सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • देश
  • नेकपा सचिवालय बैठक जारी, स्थायी कमिटी बैठकका लागि प्रस्ताव बनाउने

नेकपा सचिवालय बैठक जारी, स्थायी कमिटी बैठकका लागि प्रस्ताव बनाउने

दुवैपक्ष एक अर्कोमाथि दवाव बनाउने रणनीतिमा

  • बुधबार, बैशाख २४, २०७७
नेकपा सचिवालय बैठक जारी, स्थायी कमिटी बैठकका लागि प्रस्ताव बनाउने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ।

बिहीबारबाट सुरु हुने स्थायी समिति बैठकका लागि सचिवालय बैठकले एजेन्डा तय गर्नेछ।

सचिवालयले स्थायी समितिमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संयुक्त रूपमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिनेछ।

स्थायी समिति बैठक संक्षिप्त राख्ने कि सरकार र पार्टीले गरेकाे कामको समीक्षाबारे पनि खुलस्त छलफल गराउने गरी प्रतिवेदन लैजाने भन्ने विषयमा प्रधानमन्त्री ओली र प्रचण्डबीच मतैक्यता छैन।

सचिवालयको छलफलपछि मात्र प्रतिवेदन र एजेन्डाहरूको छिनोफानो हुनेछ।

प्रतिवेदन तयारी गरिरहेका अध्यक्ष प्रचण्डले आजै बिहान प्रधानमन्त्री केपी ओलीसँग परामर्श गरेका थिए। प्रचण्डले वरिष्ठ नेता नेपाल र वामदेव गौतमसँगसमेत आफ्नै निवासमा छलफल गरेका थिए।

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सत्तारुढ नेकपाका दुवै समूह आ–आफ्नो रणनीतिमा व्यस्त छन् ।

प्रधानमन्त्री केपी ओली बैठकलाई कोरोना भाइरसको महामारी र आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने गरी संक्षिप्त बनाउने पक्षमा छन् ।

तर, प्रचण्ड–नेपाल समूह पार्टी र सरकारको कामको विस्तृत समीक्षासँगै अध्यादेश प्रकरण र एक व्यक्ति : एक मुख्य जिम्मेवारीलगायत विषयसमेत उठाउने योजनामा छ ।

यसअघि शनिबार बसेको सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनमा देखापरेको संकटलाई समाधान गर्ने गरी एकताबद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको थियो ।

यसैगरी बैठकले पार्टी एकतालाई रक्षा गर्ने र त्यसलाई सुदृढ बनाउने तथा पार्टी एकतालाई कमजोर पार्ने, पार्टीलाई फुटउन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिने निर्णय लिएको थियो ।

पार्टीलाई एकताबद्ध राख्ने, पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्यमान्यताअन्तर्गत सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशन, नीति–निर्देशनमा सरकार सञ्चालन गर्ने, सरकारले देश र जनताको पक्षमा समाजवादउन्मुख समृद्धि वा सामाजिक–आर्थिक रूपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा अघि बढ्ने निर्णय पनि शनिबारको सचिवालयको निर्णयमा थियो ।

बैठकले पार्टी उपाध्यक्ष क. वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने र प्रतिनिधिसभामा ल्याउन पहल गर्ने निर्णय पनि लिएको थियो ।

शनिबारको सचिवालय बैठकमा पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरूमा भएका कमी–कमजोरीप्रति  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आत्मालोचना गरेका थिए ।

यिनै निर्णयको सेरोफेरोमा रहेर स्थायी कमिटी बैठकका एजेन्डा तयार पर्ने नेताहररूको तयारी छ । यद्यपि दुवै पक्ष एकले अर्कोमाथि दबाब बनाउने रणनीतिमा पनि जुटेका छन् ।

चर्चामा

सम्बन्धित समाचार