगरि उभिएको छ ।
यही पृष्ठभूमिमा नेपाली जनता, राष्ट्रहित र संविधानको रक्षा गर्न सुदूरपश्चिमकै भूमिले जन्माएका भीम रावल दृढ प्रतिज्ञ रहेको घटनाक्रम, अनेक तथ्यहरु र उनका तमाम कदमहरुले पुष्टि गर्दै आएको चर्चा गर्नु कुनै आग्रहपूर्ण ठहरिने छैन् । ब्यक्ति पूजा भन्दा पनि ब्यक्तिका कर्मका आधारमा विश्वास र भरोसा राख्नु पर्दछ । हुन त अहिले कर्म भन्दापनि ब्यक्तिप्रति स्तुतिभाव प्रकट गर्नेहरुको तछाडमछाड हुने जमाना हो । यहि मान्यतामा सहमत हुँदै विश्लेषकहरु भन्छन् ‘रावलले राष्ट्रहीतका पक्षमा लिने गरेका अडानकै कारण उनीमाथि अहिले अनेकन आरोप, अचाक्ली घेराबन्दी, विभिन्न प्रकारका धम्की तथा चुनौतिको पर्रा छुट्ने गर्छ । तर पनि त्यसको कुनै प्रवाह नगरी कहिकसैको धक्काले डग्मगाउन नसक्ने गरी चट्टान झै अडिग गराएको प्रतित हुन्छ ।’
सुखसयल, पदप्रतिष्ठा र राजकाजसमेत त्यागेर नागरिक स्वतन्त्रताका लागि त्याग गर्ने तथा हासीहासी जीवन उत्सर्ग गर्ने देशभक्त महावीरहरुको गाथाले भरिपूर्ण छ सुदूरपश्चिम । भीम रावल जन्मिएको अछाम त्यही भुमि हो, जसले इतिहासमा राणाशाही विरुद्ध संघर्ष गर्ने पहिलो ब्यक्ति बलदेव शाह (बाकावीर) जन्माएको थियो । वस्तुगत मुल्याकंन हुन सकेको भए बाकावीरको नाम प्रथम शहिदको सुनौला अक्षरले अंकित हुन्थ्यो होला । तर विडम्वना राणाशाही विरुद्ध संघर्षको मैदानमा उत्रने पहिलो ब्यक्तिको बलिदानीको गौरवगाथाको आज अत्तोपत्तो छैन ।
बाकावीरले जंगबहादुरका सिपाहीद्धारा अछाममा मच्चाइएको आतंक विरुद्ध १९०६ को सुरुबाट आन्दोलन छेडेका थिए । उनले अछामभर राणा विरुद्ध विद्रोहको झिल्को सल्काएर अन्यायअत्याचारका विरुद्ध जनतालाई विद्रोह गर्न सक्षम बनाएका इतिहासकारहरुका लिखतमा पाइन्छ । पछि आप्mनैहरुबाट उनको षडयन्त्रपूर्वक हत्या गरिएको थियो ।
यतिबेला संविधानको मर्म, राष्ट्रिय अखण्डता, सार्वभौमिकता र स्वाभिमानका विरुद्ध हुने जुनसूकै क्रियाकलापका विरुद्ध एक्लै भएपनि दृढतापूर्वक उभिने सामथ्र्य राख्ने नेताका रुपमा भीम रावलले आफुलाई उभ्याएका छन् । उनकै अडानका कारण देशलाई दिर्घकालीन क्षति पुग्नसक्ने अनेकौ जोखिमहरु रोकिएका छन् । चाहे त्यो विम्स्टेको सयूक्त सैन्य अभ्यास होस् वा आइफा अवार्ड । ‘उनकै निर्भिक अडानले रोकिएका हुन्’ एक विश्लेषकले भने ।
‘देश सुरक्षित भएमात्र जनता, राजनीति र सरकार सुरक्षित रहन्छ’ भन्ने रावलको मान्यतालाई कतिपयले सत्तारुढ भित्रकै कडा प्रतिपक्ष पनि भन्छन् । तर उनको तर्क छ ‘मेरा लागि पार्टी, सरकार, पदभन्दा माथि मेरो देश हो ।’ राष्ट्रियताका मामिलामा सबै दल र नेताहरु एकमत हुनुपर्नेमा उनको जोड रहदै आएको पाइन्छ ।
समय र परिवेशअनुसार देशलाई आवश्यक परेअनुसार राष्ट्रियताको रक्षा र स्वतन्त्रता प्राप्तिको लागि संघर्षको मैदानमा आफुलाई उतार्नेहरु थोरै हुन्छन् । अहिले त झन देश र जनतामाथि घात गर्दै चाकडी, चाप्लुसी, तिकडम गरेर लाभ प्राप्त गर्ने घृणित प्रवृति तलदेखि माथिसम्म हावी छ । नेतृत्वहरुमा जनताको नजरमा राजनेता कहलिने तृष्णाको साटो सत्ता र पैशाको मोहमा लीनता छ । राष्ट्रहीतका पक्षमा संघर्ष, आँट, हिम्मत र त्याग चाहिन्छ । जुन जो कसैमा हुन्न । देशभित्र र बाहिरबाट हुनसक्ने अनेक प्रकारका जोखिमहरुको सामना गर्ने दृढता चाहिन्छ । त्यस्ता सामर्थ राख्नेहरुले मात्रै आफुलाई सच्चा राष्ट्रभक्तको कसीमा उभ्याउन सक्छन् । सुदूरपश्चिमका देशभक्त सपुतहरुको इतिहास पनि त्यही हो । चाहे ती बाकाबीर हुन, वा भीमदत्त पन्त । दशरथ चन्द हुन या जयपृथ्वीबहादुर सिंंह ।
डडेल्धुराको अमरगढी नगरपालिका–२ कारीगाउँमा विसं १९८३ मंसिर १० गते जन्मेका भीमदत्त पन्तलाई किसान विद्रोह गरेको आरोपमा २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो ।
यस्तै अर्का सपुत दशरथ चन्दका बारेमा युगकवि शिद्धिचरण श्रेष्ठले ‘कारागारका सम्झना’ पुस्तकमा चन्दको शहादतबारे लेखेका छन् । दशरथ चन्दले जीवनमा कहिलै पनि शिर निहुराएनन् । उनी प्रजा परिषद्को कर्मठ सदस्य तथा उपसभापति रहेको थाहा भएपछि नेलसिक्री लगाइयो । बाँसमा झुन्ड्याएर पिँडौलाको मासु झार्ने गरी कोर्रा बर्साइयो । तर उनको मुखबाट कुनै कुरा फुत्केन । आफूलाई शारीरिक पीडा दिएर सताउनेलाई उनी भन्थे ‘मैले सबै कुरा स्वीकार गरेपछि म मारिने नै छु भने किन मार्न लाउन्नौ ? मान्छौ भने अब पनि मौका छ, जनताको हक देऊ । यो अन्यायी शासन अब धेरै समय टिक्न सक्दैन । तिमीहरुको नासको बेला नजिकै आइरहेको छ ।’
जब सिंहदरबारमा मुद्दा फैसला गर्दै ‘दशरथको ज्यान, अंश सर्वस्व’ भन्ने एैलान हुँदा उनी गलल हाँसेका थिए । मृत्युको फैसलामा यस्तो हाँसो निकाल्न सक्नु अदम्य शाहस थियो, वीरता थियो । दशरथ चन्दको जीवनको सबभन्दा ठूलो सौन्दर्य उनको मृत्युदेखिको निर्भयता थियो ।
सुदूरको माटोले जन्माएका अर्का महान ब्यक्तित्व जसले देशभित्र मात्रै हैन संसारभर नेपालको नाम चिनाए । उनी हुन् मानवतावादी जयपृथ्वीबहादुर सिंह । उनले विभिन्न मुलुकमा मानवतावादी विचार फैलाएर मानवतावादी आन्दोलनका प्रतिपादकका रुपमा स्थापित गरे । बझाङ्गी राजा जयपथ्वी बहादुर सिंह समाजमा ‘मेरो जात मानव हो, मेरो धर्म मानवतावाद हो, मेरो सिद्धान्त पनि मानवतावाद हो, मेरो अन्य कुनै जात र धर्म छैन’ भन्दै विश्व भ्रमण गर्ने प्रथम एसियाली हुन् । सर्वे भवन्तु सुखिनाः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःख भाग्जनः । अर्थात, सबै मानवजाति सुखी होउन, सबै निरोगी होउन, सबैले राम्रै–राम्रो मात्र देख्न पाउन, कुनै पनि मान्छे दुःखी रोगी नहोउन् भन्ने विचार विश्वभरी छरेका थिए उनले ।
उनका अगाडी तमाम अवसरहरु थिए । तर ती सबै त्यागे । काठमाडौंमै अध्ययन गर्दैगर्दा राणाहरुले उनका बुवाको राजगद्दी खोसेर उनलाई १९४७ मा बझाङ राज्यको राजा घोषित गरे । तर बझाङमा शासन गर्दा उनी शासक बनेनन् । आफुलाई सेवकका रुपमा परिचित गराए । ‘मानवतावाद’ पुस्तक लेखेर उनी विश्वमाझ परिचित भए ।
यतिबेला बाकावीर, भीमदत्त पन्त, दशरथ र जयपृथ्वी बहादुर सिंहले गरेजस्तो, त्यहि स्वरुप वा सन्दर्भको आन्दोलन गर्नुपर्ने बेला त हैन । तर अनेकन प्रकारले देशभित्र र बाहिरबाट राष्ट्रिय अखण्डतामा आँच पु¥याउने र स्वाभिमानमा क्षय गर्ने कार्यहरु हँुदै आएका छन् । तसर्थ राष्ट्रियता कमजोर हुनबाट जोगाउन सक्ने स्वाभिमानी नेतृत्वको खाँचो भने अवस्य छ देशलाई यतिबेला ।
भीम रावल भन्छन् ‘कुनै देशलाई समाप्त गर्नुछ भने त्यहाँको भाषा, संस्कृति, जीवन पद्दति र सामाजिक सद्भाव समाप्त गरिदिए पुग्छ, भन्ने भनाईप्रति ध्यान दिनु बुद्धिमानी हुन्छ । संस्कृतिमा कुनै विकृति भए सुधारेर लैजानु पर्छ । जीवन पद्दतिलाई परिस्कृत र समयानुकूल तुल्याउँदै जानु पर्छ ।’ राष्ट्रिय हितप्रतिको उनको सतर्कता यसबाट पनि प्रष्ट हुन्छ । त्यसैले त यतिबेलाको राजनीतिक रंगमञ्चमा वैदेशिक हस्तक्षेप विरुद्ध खबरदारी गर्ने नेताको नाम लिनुपर्दा अधिकांशको जनजिब्रोमा भीम रावलकै नाम अगाडी आउने गरेको छ ।
