काठमाडौं — वीरगन्जका दुई पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि यहाँ कार्यरत सबै पत्रकारको कोरोना परीक्षण थालिएको छ । बुधबार बिहान १० बजेदेखि १ बजेसम्म पत्रकारमा कोरोना भए नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
त्यसका लागि पत्रकारहरु नारायणी अस्पतालमा पुगेका छन् भने हालसम्म ७० जना पत्रकारको नमुना संकलन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार दिउँसो १ बजेसम्म ७० पत्रकारको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
सो अवधिमा नभ्याइएका बाँकी पत्रकारको साँझ ५ देखि ६ बजेसम्म स्वाब संकलन हुने बताइएको छ । कोरोना परीक्षणका लागि १२० पत्रकारले नाम लेखाएको अस्पतालले जनाएको छ ।
हालसम्म पर्साजिल्लामा दुई पत्रकारसहित ८२ जनामा कोरोना पुष्टि भएको छ । पर्सा कोरोना संक्रमितको ‘हटस्पोट’ बनेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ । पत्रकारको कोरोना परीक्षणको रिपोर्ट शुक्रबारसम्म आइपुग्ने बताइएको छ ।