शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मञ्चमा गर्भछिटाको सिकार

मञ्चमा गर्भछिटाको सिकार

  • शनिबार, फाल्गुन २५, २०७५
मञ्चमा गर्भछिटाको सिकार

काठमाडौं : कर्णाली प्रदेशमा ‘गर्भछिटा’ गर्ने परम्परा छ। यो परम्पराअनुसार गर्भमै भएको बच्चाको बिहेबारी अभिभावकले गरिदिन्छन्। आफ्नी श्रीमती गर्भवती भएको थाहा पाएपछि श्रीमान्ले साथीकी श्रीमतीको गर्भमा रहेको बच्चासँग देउता भाकेरै बिहे गरिदिने सम्झौता गर्छन्। बच्चा जन्मेपछि उनी अभिभावकको इज्जत र वचनका खातिर सन्तानले जबरजस्ती बिहे गर्नुपर्ने बाध्यता छ। बेहुला र बेहुलीको अनुमतिबिना नै हुने यस्ता विवाहले धेरैको जीवन बर्बाद गरेको छ।

हीरा बिजुली नेपाली १५ वर्षदेखि नेपाली रंगमञ्चमा सक्रिय छन्। थिएटर कलाकार हुँदै उनी अहिले स्थानीय लोक नाटकको लेखन र निर्देशनमा व्यस्त छन्। उनले कर्णाली आर्टस् सेन्टरमा आबद्ध भएर लोक नाटकका क्षेत्रमा अनगिन्ती कार्य गर्दै आइरहेका छन्।

उनले निर्देशन गरेको नाटक ‘गर्भछिटा’ सोमबार थिएटर मल कीर्तिपुरमा मञ्चन भयो। कुटुम्ब बीचमा मन परेकी युवतीलाई तानेर लैजाने चलन कर्णाली प्रदेशमा अझै पनि छ। आमाबाबुले गरेको सम्झौताले इच्छाविपरीत विवाह बन्धनमा बाँधिनु परेको सन्तानलाई पर्ने असर र यसको प्रभावको विषय यो नाटकले उठाएको छ।

कमारा कमारी राख्ने चलन अहिले पनि उक्त ठाउँमा रहेको बताउँदै हीरा बिजुलीले समाजमा जरो गाडेर बसेको जातीय विभेद कानुनले मात्रै हटाउन नसक्ने दाबी गरे। यसका साथै आफूले नाटक देखाएरै सामाजिक रूपान्तरणको दियो बाल्ने कोसिस गरेको जानकारी दिए।

जातीयता र सामाजिक रूढिग्रस्त चलनविरुद्ध उभिएकी छ नाटककी प्रमुख पात्र पम्फा। उसले आफ्नो घरमा काम गर्ने चाउरे दमाईसँग प्रेम गाँसेकी छ। गर्भछिटाको मान्यता जोगाउन उसका बाबुले साथीको छोरा मनसुरसँग बिहे गरिदिन्छ, जो शारीरिक रूपमा बोल्न नसक्ने अशक्त छ।

आफ्नो घरमा काम गर्न बसेको पात्रसँग प्रेम गरेकी पम्फा उसैसँग बिहे गरेर घरजम गर्न चाहन्छे। चाउरेका लागि बुवाआमा, सुखसयल सबै त्याग्न तयार छे। चाउरेसँगको शारीरिक सम्बन्धबाट गर्भवती बनेकी पम्फा उसैसँग बिहे गर्ने सोचले लोग्नेको घर छाडेर माइत आउँछे। घर छोडेर जान चाउरेसँग आग्रह गर्छे तर चाउरे आफ्नो सामाजिक अवस्था, पारिवारिक कारण र रीतिरिवाजका कारण पम्फालाई लिएर भाग्न सक्दैन।

झिसमिसे बिहानमै चाउरे आउने बाटो हेर्दै बसेकी पम्फाको अवस्था हेर्दा नाटक हेर्ने जोकोहीलाई स्तब्ध बनाउँछ। माइतबाट भाग्न आफ्नो कपडाको पोको सानो झ्यालबाट बाहिर फाल्न खोजेको दृश्य जीवन्त छ। प्रेमीको माया, साथ र भरोसा पाउन प्रेमिकाहरू कतिसम्म त्यागी बन्न सक्छन्, समाजका मान्यता लत्याउन सक्छन्, यो नाटकमा देख्न सकिन्छ।

पम्फालाई अपनाउन नसकेको चाउरेले आत्महत्या गर्छ। आफ्नो पेटमा हुर्कंदै गरेको चाउरेको बच्चालाई लिएर पम्फा मनसुरको घर छाडेर अनिश्चित गन्तव्यतिर हिँड्छे। गर्भछिटाको चलनले गर्दा पम्फाको जिन्दगी र खुसीमा आगो लागेको छ।

खस भाषमा मञ्चित नाटकमा कर्णाली प्रदेशको संस्कृति र रहनसहन समेटिएको छ। स्थानीय लोकगीतको लयमा कथा वर्णन गरिएको छ। नाटकमा मुगुमा मनाइने चाड पुसे भैलोको विशेष चर्चा गरिन्छ। महिलाको स्वतन्त्रता र खुसीसँग यो पर्वको कहानी जोडिएको छ। उनीहरू एकआपसमा भेला भएर गीत गाउँदै नाच्दै आफ्नो दुःखसुख पोख्ने गर्छन्। कलाकारले स्थानीय पहिरन लगाएका छन्। समग्रमा नाटक सुन्दर बनेको छ।

महोत्सवको अन्तिम दिन मण्डला थिएटर अनामनगरमा इटालीको नाटक ‘डिस्पेरिसिडोस’ मञ्चन भयो। आफ्नो देशमा जबर्जस्ती बेपत्ता पारिएकाको सम्झना गर्दै यो नाटक सुरु हुन्छ। विभिन्न मल्टिमिडिया प्रयोग गरेर नाटकलाई मार्मिक बनाइएको छ। बेपत्ता भएका नागरिकका लागि राज्यले कहिल्यै पनि न्याय गर्न नसकेको यथार्थ नाटकमा विभिन्न दृश्यबाट प्रदर्शन गरिएको थियो।

नाटकमा दुईजना कलाकारले दमदार भूमिका निर्वाह गरेका छन्। उनीहरूको अभिनय, इनर्जी र लगाव हेर्दा यस्तो लाग्थ्यो— कलाकारले अभिनयभन्दा अन्य केही सोच्नै सक्दैन। कलाकारद्वय अन्ना डोरा डोना र निकोला पियान्त्सोलाले नाटकलाई कलात्मक विद्रोहका रूपमा चित्रण गरेका छन्। नाटककी निर्देशक अन्ना डोरा डोनाले विश्वभर नै जोखिममा पारिएका वा अभिव्यक्ति खोसिएका एवं आफ्ना विचार राख्न नपाएका पीडितको पक्षमा यो नाटकले आवाज उठाएको जानकारी दिइन्।

अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५ सोमबार समापन भएको छ। नौ देशका ३० नाटक मञ्चन, रंगमञ्चका अनेक आयाममा छलफल र अन्तरक्रिया गरेर महोत्सव सम्पन्न भयो। समापन कार्यक्रममा महोत्सवमा सहभागी सम्पूर्ण कलाकार तथा सहयोगीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। झापाका रंगकर्मी चोमु शेर्पालाई एक लाख रुपैयाँको इनोभेटिभ आइडिया अवार्ड प्रदान गरिएको थियो। विदेशी कलाकार तथा नाटक निर्देशकलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो।

सहभागी नाट्य समूहलाई आयोजकका तर्फबाट सोलो नाटकलाई ५० हजार र सामूहिक नाटकलाई एक लाख रुपैयाँका दरले उत्पादन खर्च बापतको रकम पनि प्रदान गरिएको थियो।

चर्चामा

सम्बन्धित समाचार