हुन त अहिलेको नेपाली समाज बहकिने खालको छ । तथ्यमा वहस नहुने परम्परा छ । हरेकले राजनीतिक पछ्यौरी समात्नै पर्ने गलत चिन्तन र प्रवृति हावी हुदैछ, गराइएको छ । हरेक पेशाकर्मीहरुले आप्mनो पेशाको निष्ठाभन्दा पनि राजनीतिक तातोमै मग्न हुने अवस्था छ । रोकटोक कसैलाई केहीमा पनि नभएजस्तो देखिन्छ । लाभको आधारमा बोल्ने र भूमिका निर्वाह गर्ने परम्परा मौलाउदो छ । यस प्रवृतिको घानमा निष्ठावान पेशाकर्मीपनि परेकै छन् ।
रावलका पनि आलोचनाहरु नहुने हैनन् । उनका सन्दर्भमा पद नपाएपछि चर्को बोल्ने गरेको आरोप लागिरहन्छ । तर उनी त्यस आरोपलाई सिधै अस्वीकार गर्छन् । ‘तथ्यलाई केलाउने हो भने सम्भवतः मन्त्री पद अस्विकार गर्ने म मात्रै हुँला’ उनले भन्ने गरेका छन् । पछिल्लो समय देशलाई अहित हुने अनेकन घटना तथा प्रकरणमा रावलको खबरदारी नहुँदो हो त सायद देशको अस्तित्वमै दीर्घकालीन क्षय हुनसक्ने तमाम घटनाहरु भइसक्थे । बेलाबेला हुने त्यसता घटना र रावलले लिने अडान र ब्यवहारले उनका तर्कहरुलाई मजबुत गरिरहेका हुन्छन् ।
को थिए बाकावीर ?
इतिहासकार आत्माराम अोझले इतिहासकाे मन्थन नामक पुस्तकमा र  डोटी क्याम्पसमा इतिहास विषय प्रध्यापनरत अर्जुनबहादुर देउबाले अछाममा विसं १९०६ सालमा भएको बाकावीरको बिद्रोहका बारेमा उल्लेख गरेका छन् । बाकावीर अर्थात वलदेव शाह अछामी राजा रणभुप शाहका कान्छा छोरा थिए ।
१९०६ सालमा उक्त घटना हुँदा अछामी शाहहरुको ‘राजा’ उपाधि कानुनी रुपमा कायमै थियो । उनी तत्कालिन राजा श्री ५ राजेन्द्रका भान्जी पट्टिका ज्वाँई बलदेव शाह (बाकावीर) का दाजु टिकाभुप शाह थिए । दाजुको वैबाहिक सम्बन्धका कारण बाकावीरको सम्बन्ध र सम्पर्क त्यतिबेला नेपाल दरबारसम्म थियो ।
हत्या, हिंसा र षडयन्त्रको भ¥याङ चढेर सत्तामा पुगेका जंगबहादुरले काठमाण्डौ उपत्यका भित्रका आफ्ना विरोधीहरुलाई सिध्याएका भएपनि उपत्यका बाहिर आफु बिरुद्ध हुनसक्ने सम्भावित षडयन्त्र र बिद्रोहमाथि निगरानी राख्न ठाउँठाउँमा पल्टन खटाएर सैनिक क्याम्प खडा गर्न लगाएका थिए । त्यसक्रममा सुदूरपश्चिममाथि निगरानी राख्न अछामको बान्निगढीमा सैनिक क्याम्प राख्न लगाएका थिए । बान्निगढीमा राणा सरकारको सैनिक क्याम्प बसिसकेपछि अछामी जनताका दुःखका दिनहरु शुरु भएका थिए ।
छडुवा राँगो र साँढे जस्तै फुकुवा भएका राणाका सिपाहीहरु अछामका गाँउगाँउमा पसेर दुध, दहि, घिउ, खसी, बोका तथा अन्नपात लुटपाट गर्न थाले । उनीहरुको त्यस्तो ज्याजदीपूर्ण ब्यबहारको बिरोध गर्न खोजे उल्टो कुटपिट र डरधाक खानु पर्ने अवस्था थियो । त्यस्तो कठिन परिस्थितीमा अछामीहरुले आफ्नै भाग्यलाई सराप्दै राणा सरकारका सिपाहीहरुको अत्याचारपुर्ण कार्यहरु चुपचाप सहन बाध्य थिए ।
ती सिपाहीहरुको अत्याचारले सीमा नाघ्दै गयो । यसै बेला बलदेव शाह (बाकावीर) आफु स्वयं सैनिक क्याम्प बान्निगढी पुगेर जनताहरुलाई नसताउन अनुरोधपुर्ण भाषामा चेतावनी दिएर फर्किए ।
राणाहरु बाहेक अरु कसैको अस्तित्वसमेत स्वीकार गर्न नसक्ने घमण्डी जंगबहादुरका सिपाहीहरुले बाकावीरको कुरा सुन्ने कुरै थिएन । बरु ती सिपाहीहरुको अत्याचार घट्नुको सट्टा झनझन बढ्न थालेपछि बाकावीरले जंगबहादुरलाई पत्र पठाउँदै उनका सिपाहीहरुले गरिरहेको जनतामारा गतिविधी तुरुन्त बन्द गर्न लगाउन आग्रह गरे ।
जंगबहादुरबाट सकारात्मक सन्देश प्राप्त हुने आशामा बसेका बाकावीर महिनौ बितिसक्दा पनि कुनै सुुनुवाइको खबर प्राप्त नभएपछि निराश भए । अब अछामी जनताहरुलाई राणा सरकारका सिपाहीहरुको अन्याय र अत्याचारबाट मुक्ति दिलाउन प्रतिरोधात्मक कदम उठाउनु अग्रसर गर्नु बाहेक उनीसँग अर्को कुनै बिकल्प नभएपछि बाकावीर निरंकुश अन्यायपूर्ण राणा शासनको बिरुद्घमा बिद्रोही भएर देखा परे । विसं १९०६ को प्रारम्भबाट उनले अछामका गाँउगाँउमा घुमेर राणासरकार बिरुद्घ संगठन निर्माण गर्दै जंगबहादुरका सिपाही बिरुद्घ एकजुट भएर लड्न आव्हान गर्न थाले ।
