मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा सचिवालय बैठक बस्ने समयमै प्रधानमन्त्रीले राखे मन्त्रिपरिषद बैठक

नेकपा सचिवालय बैठक बस्ने समयमै प्रधानमन्त्रीले राखे मन्त्रिपरिषद बैठक

  • बुधबार, मंसिर ३, २०७७
नेकपा सचिवालय बैठक बस्ने समयमै प्रधानमन्त्रीले राखे मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्। एक मन्त्रीले दिएको जानकारीअनुसार आज मन्त्रिपरिषद बैठक बस्ने खबर आएको छ।

सातामा प्राय: सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको छ। यसपटक सोमबार तिहार परेको थियो। आजै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि सचिवालय बैठक बस्दैछ। दिउँसो १ बजे नेकपा बैठक बस्ने भनिएका बेला प्रधानमन्त्री ओलीले त्यही समय मिल्ने गरी मन्त्रिपरिषद बैठक राख्न लागेका हुन्।

नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ। कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेका थिए।

प्रचण्डको उक्त प्रस्ताव फिर्ता गरिनुपर्ने प्रधानमन्त्री ओली पक्षका नेताको भनाइ छ। तर प्रचण्डसहित सचिवालयका पाँच जना सदस्यहरूले त्यो प्रस्ताव प्रचण्डको एकल नभएकोले सचिवालय बैठकमै छलफल हुनुपर्ने बताएका छन्।
नेकपाभित्र विवाद बढ्दै गएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार फरकफरक समयमा अध्यक्षद्वय ओली र प्रचण्डसँग छलफल गरेकी थिइन्।

गत शुक्रबार नेकपा सचिवालय बैठकमा प्रचण्डले पेश गरेका प्रस्तावमाथि आज छलफल गर्ने सहमति थियो। तर आजको सचिवालय बैठक सार्नुपर्ने पक्षमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र उनीनिकटका सचिवालय सदस्य छन्।

सचिवालय सदस्यसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अर्का अध्यक्ष प्रचण्डसँग भेटेका थिए। पौडेलले सचिवालय बैठक सार्न आग्रह गरेको स्रोतको दावी छ। अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ आज सचिवालय बैठक बस्ने पक्षमा छन्।

तर अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सचिवालय बैठक सार्ने पक्षमा छन्। प्रचण्डलगायत पाँच सचिवालय सदस्यहरूले प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता होइन त्यसमै छलफल हुनुपर्ने अडान राखेका छन्।

पछिल्लोपटक बसेको स्थायी कमिटी बैठकका निर्णय मान्न प्रधानमन्त्री ओली तयार नभएकोजस्ता विषयमा प्रचण्डसहित पाँच सचिवालय सदस्य असन्तुष्ट छन्।

चर्चामा

सम्बन्धित समाचार