आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • समाचार
  • यसरी पटक–पटक हिंसाको संकेत गरेकी थिइन् शिल्पाले

यसरी पटक–पटक हिंसाको संकेत गरेकी थिइन् शिल्पाले

  • बिहिबार, असार २६, २०७६
यसरी पटक–पटक हिंसाको संकेत गरेकी थिइन् शिल्पाले

काठमाडौं– यतिबेला अभिनेत्री शिल्पा पोखरेल आफ्नै श्रीमान छवि ओझाबाट असुरक्षित रहेको भन्दै प्रहरीको शरणमा पुगेकी छन्।

उनले आफ्ना फिल्म निर्माता पति ओझालाई घरेलु हिंसाको आरोप लगाएकी छन्।

तीन दिनअघि उनी घरेलु हिंसाको उजुरी लिएर जिल्ला प्रशासन कार्यलय काठमाडौं पुगेपनि मिडियामा यसको खबर आज(बुधबार)मात्रै सार्वजनिक भएको थियो।

हाल शिल्पासँगै रहेकी सम्झना उप्रेती रौनियारको जानकारी अनुसार छविको पिटाइबाट शिल्पाको कानमा गम्भीर असर परेको छ।

तर, यो खबर मिडियामा १५ दिनपछिमात्रै बाहिरियो। शिल्पाले उजुरी पनि १२ दिनपछि मात्रै दिइन्। किन त? यसको कारण अझै खुलिसकेको छैन।

तर, शिल्पाको फेसबुक हेर्दा थाहा भयो–उनले आफ्नो मनोदशा र भोगिरहेको ‘हिंसा’को संकेत भने पटक–पटक प्रकट गरेकी रहिछन्। १४ दिनअघि जुन २६ अर्थात् असार ११ गते रातको १२ बजेर दुई मिनेट जाँदा उनले महिलालाई हिंसा गरिएको एउटा तस्बिर पोस्ट गर्दै लेखेकी रहिछन्, ‘महिलालाई सम्मान गरौं।’

उक्त तस्बिरमा लेखिएको छ :

‘उनी बच्चा होइनन्, युवती हुन्
उनी माल होइनन्, बहिनी हुन्
उनी टुक्रा होइनन्, छोरी हुन्
उनी सामान होइनन्, श्रीमती हुन्
उनी आइटम होइनन्, आमा हुन्
उनी तिम्रो ‘एक्स’ होइनन्, अवश्य पनि कसैको भावी हुन्।’

यही पोस्ट उनले दोहोर्‍याएर एक हप्ताअघि अर्थात् जुलाई ३ मा पनि सेयर गरेकी छन्।

गहिरिएर हेर्दा जुन १० मा पनि उनले पोस्ट गरेको एउटा स्ट्याटस पनि छविप्रति नै संकेत जस्तो लाग्छ:
‘यति धेरै पनि वेवास्ता नगर कि
भेट्दा ‘हाम्रो भेट भएको थियो र!’
भन्ने अवस्था नआओस्।’

यी सबै पोस्टहरू हेर्दा सहजै अनुमान गर्न सकिन्छ, उनी धेरै समयदेखि पीडित थिइन् तर खबरमात्रै आज बाहिरिएको हो।

अहिले घेरलु हिंसाको उजुरी दिए यता शिल्पा मिडियासँगको सम्पर्कमा आएकी छैनन्। उनको फोनमा सम्पर्क गर्दा फिल्म निर्देशक सम्झना रौनियारले फोन उठाउँछिन्। अहिले शिल्पा उनकै घरमा आराम गरिरहेको बताउँदै उनले नेपाललाइभसँग भनेका छन्, ‘शिल्पा अहिले फोनमा बोल्न नसक्ने अवस्थामा छिन्, त्यसैले मैले फोन उठाएकी हुँ। छविजीसँग उहाँको १५ दिनअघि नै झगडा भएको हो। छविजीले कानमै असर पुग्नेगरी पिट्नुभएछ। त्यसैले राम्रोसँग कान सुन्न सकिरहेकी छैनन्।’