राणा विरोधी गतिविधीको सुइको पाएको बान्निगढी सैनिक क्याम्पले बाकावीरलाई पक्रिन अनेक प्रयास गर्दा पनि सफल भएनन् । त्यसपछि गुप्तचरको भेषमा आफ्ना मान्छेहरु पठाएर पक्रिने प्रयास गर्न थाले । यति गर्दापनि राणाका सिपाहीहरुलाई सफल भएनन् । भेष बदलेर बाकावीरलाई पक्रिन गाउँ पसेका एक्ला दुक्ला सिपाहीहरुलाई उल्टै बाकावीरले हत्या गर्न थालेपछि बल्ल बान्निगढीको सैनिक क्याम्प बाकावीरका गतिविधीबाट झस्कियो । सिपाहीहरुले काठमाण्डौमा बिद्रोहबारे खबर पठायो र यता आफुपनि बाकावीरको खोजीमा दलबलसहित लाग्न थाल्यो ।
बाकावीरलाई घरमा गासवास दिनेलाई प्राणदण्ड दिइने उर्दी जारी भयो । तर जति प्रयास गर्दापनि बाकावीरलाई राणा सरकारका सिपाहीहरुले पक्राउ गर्न सकेनन् ।
उर्दीका कारण बाकावीरलाई गाँउमा बसेर राणा विरोधी गतिविधिहरु अगाडी बढाउन गाह्रो पर्न थाल्यो । त्यसैले उनी जंगलमा लुकेर बस्न थाले र उतैबाट राणा विरोधी योजना बनाएर सञ्चालन गर्न थाले । यो थाहा पाएपछि सैनिकहरुले सर्वसाधारणलाई जंगल आवतजावतमा प्रतिबन्ध लगाउँदै बाकावीर लुकेर बस्नसक्ने सम्भावित जंगललाई नाकाबन्दी गरे । यस नाकाबन्दीका कारण जंगलमा खाद्य आपुर्ति हुन सकेन । फलस्वरुप बाकावीरले प्राण रक्षा गर्न वनजंगलका गिठा, भ्याकुर, तथा कन्दमुल खान थाले । त्यतिमात्र होइन उनले वनमा पाइने एकप्रकारको मुख कोक्याउने विषालु वनस्पति ‘बाको’ समेत खाएर प्राणरक्षा गर्नुपरेको थियो । ‘बाको’ जस्तो विषालु वनस्पति खाएरपनि जिवितै रहन सकेकोमा बलदेव शाहलाई बाकोखाने वीर अर्थात ‘बाकावीर’ भन्न थालियो ।
तर जति प्रयास गर्दापनि बाकावीरलाई पक्राउ गर्न नसकेपछि उनको बिद्रोह अछाममा आगो झै फैलिन थालेपछि राणा सरकार गम्भिर र चिन्तित हुन थाल्यो । बाकावीरलाई सामान्य बलले मात्र नियन्त्रण गर्न सकिदैन भन्ने निष्कर्षमा पुगेपछि राणाहरुले उनलाई षडयन्त्रपुर्ण तरिकाले मार्ने योजना बनाउन थाले ।
वि.सं १९०६ सालतिर नै जंगबहादुर आफु हात्तीमा सवार भई अछाम पुगेको बेला बलदेव शाहको बिद्रोहको बारेमा जानकारी लिएका थिए । काठमाण्डौबाट पहाडैपहाड भएर महाकाली अञ्चलसम्म हात्ती सवार हुनसक्ने मुलबाटो खनाउँदै जंगबहादुर त्यहाँ पुगेका थिए । अछाम पुग्दा रिडिकोट टुरमुकाममा त्यहाँका स्थानीय शेरु स्वाँरका छोराहरुले गरेको सेवा सत्कार र चाकरीबाट प्रसन्न भएका जंगबहादुरले तिनीहरुलाई जागिरपनि दिएका थिए । त्यति नै बेला जंगबहादुरले बाकावीरलाई मार्न स्वाँरहरुसँग गोप्य कुराकानी गरेका थिए । रिडीकोटबाट अगाडी बढेर घुगुरकोटको फेदीमा गौडो चढ्न लाग्दा जंगबहादुरको हात्ती लडेर म¥यो । जंगबहादुर काठमाण्डौं फर्किए । हात्ती लडेर मरेको हुनाले त्यस ठाउँको नाम हात्तीगौडा रहन गएको भन्ने भनाई छ ।
उनी काठमाण्डौ फर्किएको केहि समयपछि यता भवानीसिँ स्वाँर, कालुसिँ स्वाँर र रुद्र स्वाँर भन्ने व्यक्तिहरुले बलदेव शाह(बाकावीर)को छलकपटपुर्ण तरिकाले हत्यागरि टाउको काठमाण्डौ पु¥याए ।
ती स्वाँर बन्धुहरु बाकावीरलाई सहयोग गर्ने भन्दै उनको समर्थक बनेका थिए । आफना समर्थक बनिसकेपछि बाकावीरलेपनि यिनिहरुमाथि विश्वास गर्दै राणा विरोधी योजना बनाउनेदेखि लिएर सञ्चालन गर्ने गतिविधिमा सहभागि गराउन थाले ।
जंगबहादुरको विश्वास गर्न नसकेका कर्मचारी तथा सिपाहीहरु काठमाण्डौ छोडेर मधेशतिर लुकेर बसेका थिए । यस्तै भगुवा सिपाही मध्येका स्वरुपसिँ स्वाँर पनि एक थिए । स्वरुपसिँ स्वार बाकावीरको हत्यामा संलग्न भवानीसिँ स्वार र कालु स्वाँरका दाजु थिए । उनलाई भगुवा भारदारसित मधेश गएकोमा कसुर माफ भई काठमाण्डौ बोलावट भएको थियो । तर आशंका र डरले त्यतिबेला उनी काठमाण्डौ फर्किन सकेनन् । फर्कन बिलम्ब गरेको हुँदा उनलाई राणाहरुले आफ्नो बिरोधी ठानेका थिए । दाजुलाई राणाहरुले आफुमाथि दागा गर्न आउने विपक्षी समुहको सुचिमा राखेपछि भवानीसिँ स्वाँर र कालु स्वाँर अवश्यपनि राणा विरोधी बने होलान् भन्ने भ्रम बाकावीरलाई पर्न गयो ।
तर नियत खराब भएका भवानी, कालु र रुद्र स्वाँरले घातगर्दै उनका गोप्य योजनाहरुको सुराकी बनेर त्यसको सूचना बान्निगढी सैनिक क्याम्पमा पठाउन थाले । विस १९०६ को वर्षा ऋतुमा अछामी जनताहरुको साथलिएर बान्निगढीलाई ध्वस्तपार्ने योजना बनाएका बाकावीर रातीराती गाँउगाँउ पसेर जनतालाई राणाहरु बिरुद्घ एकजुट पार्ने र दिउसो वनमा पसेर स्वाँर बन्धुहरुसँगको बिचार विमर्शबाट अगाडीको योजना बनाउन थाले ।
त्यसैक्रममा एकदिन रातीको कार्यक्रम सकेर वन जान लाग्दा बाटोमा पर्ने काफलखेतको धारामा नुहाउन लागेको मौका छोपेर सँगै रहेका रुद्र स्वाँरले खकुरी प्रहारगरि बाकावीरको शीर छिनाली दिए । काटिएको टाउको पोको पारेर रुद्र स्वाँर, भवानी स्वाँर र कालु स्वाँर रातारात काठमाण्डौतिर लागे । खटाए बमोजिमको काम फत्ते गरेर आएकोले जंगबहादुरले खुशी हुँदै स्वाँर बन्धुहरुलाई मनमा लागेको कुरा बिन्ति गर्न भने । भवानी सिँ र कालुसिँ ले आफना दाजु स्वरुपसिँ मधेशतिरै रहेको हुँदा काठमाण्डौ आउने अनुमति मिलोस भनि बिन्ति गरे । उनीहरुको बिन्ति बमोजिम कर्णेल खड्गबहादुर कुँवर राणाजीले विस १९०६ साल पौष महिनाको १५ गते स्वरुपसिँ स्वाँरलाई भगुवा भारदारसँग मधेश बसेको कसुर माफि गरे ।
बाकावीरको टाउको छिनाल्ने काम आफुले गरेको भएतापनि राणाहरुबाट कालुसिँ र भवानीसिँ स्वाँरको मात्र कुरा सुनेर उनीहरुलाई प्राथमिकता दिएको र आफ्नो कुनै सोधिखोजी नगरी अवमूल्यन गरेको महसुसगरि रुद्रसिँ स्वाँर रिसायर हल्द्वानीतिर लागे । अछाम कहिलै फर्र्किएनन् ।
इतिहासको गर्भमै रहेको यो वास्तविकताको थप खोज अनुसन्धानगरि बलदेव शाह (बाकावीर) लाई ‘प्रथम शहीद’ र उनले गरेको राणा विरोधि गतिविधीलाई ‘प्रथम राणा बिरोधी आन्दोलन’ को रुपमा इतिहासमा दर्ज गरिनु अहिलेको न्यायिक आवश्यकता हो । किन कि इतिहासमा प्रथम सहीदको दर्जा पाउनुपर्ने बलदेव शाह (बाकावीर) ले लखन थापाभन्दा २७ वर्ष अगाडी नै राणाहरु बिरुद्घ आवाज उठाएवाफत आफ्नो मृत्युवरण गर्नु परेको थियो ।
भीम रावलले लिएका अडानहरु
नेपालको सार्वभौमसत्ता, अखण्डता, संविधानको मर्म विरुद्ध हुने हरेक कार्यमा कडा प्रतिवाद गर्दै आएका रावल विदेशी हस्तक्षेपजन्य गतिविधि आफुलाई असह्य नहुने भन्दै खरो उत्रिने गरेका छन् । विद्यमान परराष्ट्रनीति, एकताको डोरीमा बाँधिएका नेपालीलाई जातजातीका नाममा भिडाउने, सास्कृतिक धरोधरमाथि आक्रमणको त अझ चर्कोगरि विरोध गर्दै आएका छन् ।

नेपालको नाम झण्डा परिवर्तन गर्ने प्रस्तावको विरोध

संविधानसभामार्फत संविधान निर्माणका क्रममा निलाम्बर आचार्य मस्यौदा समितिका सभापति भएका बेला मधेसी दलका नेताहरुले नेपालको नाम र झण्डा फेर्न लिखित प्रस्ताव ल्याएपछि मस्यौदा समितिमा रहेका रावलले उक्त प्रस्ताव च्यातेर डस्विनमा हाल्ने भन्दै अस्विकार गरेका थिए ।

  •  सयूक्त सैन्य अभ्यासको विरोध
