बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • अस्ताए वरिष्ठ साहित्यकार दीक्षित

अस्ताए वरिष्ठ साहित्यकार दीक्षित

  • बिहिबार, साउन ३०, २०७६
अस्ताए वरिष्ठ साहित्यकार दीक्षित

काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको छ। निमोनियाले ग्रस्त भएपछि एक साताअघि ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’गरिएको थियो।

बुधबार बिहान कालिकास्थानस्थित निजी निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन्। उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्।

नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान थियो। उनी १९७९ फागुन ६ गते काठमाडौं गैरीधारामा जन्मिएका थिए।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन्। पारिवाकरिक स्रोतका अनुसार दीक्षितको आज (बिहीबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

दीक्षितको निधनप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाएका छन्।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उनको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गरे। प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका थिए।

आज बिहान निधन हुनुभएका ९७ वर्षीय दीक्षितको शव अहिले कमलपोखरीस्थित हिमाल अस्पतालमा राखिएको छ। उनको शवलाई अन्त्येष्टिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राख्न परामर्श भइरहेको छ। त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। दीक्षित प्रतिष्ठानका पूर्व उपकुलपति हुन्।

देउवाद्वारा श्रद्धाञ्जली अर्पण

कांग्रेस सभापति शेयरवहादुर देउवाले दीक्षित निवास पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार