• होमपेज
  • समाज
  • मोरङको केराबारीमा बुहारीको विहे

मोरङको केराबारीमा बुहारीको विहे

  • सोमवार, कार्तिक ४, २०७६
मोरङको केराबारीमा बुहारीको विहे

मोरङको केराबारी गाउँपालिका–९ भलुवामा बुहारीको विवाह गरिदिएर सासू–ससुराले उदाहरणीय कार्य गरेका छन् ।

स्थानीय कुवेरप्रसाद पोख्रेलले आफ्नै बुहारीको विहे गरिदिएर उदाहरणीय कार्य गरेका हुन् । २०६७ सालदेखि एकल रूपमा रहेकी बुहारीको विहे गरिदिएर उनी अहिले गाउँभरि प्रशंसाको पात्र बनेका छन् । एक्ला छोरा पुण्यप्रसादको २०६७ असार १४ गते अल्पायुमै निधन भएपछि बुहारी सुनिता एकल महिला बनेकी थिइन् । उनलाई छोरीकै दर्जा दिएर विहे गरिदिएका हुन् । सुनिताले चाहेको दुलहासँग विहे गरिदिएका छन् ।

दशवर्ष अगाडि एकल बनेकी सुनिताका सासू–ससुराले गाउँका भद्रभलाद्मीको अगुवाइमा बिहीबार विहे गरिदिएका थिए । सुनिताको झापा घैलाडुब्बा निवासी बलबहादुर कार्कीसँग विवाह गरिदिएका छन् । पुण्यप्रसाद घङ्घरुस्थित स्वास्थ्य संस्थामा कार्यरत थिए ।

उनीहरूबीच २०६५ सालमा विवाह भएको थियो । मोटरसाइकल दुर्घटनामा परी उनको ज्यान गएको थियो । उनको एक छोरी छन् । श्रीमान्को निधनपश्चात् घरपरिवारको सल्लाहअनुसार छोरीसहित सुनिता माइतमै बस्दै आएकी थिइन् । उनी माइतमा बसेर एक निजी विद्यालयमा पढाउँदै आएकी थिइन् । हाल उनको छोरी १३ वर्ष पुगिसकेकी छन् ।

विवाहमा स्थानीय राजनैतिक दलका नेता र स्थानीय जनप्रतिनिधिहरू उपस्थित भएर शुभकामना दिए । केराबारी–९ का वडाध्यक्ष भूपतिन्द्रप्रताप मल्लले बुहारीमाथि हेलोहोचो हुने हाम्रो समाजमा बुहारीको चाहनाअनुरूप विवाह गरिदिनु सन्देशमूलक रहेको प्रतिक्रिया दिए । धरान–९ मा पनि श्रेष्ठ परिवारले बुहारीको विहे गरिदिएर उदारहणीय कार्यको थालनी गरेका थिए । तर, हालसम्म पनि त्यो परिवारले उक्त घटनालाई बाहिर ल्याएको भने छैन ।

चर्चामा

सम्बन्धित समाचार