• होमपेज
  • राजनीति
  • संक्रमित देशबाट नेपाल आउन प्रतिबन्ध

संक्रमित देशबाट नेपाल आउन प्रतिबन्ध

  • बिहिबार, चैत्र ६, २०७६
संक्रमित देशबाट नेपाल आउन प्रतिबन्ध

काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमण फैलिएका युरोपेली मुलुक, पश्चिम एसियालीलगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ।

कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले शुक्रबार (मार्च २०) देखि वैशाख ३ (अप्रिल १५) सम्म ती मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

बैठकले ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट नेपाल प्रवेश गर्न खोज्ने विदेशीलाई समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सरकारको निर्णयसँगै कन्सुलर सेवा विभागले नेपालस्थित सबै विदेशी दूतावास र विदेशस्थित नेपाली दूतावासमार्फत सम्बन्धित मुलुकमा कोरोना भाइरस संक्रमण रोक्न गरिएको सावधानीबारे लिखित जानकारी गराएको छ।

आवागमनमा प्रतिबन्ध लगाइएका मुलुकका नागरिक आफ्नो मुलुक फिर्ता जान नसकेमा उनीहरूको भिसा अवधि सहजै नियमित गरिने निर्णय बैठकले गरेको छ। तर त्यसका लागि सम्बन्धित मुलुकका नागरिकले आफ्नो भिसा अवधिभित्र अध्यागमन विभागमा आवेदन दिनुपर्नेछ। त्यसको समन्वय गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले गर्नेछन्।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइसरको संक्रमण विश्वव्यापी फैलिरहेको छ। युरोपेली मुलुकमा सबैभन्दा बढी इटालीले कोरोना भाइरस संक्रमण भोगिरहेको छ। विश्व स्वास्थ्य संगठनले समेत विश्वका जुनसुकै मुलुकमा जुनसुकै बेला कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सावधानी अपनाउन अपिल गरेकोे छ। सरकारले यसअघि स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न खोज्ने विदेशी आवागमनमा प्रतिबन्ध लगाइसकेको छ।

अन्नपूर्ण पाेष्टबाट साभार

चर्चामा

सम्बन्धित समाचार