सरकारले निजी खेत, खला तथा बारीमा आउने जंगली बँदेल मार्न कृषकलाई अनुमति दिएको छ । जंगली वन्यजन्तुलाई चालु आर्थिक वर्ष २०७६/७७ भर ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरी त्यस्ता जंगली बँदेलले निजी खेत, खला र बारीमा पसी बालिनालीमा क्षति गरे मार्नसमेत सकिने गरी नियम बनाइएको छ ।
वन तथा वातावरण मन्त्रालयका अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनालीमा नोक्सान पुर्याएमा वा धनजनको हानी नोक्सानी गरेमा किसानले एक्लै वा सामूहिक रुपमा बँदेललाई धपाउन, लखेट्न वा पक्रन सक्ने छन् । पक्राउ गरेको बँदेलबारे जानकारी भने सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, डिभिजन वन कार्यालयमा गराउनु पर्नेछ ।
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र वा वन क्षेत्रमा भने जंगली बँदेललाई पक्रन, लखेट्न र मार्न नपाइने वन मन्त्रालयले उल्लेख गरेको छ ।
यदि नरभक्षी हो भने चितुवा, बाघ, भालु आदिलाई मार्न सक्ने अधिकार स्थानीय प्रशासन ऐन २०२८ को दफा ९ को उपदफा ४ ले दिएको छ । साभार अनलाइन खबर