    २०७५ भदौ १४ र १५ गते काठमाडौंमा भएको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमेस्टेक) ले भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा बिम्स्टेक राष्ट्रहरुले सैन्य अभ्यास गर्ने समझदारी थियो । उक्त सैन्य अभ्यासमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यान्मार र थाइल्याण्डका ३०÷३० सैन्य अधिकारीले सहभागिता जनाउने भनिएको थियो । तर उक्त सम्मेलनमार्फत भारत आफ्नो छातामुनी अभ्यासको आयोजना गरेर चीन र पाकिस्तानलाई सैन्य तागत देखाउने अभियानमा लागेको विश्लेषकहरुको दाबी थियो । नेता भीम रावलले यस्तो अभ्यासमा नेपाल सहभागी हुनै नहुने अडान लिए ।
    संयुक्त सैन्य अभ्यासको विषयले राजनीतिक जगत गर्मागरम भयो । भारतीय पक्षद्धारा नेपाल संयुक्त सैन्य अभ्यास गर्नका लागि सहमत भइसकेको भनाई सार्वजनिक भइसकेको थियो । तर त्यस विषयलाई नेता भीम रावल खरो रुपमा विरोध गरे ।
    पूर्वउपप्रधान तथा रक्षामन्त्री र गृहमन्त्रीसमेत भइसकेका रावलले त्यस सन्दर्भमा भने ‘बिम्स्टेक पारस्परिक आर्थिक विकास र समृद्धिका लागि हो भन्ने सबैले जानेको कुरा हो । कुनै पनि निहुँमा यसले सैनिक अभ्यासको बाटो समात्नु घोषित उद्देश्य विपरीत मात्र होइन, नेपाल जस्तो असंलग्न र शान्तिप्रिय देशका लागि चिन्ता र दुःखको विषय हो । कुनै पनि निहुँमा यस अन्तर्गत सैनिक अभ्यास गरिनु संगठनको उद्देश्य विपरीत हुन्छ ।’ उनले अगाडी भने ‘यस्तो नीतिमा अहिले नेपाल सहभागी हुनैपर्ने के बाध्यता आइलाग्यो ?’ अन्ततः सरकार संयुक्त सैन्य अभ्यासबाट पछि हट्यो । रावलले लिएको अडान सही थियो भन्ने स्थापित भयो ।
  •  विदेशीलाई नागरिकता दिने चलखेलको विरोध
    नागरिकता कुनैपनि देशको स्वाधिनता, स्वतन्त्रता र आफ्नो निर्णयसँग सम्बन्धित हुन्छ । तर नेपालमा भने पछिल्लो समयमा ‘सिउँदोमा सिन्दुर र हातमा नागरिकता’ भनिन थालेको छ ।
    केही अघि गहृमन्त्री रामबहादुर थापा नेतृत्वको गृह मन्त्रालयले वंशजको नागरिकता दिन मन्त्रिस्तरीय निर्णय गरी ‘सर्कुलर’ जारी गरे । अंगीकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने गृह मन्त्रालयको सर्कुलरप्रति रावलले आपत्ति जनाउँदै संसदप्रति सरकारको सम्मानहीनता भने । उनले सरकार संसदप्रति उत्तरदायी हुनुपर्नेमा उपेक्षा गरी संसदमा विचाराधीन नागरिकताबारे निर्णय लिइएको भन्दै तिब्र आलोचना गरे ।
    २०६३ सालमा पनि अन्तरिम संविधान नआउँदै हतारमा नागरिकता ऐन ल्याइएको स्मरण गराउँदै रावलले सरकारको पछिल्लो कदम त्यसकै पुनरावृत्ति भएको बताएका थिए । कुनैपनि देशमा नागरिकताको सवाल लामो समयसम्म चल्दैन । दुर्भाग्य नेपालमा बारम्बार चल्दै आयो । रावलका अनुसार जनसंख्याको चलखेल गरी विदेशीहरुलाई हुल्ने नाममा अनेकौं चलखेल हुदै आए । पछिल्लो समय त अझ बढे । ००९ सालमा, ०३६, ०६३ मा नागरिकतामाथि खुकुलो ब्यवस्था हुदै आएर षडयन्त्र हुदै आए ।
    अहिलेको कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकारको समयमा पनि पनि नागरिकतालाई खकुलो गर्ने डिजायनको भीम रावलले कडा प्रतिवाद गरिरहे । जनसंख्याको घुसपैठ बढाएर नेपालीहरुलाई आप्mनै देशभित्र अल्पसंख्यमा पार्ने खेल भएको उनले बताए । उनले दुईटा देशको बीचमा रहेको मुलुकमा दिर्घकालीन अस्तित्वलाई ख्यालै नगरेकोमा आपत्ति जनाए । विदेशी महिला विहे गरेर आएको भोलीपल्ट नागरिकता दिने ब्यवस्था संसारमा कहिकतै नभएको उनले स्पष्ट पारे ।
  •  होली वाइन प्रकरण