शिल्पाले सम्झनाको श्रीमान् विकास रौनियारलाई दाइ मान्दै आइरहेकी छन्। श्रोतअनुसार दुई वर्षअघि उनले गुपचुप बिहे गर्दा त्यतिबेला विकासले नै उनको कन्यादान गरेका थिए।

तर, छवि र शिल्पा दुवैले उनीहरूको वैवाहिक सम्बन्ध सार्वजनिक रुपमा अस्वीकार गर्दै आइरहेका थिए। शिल्पालाई छविले नै फिल्म ‘लज्जा’मार्फत नेपाली फिल्ममा डेब्यू गराएका थिए।

गुपचुप बिहे गरेपछि पनि उनले शिल्पासँगको सम्बन्धलाई फिल्म प्रचारको अस्त्र बनाइरहेका थिए। जबजब छविले निर्माणमा शिल्पाले अभिनय गरेको फिल्म रिलिज हुन्थ्यो, तब–तब अनलाइन मिडिया र युट्युबमा हेडलाइन छाउँथ्यो– ‘छवि–शिल्पाको बिहे कहिले? बिहे रोक्ने गुरु को हुन्?’

तर, रोचक त के भने दुवैको बिहे भने भइसकेको थियो। तैपनि मिडियासँग ‘बिहे नभएको’ नाटक गरेर ‘उल्लु’ बनाइरहेका थिए। त्यतिबेला शिल्पा पनि सम्बन्धबारे खुल्न तयार थिइनन्।

एक वर्षअघि संवाददातासँगको कुराकानीमा शिल्पाले बिहे भएकोबारे जानकारी लिन खोज्दा उनी स्वीकार गर्न तयार थिइनन्। भनेकी थिइन्, ‘प्रुफ भए सार्वजनिक गरिदिनुस्।’

तर, त्यसको १ वर्षपछि छविकै फेसबुकमा त्यो बिहे पुष्टि भयो।

यता शिल्पाको उजुरीको खबर आएयता पटकपटक डायल गरेपनि छविले भने फोन उठाइरहेका छैनन्। उनी निकट श्रोतसँग सम्पर्क गर्दा थाहा भयो–अहिले उनी इन्डष्ट्रीकै बेइज्जत भयो भन्दै आफ्नो बचाउका लागि फिल्मसँग सम्बन्धित संघसंस्थामा दौडधुप गरिरहेका छन्।

यता शिल्पा र उनीसँग रहेकी सम्झनालाई भने केस मिलाइदिन थुप्रै फोन आइरहेको छ। ‘छविजी इन्डष्ट्रीकै बेइज्जत भयो भन्दै हिँडिरहनुभएको रैछ, घरमा श्रीमती पिट्दाचाहिँ बेइज्जत नहुने, खबर बाहिर आउँदाचाहिँ बेइज्जत हुने, कस्तो अचम्म,’ शिल्पालाई फोन गर्दा सम्झनाले फोन उठाएर आश्चर्य प्रकट गरेकी थिइन्।

शिल्पा छविकी चौथो श्रीमती हुन्। उनको पहिलो विवाह ३५ वर्षअघि हेमा ओझासँग भएको थियो। आठ वर्षपछि सो सम्बन्ध टुट्यो । त्यसपछि अभिनेत्रीहरुसँग उनको वैवाहिक यात्रा सुरु भएको हो।

फिल्म ‘नाता’मा काम गर्ने क्रममा भेट भएकी गीताञ्जली सुनुवारसँग उनले दोस्रो बिहे गरेका थिए। डिप्रेसनका कारण गीताञ्जलीले आत्महत्या गरिन्। हेमाका तर्फबाट दुई छोरा र गीताञ्जलीका तर्फबाट एक छोरा छन्।

गीताञ्जलीपछि छविले रेखासँग तेस्रो बिहे गरेका थिए। रेखालाई उनैले फिल्म ‘हिरो’बाट अभिनयमा अवसर दिएका थिए। तर, रेखाको सम्बन्ध पनि १२ वर्षमात्रै टिक्यो।

चर्चामा

सम्बन्धित समाचार