काठमाडौं — उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्री बनाउने प्रधानमन्त्री केपी ओलीको प्रस्तावमाथि ठोस छलफल गर्न नेकपा सचिवालयको बैठक शनिबार बस्दैछ। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले गौतमलाई प्रधानमन्त्री बनाउने आफ्नो प्रस्ताव कार्यान्वयनको योजना शनिबारको बैठकमा प्रस्तुत गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन्।
पार्टीभित्रको आन्तरिक द्वन्द्व साम्य पार्न प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो वरियताको अध्यक्ष बनाउने प्रस्ताव बुधबार सचिवालय बैठकमा गरेका थिए।
नेता नेपालले तेस्रो वरियताको अध्यक्ष आफूले स्वीकार नगर्ने बताइसकेका छन्। तर, वामदेवलाई प्रधानमन्त्री बनाउन आफूले राजीनामा दिएर बाटो खोल्न नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको नेपाल निकट नेताले जानकारी दिए ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार दिउँसो ४ बजेका लागि बस्ने भनिएको सचिवालय बैठक साढे ५ बजेका लागि सरेको छ। ‘नेकपा केन्द्रीय सचिवालयको बैठक आज ५ : ३० बजे, बालुवाटारमा बस्ने जानकारी गराइन्छ’, प्रेस सल्लाहकार थापाले जानकारी दिँदै भने।
राजनीतिक दल सम्बन्धी अध्यादेश विवादसँगै सत्तासीन नेकपाभित्र पनि विवाद बढेको थियोे। अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतमलगायतले प्रधानमन्त्री र पार्टी अध्यक्ष छोडन दबाब दिएपछि प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने सरप्राइज प्रस्ताव गरेका थिए। तर, ओलीको प्रस्तावले दाहाल र नेपाल भने सन्तुष्ट छैनन्। अन्नपुर्ण पाेष्टबाट