    युनिभर्सल पिस फेडेरेसन (युपिएस) को आयोजनामा सम्पन्न एसिया प्यासिफिक समिटमा सरकार र पार्टी नेताहरुको सहभागिताप्रति नेता रावलले आलोचना गरे । नेपाल धर्म निरपेक्ष राष्ट्र रहेकोम युनिफिकेसन चर्च आबद्ध क्रिश्चियन धर्म प्रचारको आरोपमा विवादित संस्थाको कार्यक्रमको नेता रावलले खरो विरोध गरे । उनको तर्क थियो ‘कुनै व्यक्ति र निजी संस्थाको निहीत स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु पर्याे ।’ रावलले अगाडी भने ‘शान्तिको नाममा सम्मेलन गर्नेहरुले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नुपर्छ । नभने सरकारले खोजेर भन्नुपर्छ ।’ रावलले सार्वजनिक रूपमै सो कार्यक्रमको आलोचना गरेपछि सहआयोजकबाट नेपाल सरकारलाई हटाइयो ।
    सरकारले राष्ट्रिय स्वाभिमानमा आँच आउने काम गरेको उनको भनाई रावलको थियो । यसै क्रममा शीर्ष नेताबाट आलोचनासमेत खेपेपनि रावलले  अडान छोडेनन् ।
  •  सिके राउत सम्झौता सन्दर्भ
    देश टुक्रयाउने आन्दोलनमा लागेका सिके राउतसँग सरकारले गरेको सम्झौताप्रकृया र सम्झौतामा उल्लेख भएका बुँदाहरुप्रति भीम राववले चर्को आलोचना गरे । राज्यद्रोहमा लागेको ब्यक्तिसँग दुई देशकाबीच गरेको सम्झौताजस्तो वक्तब्य जारी गरेर सरकारले त्रुटी गरेको उनले बताए । रावलले नेपालको सार्वभौमसत्ता विरुद्ध विगतमा सिके राउतले बोलेको, पृथकतावादी संगठनको सदस्यता नत्यागेकोमा आपत्ति जनाए ।
    सिके राउतसँगको सम्झौतामा केही अस्पष्टता रहेको भन्दै आलोचना गर्दा षडयन्त्रकारीहरुबाट अनेकन टिप्पणी हुन थालेपछि रावलले संसदमै भने ‘देशको हितमा बोल्दा कसैको टाउको दुखेको भए देशभक्तिको चक्की खानु ।’ उनले देशको संविधानसँग अमिल्दो, कति कुरा पार्टीको नीति तथा कार्यक्रम, विधानसँग नमिल्दो र कतिपय कुरा देशको हित विपरीत भएकाले त्यसलाई सच्याउनका लागि अडान राख्दै आएको बताए । ‘नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर पार्टीले र सरकारले गरेका कमजोरीहरु औंल्याएको हुँ’ उनले स्पष्ट पारे ।
  •  विषादी जाँचमा रोक प्रकरण
    नेपालीको जीवन र सरोकार राख्ने सवालहरुमा भीम रावलले निरन्तर आवाजहरु उठाउदै आएका छन् । यसै सन्दर्भमा भारतले नेपालले सुरु गरेको फलफुल तथा तरकारीमा विषादी पक्षिणको विरोध ग¥यो । भारतको कदम विश्व ब्यापार संगठनको मान्यता विपरित थियो । भीम रावलले त्यसको विरोध गरे । विश्व व्यापार संगठन अन्तर्गत अन्तराष्ट्रिय सम्झौता अनुरुप सबै देशहरूले उपभोग्य वस्तु, फलफूल, तरकारी र विरूवाको आयात गर्दा जनताको स्वास्थ्य सुरक्षा र विषादीबाट जोगाउन सही मापदण्ड अनुरुप भए नभएको परीक्षण गर्न पाउने उनले अडान लिए । ‘कसैको दवावमा आएर सरकार कर्तव्य विमुख हुन मिल्दैन’ उनले भने । आफनो क्वारेन्टाइनमा नेपालले स्वच्छताका जाँच गर्न पाउने ब्यवस्था रहेकोमा उनले जोड दिए ।
  •  बाबुरामको टीकापुर उक्साहटको विरोध
    टीकापुरमा ०७६ भाद्र ७ गते आयोजित थरुहट सम्मेलनमा पूर्व प्रधानमन्त्री भट्टराईले उत्तेजनापूर्ण, सामाजिक सद्भाव विथोल्ने, विभाजनकारी मन्तब्य दिए । उनले थारु समूदायलाई उक्साउदै पहाडीविरुद्ध लड्न उत्प्रेरित गरेपछि भीम रावलले कडा विरोध जनाए । रावलले भने ‘देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले यस्तो अभिव्यक्ति दिनु राष्ट्रहीत विपरित हो । मिलेर बसेको समुदायलाई भड्काउन कसैले पनि पाउँदैन् । मिलेर बसेका समुदायलाई एक आपसमा लडाउने गरी, सदभाव बिगार्ने गरी फेरी आन्दोलन गर्न उक्साउनु गलत हो । कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् !’
  •  परराष्ट्रनीति अनुसार व्यवहार
    छिमेकी लगायत अन्य राष्ट्रसँगको नेपालको सम्बन्ध नेतृत्वको ब्यक्तिगत लहडमा नभई विद्यमान परराष्ट्र नीतिका आधारमा सञ्चालन हुनुपर्नेमा भीम रावलले निरन्तर आवाज उठाइरहे । उनले भारतको विरोध वा अन्य कुनै राष्ट्रप्रति मात्र लचकता वा भारतप्रति लचकता र अन्य राष्ट्रसँगको दुरी नेपालको अहितमा हुने भन्दै बारम्बार त्यसतर्फ सचेत गराई रहे ।
  •  आइफा अवार्डको विरोध
    इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०७५ असारमा भारतीय पक्षको प्रस्तावमा काठमाण्डौंमा गर्ने तयारी सरकारको थियो । भारतको चलचित्र उद्योगको सम्मानमा सरकारले गर्ने भनिएको उक्त कार्यक्रमको सम्पुर्ण लाभ भारतको निजी कम्पनी विचक्राप्mटलाई दिने समझदारी थियो । त्यसका लागि नेपालले एक अर्ब बढी खर्च ब्यहोर्ने सहमति पनि थियो । तर यसले नेपाललाई कुनै फाइदा नहुने भन्दै भीम रावलले विरोध गरेपछि सरकार पछाडी हटेको थियो । त्यसअघि सरकारले सबै काम अगाडी बढाउन मन्त्रीपरिषदले निर्देशन दिइसकेको थियो ।
  •  बालुवाटार जग्गा प्रकरणको विरोध
    आप्mनै दलका महासचिवको नाम मुछिएको भएपनि नेता भीम रावलले बालुवाटार जग्गा प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । उनले देशभरका सार्वजनिक जग्गा हिनामिनामा निष्पक्ष छानबिन हुनु पर्ने धारणा राख्दै बालुवाटारस्थित ललिता निवासको जग्गा मिछिएकोबारे प्रकरणबारे आलोचना गर्दै रावलले भनेका थिए ‘बालुवाटार जस्तो संवेदनशील स्थानको जग्गा व्यक्तिको नाममा जानु आपत्तिजनक छ । सत्य तथ्य पहिचान गरेर दोषीलाई कारबाही गर्नुपर्छ ।’
  •  अछाममा भारतीय सुरक्षाकर्मी
    भारतीय सुरक्षाकर्मी अनधिकृत रुपमा अछामको बान्नीगढी जयगढमा पुगेर एक स्थानीय बासिन्दालाई पक्राउ गर्न प्रयास ग¥यो । भिम राववले अर्काको देशमा आएर पक्राउ गर्न नपाइने भन्दै कडा प्रतिवाद गरेपछि र पक्राउ रोकियो । त्यहाँ एक ब्यक्तिलाई पक्राउ गर्ने कुरा मात्रै थिएन । यदि त्यसको प्रतिवाद हुन नसकेको भए नेपाली भूमिको जुनसूकै कुनाबाट पनि भारतीय सुरक्षाकर्मीहरुले नेपालीहरुलाई मनपरी पक्राउ गर्नसक्ने नजिर बस्न सक्थ्यो । कतिपय निर्दोष नेपालीहरुले आप्mनै देशमा पनि असुरक्षित महसुस गर्नुपर्ने हुन्थ्यो । रावलकै कारण त्यो हुन पाएन ।
  •  अखण्डताको नेतृत्व
    राज्य पुनःसंरचनाका क्रममा सुदूरपश्चिममा लामोसमय खण्ड र अखण्डको आन्दोलन चल्यो । सुदूरपश्चिमवासीले आन्दोलनका कारण कष्टदुःख खेपे । कैलाली र कञ्चनपुरलाई मधेशमा मिलाउने जवरजस्त खेल चल्यो । तर भीम राववले अखण्डताको पक्षमा आफुलाई उभ्याएर सुदूरपश्चिेली एकताको डोरीलाई चुँडिनबाट जोगाए ।
  •  शिक्षा मन्त्री अस्वीकार
    माधव कुमार नेपाल महासचिव भएका बेला एमालेले भीमरावललाई शिक्षा मन्त्री बनाउने निर्णय गर्यो । तर रावलले अरुलाई बनाउन भन्यो । बहुदलीय ब्यवस्था स्थापना भएपछि पार्टी सम्भवतः भीम रावल मात्रै एक ब्यक्ति हुन्, जसले मन्त्री हुन्न भने ।
    यी बाहेक राष्ट्रिय स्वाभिमानमा आँच आउने प्रकारले हुने जुनसूकै कार्यको पनि भीम रावलले विरोध गर्दै आएका छन् ।
    लेखक नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष हुन् ।

चर्चामा

सम्बन्धित समाचार