• होमपेज
  • राजनीति
  • गाउँपालिकाको निर्णयविरुद्ध स्थानीय आन्दोलित

गाउँपालिकाको निर्णयविरुद्ध स्थानीय आन्दोलित

  • बुधबार, चैत्र ५, २०७६
गाउँपालिकाको निर्णयविरुद्ध स्थानीय आन्दोलित

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को पङसेरमा तोकिएको छ । सोमबार मतदानबाट गाउँपालिकाको केन्द्र टुंगो लगाएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए । गाउँसभाका ३६ जना सदस्यमध्ये २७ जनाको उपस्थित रहेको र २५ जनाले पङसेरमा केन्द्र हुनुपर्ने पक्षमा मतदान गरेका उनले बताए । आफूले मतदान नगरेपनि पङसेरामा नै केन्द्रका लागि आफ्नो मत जाहेर गरेको अध्यक्ष बोहराले बताए ।

डिलाशैनीमा लामो समयदेखि केन्द्रका विषयमा विवाद रहँदै आएको थियो । गाउँसभाको पहिलो बैठकले गाउँपालिकाको वडा नं ७ धामीगाउँमा केन्द्र बनाउने निर्णय गरेको भएपनि पछिल्लो समयमा पङसेरामा केन्द्र राख्नका लागि चलखेल भएको भन्दै स्थानीयले विरोध समेत गरेका थिए ।

गाउँसभाको मतदानबाट प्राप्त मतदानपछि पङसेरमा नै केन्द्र तोकिएको कुरा प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराएको अध्यक्ष बोहराले बताए । उनले भने, ‘हामीले मतदानका माध्यमबाट गाउँपालिकाको केन्द्रको विषयमा टुंगो लगाएका छौं । सहमति हुन नसकेपछि हामीले लोकतान्त्रिक प्रक्रियाबाट गाउँपालिकाको केन्द्र टुंग्याएका हौं ।’

यता गाउँपालिकाको निर्णयविरुद्ध वडा नं ४,५,६ र ७ का जनप्रतिनिधि र स्थानीय भने आन्दोलित भएका छन् । जनप्रतिनिधिलाई प्रभावमा पारेर गाउँपालिकाको केन्द्र तोकिएको उनीहरुले बताएका छन् । गाउँपालिकाको निर्णयविरुद्ध कानुनी र अन्य संघर्षका कार्यक्रम सुरु गर्ने डिलाशैनी संघर्ष समितिका संयोजक जयराज जोशीले बताए । उनले भने ,’गाउँसभाको पहिलो बैठकले गरेको निर्णय कार्यान्वयन होस भन्ने हाम्रो माग हो । गाउँपालिकाले गरेको निर्णयविरुद्ध अब हामी अदालत पनि जान्छौं ।

स्थानीयले गाउँपालिकाले गरेको निर्णयको विरोधमा सोमबार सतबाँझ-गोकुलेश्वर सडकखण्डको गोकुलेश्वर टायर बालेर अवरुद्ध गरेका थिए। गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले भने आफूहरुले कानुन सम्मत, विधिपूर्वक गाउँपालिकाको केन्द्र तोकेकाले निर्णयमा पुनविर्चार नहुने बताए । उनले भने, ‘हामीले विधि सम्मत गाउँपालिकाको केन्द्र तोकेका छौं । यसमा पछि हट्ने कुरो हुँदैन् ।’

गाउँपालिकाले गएको दुई वर्षयता सम्पर्क कार्यालयका रुपमा पङसेराबाट काम गर्दै आएको थियो । गाउँपालिकाले केन्द्रको निर्णय गरिसकेकाले अन्य कामहरु अघि बढ्ने गाउँपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार