पढाइ छाडेर भारत

  • मङ्लबार, फाल्गुन २८, २०७५
पढाइ छाडेर भारत

अछाम — तुर्माखाँद गाउँपालिका ३ का रवि बुढा १८ वर्ष पुगे । अहिलेसम्म उनी ५ पटक भारत गइसके । केहि समय बिदामा घर फर्केका उनले पढाइ छाडेर कामको खोजीमा जानु बाध्यता भएको बताए । ‘बुबाको उहिल्यै मृत्यु भयो । म भन्दा पछिका ४ भाइबहिनी मैले नै हेर्नुपर्ने छ । आमा अपांग हुनुहुन्छ,’ उनले भने, ‘गाउँका छिमेकीले अब तिमी कमाउने उमेरको भइसक्यौं । भारत जाऊ भनेपछि १३ वर्षको उमेरदेखि बम्बई जान थाले

तुर्माखाँदकै मोहन बुढा ११ वर्षको उमेरदेखि नै रोजगारीका लागि भारत जाने गरेका छन् । उनी वर्षमा एक सिजन अनिवार्य भारत जान्छन् । त्यहाँ कमाएको रकमले थपथाप गरी परिवारको खर्च टर्छ । उनी अहिले १७ वर्षका भए । यस अवधिमा उनी ६ पटक मजदुरी गर्न भारत गइसकेका छन् । गरिब परिवारका मोहनलाई भारत नगई परिवारको घरखर्च चलाउन मुस्किल पर्छ । ‘उता गएर होटेलमा काम गर्छु । बिहान उज्यालो हुनासाथ सुरु गरेको काम बेलुका ग्राहक आउने क्रम नरोकिएसम्म चल्छ । त्यसबापत ५ हजार रुपैयाँ पाउँछु,’ उनले भने, ‘यो मेरो घरखर्च चलाउने कमाइ हो ।’
मोहन र रवि प्रतिनिधि पात्र मात्रै हुन् । गरिबीका कारण पढाइ छोडेर १५ वर्षको उमेरदेखि नै भारतमा काम गर्न जानेको संख्या धेरै छ । राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदनअनुसार अछाम जिल्लाका १२ दशमलव १ प्रतिशत जनसंख्या जिल्लामा अनुपस्थित भएको देखिन्छ । अनुपस्थित जनसंख्यामध्ये ३५ दशमलव ६ प्रतिशत जनसंख्या १५ देखि २४ वर्ष उमेर समूहको छ । यसमध्ये करिब ९७ दशमलव ७ प्रतिशत भारतमा रहेका छन् भने बाँकी २ दशमलव ३ प्रतिशत अन्य मुलुकमा गएका छन् ।
जिल्लामा २०६२ वैशाखमा कक्षा १ मा जम्मा ३० हजार ८ सय ७३ विद्यार्थी भर्ना भएका थिए । त्यो वर्ष कक्षा १ मा भर्ना भएका विद्यार्थीले १० वर्षपछि अर्थात् २०७१ सालमा एसईई परीक्षा दिँदासम्म भने करिब ७ गुणाभन्दा बढी विद्यार्थी बीचमै हराए । ३० हजार ८ सयबाट विद्यार्थी हराउँदै एसईई दिँदासम्म जम्मा ४ हजार मात्र बचे । त्यो वर्ष मात्र यतिको संख्यामा विद्यार्थी हराएका होइनन् । कक्षा १ मा भर्ना भएकामध्ये एसईई दिने बेलासम्म ७/८ गुणा बढी विद्यार्थी बीचमै हराउने गर्दछन् ।
शिक्षा विकास तथा समन्वय इकाई अछामको गत वर्षको तथ्यांकअनुसार कक्षा दोहोर्‍याउने विद्यार्थीको संख्या २२ दशमलव १३ प्रतिशत छ भने कक्षा छोड्ने दर १९ दशमलव ७ प्रतिशत छ । उत्तीर्ण भएर माथिल्लो कक्षामा जाने विद्यार्थीको संख्या ५८ दशमलव २९ प्रतिशत मात्र छ । अर्को तथ्यांकअनुसार प्राथमिक तहमा रहेका कुल विद्यार्थीमध्ये ३६ दशमलव ५३ प्रतिशत विद्यार्थी मात्र निमावि तहमा पुग्ने गर्दछन् । निमावि तहमा रहेका पनि सबै विद्यार्थी मावि तहमा पुग्दैनन् । निमावि तहमै करिब ४५ प्रतिशत विद्यार्थी हराएर मावि तहमा जम्मा ५५ प्रतिशत विद्यार्थी मात्र पुग्छन् ।
अछामको सन्दर्भमा प्रायः पुरुष कामका लागि भारत जाने र घरमा महिलालाई कामको बोझ धेरै पर्ने भएकाले छोराछोरीले पनि घरायसी काममा सहयोग गर्नुपर्ने हुँदा पढाइ छोड्ने समस्या रहेको छ । ‘कतिपय बालबालिका भारत जाने गरेकाले पनि पढाइ छोड्ने संख्या बढिरहेको छ,’ मंगलसेननगरपालिका १३ बस्तीका राजेन्द्र नेपालीले भने, ‘एक पटक भारतमा पैसा कमाउन गएको मानिस पछि आएर पढाइ सुचारु गर्ने सम्भावना ज्यादै कम हुने भएकाले पनि विद्यार्थी हराउने संख्या बढेको छ ।’
घरायसी कामको बोझले नियमित विद्यालय नआउनु, मौसमी रूपमा भारतमा पैसा कमाउन जाँदा परीक्षा दिन मात्र आउनु जस्ता कारणले पढाइको स्तर कमजोर भएर कक्षा उत्तीर्ण हुन नसकेर पनि धेरैले पढाइ छोड्ने गरेका छन् ।
कान्तीपुर दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार